चितवन/ एमालेको दशौं महाधिवेशन चितवनमा सुरु भएको छ । १२ गतेसम्म चल्ने अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
उद्घाटन सत्रअघि देशका विभिन्न क्षेत्रबाट आएका एमाले कार्यकर्ताहरुको विशाल ¥याली निस्केको थियो । नारायणी नदी किनारामा बनाइएको विशेष मञ्चबाट बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफूहरुले बहुमत ल्याउने बताए । उनले आफूले प्रधानमन्त्री हुँदा गरेको संसद विघटनलाई स्मरण गर्दै जनमतमा जान नदिइएको गुनासो गरे । ‘हामीलाई नयाँ जनमतमा जान रोकियो तर अब चुनाव त हुन्छ नै, चुनाव नजिकै आउँदैछ । अब हामी बहुमतका लागि काम गर्छौँ’, उनले भने, ’देश बनाउनका लागि अब नयाँ जनमतबाट बहुमत ल्याउँछ एमालेले । देशमा विकासको लहर ल्याउन पनि एमालेले बहुमत ल्याउँछ ।’
पार्टी विभाजनपछि भएको महाधिवेशनलाई संवोधन गर्ने क्रममा अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति नरम रुपमा प्रस्तुत भए । प्रधानमन्त्री देउवाको अगाडि बोल्दै उनले बाध्यतामा परेर आफूलाई विस्थापित गर्दै उनी सरकारमा जानुपरेको संकेत आशय व्यक्त गरे ।
उनले अहिलेको सरकारबारेमा धेरै टिप्पणी गर्न नचाहेको बताए । असार २८ मा सर्वोच्चको अदालतको फैसलाले सरकारबाट हटेपछि पहिलो पटक आफ्नै मञ्चमा देउवालाई स्वागत गरेका ओलीले सहकार्य हुन सक्ने पनि संकेत गरे । देउवाबारे उनको सम्बोधनको सार भनेको उनी प्रचण्ड र माधवका कारण बाध्यतामा परे सरकारमा जानुपरेको भन्ने थियो ।
‘अहिलेको सरकारबारे म केही भन्दिनँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर मैले सरकारबारे बोल्नु उचित हुँदैन’, उनले देउवातिर इसारा गर्दै भने, ’प्रधानमन्त्री त काम गर्न चाहनु हुन्छ जस्तो लाग्छ तर उहाँलाई काम गर्न अफ्ठ्यारो छ कि? आफैले अतिथि बनाएर बोलाएपछि सरकारबारे यहाँभन्दा धेरै नबोलौँ । ’
यति भन्दाभन्दै पनि ओलीले सम्बोधनका क्रममा अलिक अगाडि पुगेपछि देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भन्न भ्याए । ’कतिसम्म भने आफ्नै सरकार ढालेर,आफ्नै अध्यक्षविरुद्ध लागेकाहरू अहिले दक्षिणपन्थी सरकार बनाएर गएका छन्’, उनले माधव–प्रचण्डलाई कटाक्ष गर्ने क्रममा देउवा नेतृत्वको सरकारबारे गरेको यो कडा टिप्पणी थियो । ओलीले आफ्नो खुट्टा तान्नेहरू अहिले देउवाको खुट्टा समातेर सरकारमा बसेको भन्दै माधव–प्रचण्डमाथि आक्रोश पोखिरहे। ’मलाई अफ्ठ्यारो पार्नेहरू, खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाजीको खुट्टा समातिरहेका छन्’, ओलीले भने ।
सोही कार्यक्रममा संवोधन गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एमालेलाई लोकतन्त्रका मूल्य–मान्यता संस्थागत गर्ने अभियानमा जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।
‘नयाँ संविधान मार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने । उनले मत भिन्नता रहेकै कारण आफूहरु फरक–फरक दलमा आवद्ध रहेको भन्दै फरक दलमा भए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउने लक्ष्य सबैको हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पुनः वाम एकता हुनसक्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि राष्ट्रियताको सवालमा वामपन्थीबीच एकता हुनुपर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा संवोधनमा केपी ओली सकारात्मक भएकोमा धन्यवाद दिए । राप्रपाका अध्यक्ष कमल थापाले केपी ओलीको गुणगान गाउँदै उनी राष्ट्रवादी भएको बताए । उद्घाटनसत्र सकिएसँगै शनिबारबाट सौराहामा एमालेको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । अध्यक्षमा केपी ओली आउने निश्चितजस्तो देखिएपनि अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । अध्यक्ष ओलीले सहमतिमै महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने घोषणा गरेसँगै पदाधिकारी र सदस्यमा प्रतिष्पर्धा हुने वा नहुने भन्ने निश्चित भएको छैन ।





