
काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।
देशभरको स्थानीय तहको सम्मेलनलाई शनिबार एकसाथ उद्घाटन गर्दै प्रचण्डले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो । हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन । हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए । प्रचण्डले भने, संविधान र लोकतन्त्रमाथि ओली गुटले मात्रै होइन । देशभित्र र बाहिरका दक्षिणपन्थी शक्तिहरू लागेका थिए। यो हमलाले माओवादीमाथि र माओवादीको एजेण्डा र नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भएको प्रष्ट भएको छ ।’
ओलीको दुईपटक संसद् विघटन गर्ने प्रयास असफल बनाएर फेरि एकचोटि माओवादी पार्टी विजयी भएको उनको भनाइ छ ।
‘प्रतिनिधिसभा दुईपटक विघटन हुँदा पहिलोपटक सडकबाट र दोस्रोपटक गठबन्धन बनाएर लाग्यौँ । धेरै जालझेल र षडयन्त्रलाई परास्त गरेर हामी विजयी भएका थियौँ’ प्रचण्डले भने, ‘हामीले क्रान्तिकारी पार्टीको रूपमा समाजवादी पार्टीको रूपमा अगाडि बढाउनुपर्छ। मार्क्सवाद, लेनिनवाद र समाजवादको आधारमा देश र पार्टी संगठनलाई अगाडि बढाउनुपर्छ भनेर संकल्प गरेका छौँ ।’
पछिल्लो समय देशभर माओवादी केन्द्रमाथि जनताको आशा र भरोसा बढेको उनको दाबी छ । ‘माओवादी नै देश परिवर्तनको बहाव रहेछ भनेर जनताहरूलाई लागेको छ । तराई मधेशका जिल्ला मात्रै नभएर हिमाल पहाड सबैका जनताहरूलाई अहिले विश्वास लागेको छ। अहिले जनताको विश्वास बढेको बेलामा हामी पहिलो पार्टी बन्न सक्छौँ। यो हामीलाई अवसर पनि हो’ प्रचण्डको भनाइ छ ।
माओवादी केन्द्र कमजोर भयो भने देश दुर्घटनामा जाने भएकाले कुनै छुट नभएको बताए । देश र जनताको रक्षाको लागि सबै जिम्मेवारी माओवादीकै काँधमा आएको उनको बुझाइ छ ।





