आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीबाट केही नयाँ अनुहारको इन्ट्री

गण्डकीबाट केही नयाँ अनुहारको इन्ट्री


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा/एमाले अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको घोषणा गरेका छन् । आइतबार रात घर्किएपछि पेश गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको छ ।

शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो । २ सय जना पुरुष र १०१ जना महिला रहेको केन्द्रीय कमिटीमा गण्डकीबाट यसअघि केन्द्रीय सदस्य रहेका सबैजसो नेताहरुले पुनः केन्द्रीय समितिमा ठाउँ पाउँदा बागलुङ एमाले अध्यक्ष इन्द्रलाल सापकोटाले केन्द्रीय सदस्यमा ‘इन्ट्री’ मारे ।त्यसैगरी अखिलका पूर्वअध्यक्ष किशोरविक्रम मल्ल,एमाले कास्की अध्यक्ष कृष्ण थापा,गण्डकी प्रदेश सांसद राजिव पहारी,ले पनि केन्द्रीय समितिमा ठाउँ बनाएका छन् । किशोर स्याङ्जाका हुन् । इन्द्रलाल यसअघि माधव नेपाल समूहमा रहेका थिए । विभाजनको बेला भने उनले पार्टी छाडेनन् । बदलामा केन्द्रीय सदस्य पुरस्कारस्वरुप प्राप्त गरे । उनलाई भूगोलतर्फबाट केन्द्रीय सदस्य बनाइएको हो । उनीसँगै भूगोलको प्रतिनिधित्व गर्दै गण्डकीबाट तिलक महत, भुपेन्द्रबहादुर थापा, तनहुँका टुकराज सिग्देल, मायानाथ अधिकारीलाई केन्द्रीय सदस्य बनाइएको छ । महिलातर्फ गण्डकीबाट कास्कीकी मीना गुरुङ,सीमा क्षेत्री र नरदेवी पुन,श्रीमाया थकाली,विद्या भट्टराई पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बागलुङबाट गण्डकी प्रदेश सांसद रहेकी सावित्री राना पनि केन्द्रीय सदस्यमा अटाइन् भने बागलुङकै गोविन्द नेपालीको नाम पनि ओलीले बन्दसत्रमा पढे । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी, भीम कार्की,रामशरण बस्नेत,काशीनाथ अधिकारीलगायतका नेताहरुको नाम पहिलो चरणमै वाचन गरिएको थियो । जविन्द्रमान घले,टुका हमाल पनि पुनः केन्द्रीय सदस्यमा अटाए ।

यसअघिको एमाले केन्द्रीय कमिटीमा गण्डकीबाट पृथ्वीसुब्बा गुरुङमात्रै एमालेको पदाधिकारी रहेका थिए । उनी सचिव रहँदा किरण गुरुङ स्थायी कमिटीमा रहेका थिए भने सोमनाथ प्यासी निर्वाचन आयोगको अध्यक्ष थिए । जगत विश्वकर्मा वैकल्पिक पोलिटब्यूरो सदस्य थिए । स्याङ्जाकी पद्मा अर्याल,लमजुङका मायानाथ अधिकारी,सीता गिरी ओली केन्द्रीय सदस्य हुँदा गोविन्द नेपाली,मानबहादुर जिसी,रामशरण बस्नेत वैकल्पिक केन्द्रीय सदस्य थिए । पार्टी विभाजनपछि एकीकृत समाजवादीतर्फ गएकाहरु स्वतः केन्द्रीय कमिटीबाट बाहिरिएका थिए । केन्द्रीय सदस्य घोषित भएपनि उनीहरुले निर्वाचन प्रक्रिया भने पूरा गर्नुपर्ने एमाले निर्वाचन आयोगले जनाएको छ ।
एमालेको गोदावरी विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेपनि नेता व्यवस्थापनको लागि चितवन महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ७ सचिव र ३ उप–महासचिव बनाउने निर्णय गरेको थियो । ९९ सदस्यीय पोलिटब्यूरो ब्युँझाइएको थियो भने स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था राखिएको थियो ।

एमाले विधान अनुसार ३०१ सदस्यीय कमिटीमा खुला हलबाट २ सय १५ र सात प्रदेश भुगोलबाट ६७ गरी २ सय ८२ जना छान्ने व्यवस्था छ । प्रदेश भुगोलअन्तर्गत सातै प्रदेशबाट ६ खुला र ३ महिला, उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटीबाट २–२ जना तथा केन्द्रीय कमिटीमा हलबाट खुला ४४ र महिला २३ जना चुनिने प्रावधान रहेको छ । २५– २५ सदस्यीय केन्द्रीय अनुशासन कमिटी, निर्वाचन कमिटी र लेखा आयोगमा अध्यक्ष,उपाध्यक्ष र सचिव रहने व्यवस्था छ भने २२ जना सदस्यमा १३ खुल्ला र ९ महिला रहने प्रावधान राखिएको छ । आयोगहरुमा पनि ओलीले सर्वससम्मतिको लागि भन्दै नामहरु घोषणा गरेका छन् । पदाधिकारीको भने यो समाचार तयार पार्दासम्म घोषणा भएको छैन ।

अटाएनन् रस्मी

केन्द्रीय सदस्यको आकांक्षी रहेका अखिलका केन्द्रीय सदस्य रस्मी आचार्य भने अध्यक्ष ओलीले वाचन गरेको केन्द्रीय सदस्यको लिस्टमा परेनन् । अखिलको अध्यक्ष बन्नबाट वञ्चित भएपछि पार्टी राजनीति गर्ने उद्घोषसहित कास्की आएका उनले खुलातर्फबाट केन्द्रीय सदस्यको आकांक्षा राखेका थिए । तर, उनलाई ओलीले मन पराएनन् । यद्यपि,अध्यक्ष ओलीले केही नामहरु थपघट हुने जानकारी गराएका छन् ।

सहमति जुटाउनै मुस्किल

मंसिर १० गतेदेखि सुरु भएको एमाले महाधिवेशन आइतबार नै सकाउने कार्यतालिका थियो । सहमतिको लागि प्रयास गर्दागर्दै आइतबार बन्दसत्र नै १२ घण्टापछि सुरु गरियो । बन्दसत्रअघि पार्टी सभापति केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरे । पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार अध्यक्ष ओलीलाई नै सुम्पिएकाले उनकै निर्णय अन्तिम हुने निश्चित थियो । तर,अध्यक्षमा भीम रावलले आफूलाई चुनौती दिएपछि ओली चुनावमा जान तयार भए । अध्यक्षमै दावेदारी पेश गरेका भीम रावल तथा वरिष्ठ उपाध्यक्षभन्दा तल टसमस नभएका सुवासचन्द्र नेम्वाङको व्यवस्थापन ओलीको लागि पेचिलो बनेको थियो । रावलले उपाध्यक्ष नबस्ने अध्यक्षमै लड्ने र सुवासचन्द्रले पनि वरिष्ठ उपाध्यक्षभन्दा तल नझर्ने अडान लिए । अध्यक्ष मण्डलको बैठकमा पनि सहमति नजुटेपछि अध्यक्ष ओली राति अबेर सहमतिको लागि बनाइएको लिस्ट बोकेर बन्दसत्रमा प्रवेश गरे र नामावली पढेर सुनाए । नामावली पछिसकेपछि उनले भने,‘यो नामावली सहमतिको लागि पेश गरिएको हो ।’ त्यसअघि नै निर्वाचन समितिले चुनावको लागि भन्दै कार्यतालिका सार्वजनिक गरिसकेका थियो । अध्यक्ष ओली स्वयं निर्वाचनमा जाने मनस्थितिमा देखिएसँगै निर्वाचन आयोगले चुनावी कार्यक्रम सार्वजजिक गरेको थियो । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली राति नै प्रकाशित ग¥यो भने सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने तय गरियो । तर, निर्वाचन आयोगले तत्काल सबै कार्यक्रम स्थगित गर्दै नयाँ कार्यतालिका जारी ग¥यो । चुनावी कार्यतालिका परिवर्तनअघि नै अध्यक्षको लागि भीम रावलले मनोनयन पत्र लिइसकेका थिए । तर, उनले बुझाउन भने भ्याएनन् ।

सहमतिमा नेतृत्व चयन नहुने भएसँगै उपमहासचिव हुने निश्चित भएका गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित स्थायी कमिटी ताकेका खगराज अधिकारी, केन्द्रीय सदस्य हुने लगभग निश्चित भएका बागलुङ एमाले अध्यक्ष इन्द्रलाल सापकोटा तथा गण्डकी सांसद मायानाथ अधिकारीलगायतका नेताहरु कुन पदमा आउँछन् भन्ने अन्यौल बढेको छ । सचिवमा दावी गरेका कास्कीका नेता खगराज अधिकारी स्थायी कमिटी सदस्य बन्ने चर्चापनि निर्वाचन प्रक्रिया स्थगत भएसँगै सेलाएको छ ।

पृथ्वीसुब्बा उपहासचिव !

एमालेको उपमहासचिव बन्ने करिब निश्चित थियो । अध्यक्ष केपी शर्मा ओलीले उनलाई सचिवबाट बढुवा गर्दै उमहासचिव बनाउने तयारी गरेका थिए । तर, अन्तिम समयमा पदाधिकारी घोषण हुन सकेन । एमाले स्रोतका अनुसार गण्डकी संसदीय दलका नेतासमेत रहेका गुरुङलाई खउपमहासचिव बनाउँदा उपाध्यक्षको दावी गरेका किरण गुरुङ तथा सचिवको दावेदारी पेश गरेका खगराज अधिकारीलाई स्थायी समितिमा लैजाने निश्चित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->