आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

साझा उम्मेदवारको खोजीमा पौडेल पक्ष

साझा उम्मेदवारको खोजीमा पौडेल पक्ष


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७८, बिहिबार

पोखरा/ नेपाली कांग्रेसका संस्थापक विपी कोइराला २०३४ सालमा पोखरा आउँदा तनहुँका जीतप्रकाश आले स्वागत सत्कारमा खटिएका थिए । त्यसयता निरन्तर कांग्रेसको राजनीतिमा लागेका आलेले अहिलेसम्म कुनै लाभको पद पाएनन् । पदका लागि उनले पनि मरिहत्ते गरेनन् ।

राजनीतिक जीवनको ४४ वर्षे लामो यात्रामा आले तनहुँका निष्ठावान नेताको छवि बनाएका छन् । २०४७ सालको परिवर्तनपश्चात कांग्रेसभित्र हालका सभापति शेरबहादुर देउवाले गुटगत गतिविधी गरेको आले त्यसको विपक्षमा थिए । पार्टीभित्र देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट संस्थागत हुँदा आलेले आफ्नै गृहजिल्लाका नेता पौडेललाई साथ दिंदै आए ।

कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रियामा भने अवस्था फेरिएको छ । वरिष्ठ नेता पौडेल समूहले सभापतिका लागि समर्थन नदिएपछि आले देउवा समूहको समर्थनमा सभापति चुनिएका छन् । उनलाई सभापति बनाउन देउवा पक्षका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्ले, कृष्णप्रसाद सिटौला समूहमा रहेका युवा नेता प्रदीप पौडेललगायत नेताहरुले समर्थन दिएका थिए ।
वरिष्ठ नेता पौडेलका तर्फबाट सभापति उम्मेदवार बनेका निवर्तमान सभापति एवं व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई हराएर आलेले सभापति जितेका हुन् । देउवा पक्षको समर्थनबाट सभापति जितेपनि आलेले आफू कुनै गुटगत राजनीति नगर्ने बताइरहेका छन् ।

‘म पौडेल र देउवा भनेर सभापति भएको होइन, कांग्रेस भएर सभापति बनेको हुँ’, उनले भने, ‘सबैलाई नेतालाई लिएर हिँड्न सभापति बनेको हुँ, म देउवा गुटको होइन ।’
सभापति निर्वाचित भएपछि उनलाई केन्द्रका नेताहरुले सम्पर्क गरेर बधाई दिएका छन् । सभापति देउवादेखि वरिष्ठ नेता पौडेल र अन्य नेताहरुसँग पनि सम्पर्क भएको आलेले बताए । अहिलेसम्म राजनीतिमा लागेर कुनै पनि लाभको पद नलिएको बताउँदै आलेले अब सभापति बनेपछि पनि लाभको पदमा नरहने उद्घोष गरे ।

वरिष्ठ नेता पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा मात्र होइन, उनको पकड रहेको कास्की र लमजुङमा पनि पहिलोपटक देउवा पक्षका उम्मेदवारले सभापति जिते । गण्डकीका ११ जिल्ला मध्ये स्याङ्जा, मुस्ताङ र गोरखामा मात्र पौडेल पक्षका सभापति निर्वाचित छन् । कास्की, तनहुँ, लमजुङ, मनाङ, पर्वत, म्याग्दी र बागलुङमा भने देउवा पक्षका उम्मेदवार वा उनको समुहले समर्थन गरेका उम्मेदवार सभापति जितेका छन् । गण्डकीको कान्छो जिल्ला नवलपुरमा भने जिल्ला अधिवेशन १९ गतेसम्मका लागि स्थगित छ ।
कांग्रेस गण्डकीमा देउवा पक्ष यसअघि नै बलियो थियो । देउवा पक्षका नेताहरु गोपालमान श्रेष्ठ, अर्जुन जोशीलगायतले गण्डकीका अधिकांश जिल्लालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । स्याङ्जामा गोपालमानका विरुद्ध उभिएका राजु थापा यसपाली सभापति जितेका छन् । उनी पनि देउवासँग भने निकट नै रहेको स्याङ्जा कांग्रेसका नेताहरु बताउँछन् । थापा पक्षका एक नेताका अनुसार अहिले उनी केन्द्रीय सदस्य शेखर कोइरालासँग निकट छन् ।
अहिलेसम्म वरिष्ठ नेता पौडेलको ‘पकेट’मा रहेका जिल्लाहरु कास्की, तनहुँ र लमजुङमा सभापति गुमाउनुपर्दा उनी पक्षीय नेता कार्यकर्ता चिन्तित छन् । यी जिल्लाहरुमा प्रदेश र महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै बहुमत देखिए पनि सभापतिमा हार्नु पौडेलले ‘नेता व्यवस्थापन’ गर्न नसकेको आरोप लागेको छ ।
लमजुङ र तनहुँमा सभापतिका उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र कास्कीमा पौडेलपक्षबाट पहिलो चरणमा ४ जना उम्मेदवार उठाउनु गलत भएको पौडेल पक्षीय एक नेताले बताए । जबकि, देउवा पक्षले भने एउटा मात्र प्यानल बनाएर चुनाव लडेका थिए ।

जिल्ला अधिवेशनमा देखिएको कमजोरी सच्याउन वरिष्ठ नेता पौडेल बुधबार पोखरामा नेताहरुसँग छलफलमा व्यस्त छन् । आसन्न प्रदेश अधिवेशनमा पौडेल पक्ष एउटा मात्र प्यानल बनाउन चाहन्छन् ।
कांग्रेस गण्डकीको सभापतिमा पौडेल पक्षबाट नेताहरु यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेल, शुक्रराज शर्मा र महेन्द्रध्वज जिसी आकांक्षी छन् । उता, देउवा पक्षले भने केन्द्रीय सदस्य अर्जुन जोशीलाई सभापतिमा अघि बढाएर एउटा मात्र प्यानल निर्वाचनमा लैजाने तयारी गरेका छन् ।
सभापति देउवा पक्ष एक ढिक्का भएका बेला वरिष्ठ नेता पौडेल पक्षका नेताहरु विभाजित देखिएका छन् । गण्डकी सभापतिमा एउटै प्यानल बनाएर जान नसके प्रदेश सभापति पनि देउवा पक्षकै पोल्टामा पुग्ने पौडेल पक्षको आशंका छ । आफ्नो पकडमा रहेका जिल्लामा समेत सभापति गुमाउनुपरेको पीडा दोहोरिन नदिन बरिष्ठ नेता पौडेललाई सकस परेको छ ।
कांग्रेस महाधिवेशन निर्वाचन तालिका अनुसार मंसिर १७ उम्मेदवारी दर्ता र १९ गते निर्वाचनको कार्यक्रम छ । प्रदेश सभापति लगायत कार्यसमितिका लागि गण्डकीमा ११ सय बढी प्रतिनिधीले मतदान गर्नेछन् । प्रदेश कार्यसमिति चुन्न पालिका तहका सभापतिदेखि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् । गण्डकीका अधिकांश जिल्ला सभापति देउवा पक्षले जितेपनि पालिका सभापति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधी झिनो मतले पौडेल पक्षको धेरै भएको उनीहरुको आंकलन छ ।

आप्mनो तर्फबाट साझा उम्मेदवार नउठाउने हो भने पहिलो चरणकै निर्वाचनबाट देउवा पक्षका सभापति उम्मेदवार अर्जुन जोशी निर्वाचित हुन सक्ने उनीहरुको भय छ । साझा उम्मेदवार छान्न बुधबार पोखरा आएका वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षीहरुसँग सम्वाद गरिरहेका छन् । तर, अहिलेसम्म सभापतिका साझा उम्मेदवार बनाउन सहमति जुटेको छैन ।
देउवा पक्षका सभापति उम्मेदवार जोशी पक्षले मंगलबार पोखरामा बृहद कार्यकर्ता भेलामार्फत् उम्मेदवारी घोषणा गरिसकेका छन् । जोशी पक्ष प्रदेश पदाधिकारी र कार्यसमितिका लागि प्यानल बनाउन र जिल्ला–जिल्लामा मत माग्न थालिसकेका छन् ।

वरिष्ठ नेता पौडेल साझा उम्मेदवार बनाएर मात्र काठमाडौं फर्कने कास्की कांग्रेसका एक नेताले बताए । ‘जिल्लामा भएका गल्ती प्रदेशका दोहोरिन दिनुहुँदैन’, ती नेताले भने, ‘हाम्रो साझा उम्मेदवार तय नभएसम्म वरिष्ठ नेता रामचन्द्र दाई पोखरामै रहनुहुन्छ ।’

प्रदेश सभापतिका आकांक्षी बनेका नेताहरु यज्ञबहादुर थापा, अर्जुन जोशी र शुक्रराज शर्माले पोखरामा सचिवालय संचालन गरिसकेका छन् । अन्य आकांक्षी पनि सचिवालय खोल्ने तयारीमा छन् । देउवापक्ष एकढिक्का भएर मतदातासमक्ष मत माग्न थालिसक्दा पनि इतर पक्षका सभापति आकांक्षी वरिष्ठ नेता पौडेल पक्षको समर्थन खोजिरहेका छन् ।
‘सभापतिमा हाम्रो साझा उम्मेदवारको टुङ्गो मनोनयन दर्ता गर्ने बेला मात्र लाग्ला, नत्र सहमति हुने छाँट देखिँदैन’,पौडेल समूहमा रहेका एक नेताले भने, ‘कोही पनि पछाडी हट्न मान्दैनन्, यस्तो पाराले चुनाव जित्न गाह्रो छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->