बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन प्रवद्र्धन गर्न पुस्तक र डकुमेन्ट्री

पर्यटन प्रवद्र्धन गर्न पुस्तक र डकुमेन्ट्री


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७८, शुक्रबार

बागलुङ\पर्यटन विकास समिति बागलुङले जिल्लाका पर्यटकीय गन्तव्यहरु समावेश गरिएको जानकारी पुस्तक प्रकाशन गर्ने भएको छ ।
समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजु खड्काले बताए । समितिले पहिलो चरणमा पुस्तक र दोश्रो चरणमा डकुमेन्ट्री बनाउने लक्ष्य राखेको छ । नेपाल सरकारले घोषणा गरेका जिल्ला भित्रका पर्यटकीय गन्तव्य तथा प्रदेश सरकारले घोषणा गरेका गन्तव्य समेत उक्त पुस्तकमा समावेश हुनेछन् । त्यस्तै बागलुङका ग्रामीण क्षेत्रमा रहेका कला, संस्कृतिपनि पुस्तकमा जानकारीको रुपमा राखिनेछ ।
समितिले स्थानीय पत्रकारहरुको सहयोगमा उक्त पुस्तक प्रकशन गर्न लागेको समितिका सचिव अर्जुन चोखालले बताए । ‘कतिपय स्थानको समाचार लेखेका, श्रव्यदृश्य प्रकाशन गरेका पत्रकाहरुनै हुनुहुन्छ, त्यसैले उहाँहरुको साथ र सहयोग खोज्दैछौं’ चोखालले भने, ‘यो पुस्तक जिल्लाको पर्यटन क्षेत्रको अध्ययन गर्न चाहनेकालागि श्रोत पुस्तिकाको रुपमा समेत रहनेछ ।’ समितिले सबै पालिकाको समन्वयमा चर्चामा नआएका तर महत्वपूर्ण रहेका कला, संस्कृति र गन्तव्यको पनि खोजी गराउने छ ।
समितिले केही समयदेखि जिल्लाका पर्यटकीय क्षेत्रको अध्ययन र प्रचार अभियानमा काम गर्दै आएको छ । गतवर्ष गण्डकी प्रदेशका तत्कालिन पर्यटन मन्त्री विकास लम्सालको उपस्थितिमा वृहत अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको थियो । उक्त कार्यक्रममा जिल्लाको पर्यटन गुरुयोजना बनाउने लक्ष राखेको थियो । त्यसकालागि प्रारम्भिक काम भएपनि कोरोना संक्रमण, निशेधाज्ञा र लकडाउन भएकोले रोकिएको थियो । केही स्थानमा समितिले पदयात्रा, साइकल तथा मोटरसाइकल यात्रा जस्ता क्रियाकलाप पनि संचालन गरेको थियो ।
प्रचार प्रसार बिना पर्यटन प्रवद्र्धन नहुने भएकोले देश बिदेशबाट आउनेलाई दिन सकिने गरी पुस्तक तयार पार्दा जिल्लाको सम्पत्तिको रुपमा समेत राख्न सकिने खड्काले बताए । यसरी काम गर्दा पर्यटन सम्बद्ध संघसंस्था, पालिका र सरकारबाटपनि साथ र सहयोग पाउने उनले आशा व्यक्त गरेका छन् । नेपाल सरकार र गण्डकी प्रदेश सरकार समेतले दर्जनबढी स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत गरेका छन् । बागलुङ कालीका, पञ्चकोट, ढोरपाटन, भकुण्डे, गाजाको दह, घुम्टे जस्ता स्थान गन्तव्यमा सूचिकृत छन् । त्यस बाहेक बागलुङमा दर्जनौ कलासंस्कृति समेत रहेका छन् । जातजाति विशेषका संस्कृतिले जिल्ला धनी बनेको तर त्यसको फाइदा लिन नसकिएको चोखालको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->