बागलुङ/ढोरपाटन शिकार आरक्ष क्षेत्रको पर्यटकीय महत्व र प्रवद्र्धनमा संचारको भूमिका बिषयक अन्तरक्रिया ढोरपाटनमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको आयोजना, तथा गण्डकी प्रदेशको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा मन्त्रालयका सचिव धर्मराज कुइकेलले संरक्षित क्षेत्र, पर्यावरण तथा पर्यटन प्रवद्र्धनमा संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारले समाचार लेखे भने धेरै जनताले विश्वास गर्ने भन्दै सत्य समाचार लेखनमा निरन्तर कमल चलाउन पनि उनले आग्रह गरे ।
ढोरपाटनको विकासमा पूर्वाधारको विकास पनि आवस्यक भएको उनको भनाई थियो । उनले सडक सहज बनेपछि बस्ने होटल तथा घुम्ने गन्तव्यको सूचिकृत गर्न सिकार आरक्षले सहयोग गरेमा पर्यटन तथा राजश्वबाट पनि देशले धेरै फाइदा लिन सक्ने बताए । कार्यक्रममा मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले सानो सहयोगबाट पर्यटन प्रवद्र्धनमा पत्रकारले धेरै साथ दिएको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षता, महासचिव रुद्र श्रीषको संचालन र उपाध्यक्ष दिल शिरिषको स्वागतमा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य राम सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, लगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले आरक्षको अबस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले प्रस्तुतीकरण मार्फत आरक्षको महत्व, चुनौती र राजश्व संकलनमा भएको प्रगती बारे जानकारी दिए । दुइ दिन सम्मको कार्यक्रममा पोखरा, म्याग्दी र बागलुङका गरी ३० पत्रकारको सहभागिता थियो ।
उनीहरुले प्रत्यक्ष रुपमा ढोरपाटनका पर्यटकीय क्षेत्रको अबलोकन पनि गरे । खड्काले भने आरक्षको बिकास र स्थानीयले फाइदा लिनकालागि मध्यवर्ती क्षेत्र घोषणामा जोड दिए । तालिम तथा अन्य सीपमूलक काम गर्ने देखि राजश्वको तोकिएको रकम स्थानीय विकासमा खर्चनकालागि मध्यवती घोषणा नभएर रोकिएको पनि जानकारी दिए ।





