तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिका १, थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएकोबेला घटना घटेको प्रहरीले जनाएको छ । गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । ‘२ जना शिकार खेल्न गएका रहेछन् । त्यही गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ ।प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।





