बागलुङ/कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै छ । केन्द्रमा संस्थापन र इतर समूहमा सभापति तथा पदाधिकारीको लागि घम्साघम्सी चलिरहेको छ । कुन नेतालाई कुन स्थानमा व्यवस्थापन गर्ने भन्नेमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह निरन्तर छलफलमा छन् ।
उता विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौला समूहबाट पनि केही उम्मेदवारहरु रहने भएकोले महाधिवेशनमा तीनचार पक्षमा भिडन्त हुने संभावना छ । धेरै उम्मेदवार भएको खण्डमा ५१ प्रतिशत मत नआएमा दोश्रो चरणको मतदानमा जानुपर्ने बाध्यता हुनेछ । कांग्रेस बिधान अनुसार सभापतिका लागि खसेको मतको ५१ प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने बाध्यता छ ।
|
सभापति र पदाधिकारीको टुंगो नलाग्दै जिल्लाबाट महाधिवेसन प्रतिनिधि जितेर गएकाहरुले भने धमाधम केन्द्रीय सदस्य घोषणा गर्न थालेका छन् । उनीहरुले सामाजिक संजालमार्फत मत पनि मागेका छन् । बागलुङबाट पनि आधादर्जन केन्द्रीय सदस्यका लागि आकांक्षी भैसकेका छन् ।
हाल केन्द्रीय सदस्य रहेकी रत्ना शेरचनले पदाधिकारीमा लड्ने संकेत गरेकी छिन् । उनले पौडेल समूहबाट सहमहामन्त्रीमा लड्ने आशा देखाएकी छिन् । ‘चाहना पदमा जाने नै छ, तर मिलाउने क्रममा बस्ने वा लड्ने जे पनि हुन सक्छ, तयारीमै छौं’, शेरचनले भनिन्, ‘समूहले जित्नेगरी टिम बनाउन व्यस्त छौं ।’ शेरचन दुई कार्यकाल केन्द्रीय सदस्य भैसकेकी छिन् । उनी संविधानसभा सदस्यसमेत हुन् ।
बागलुङकै मणिभद्र शर्माले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक संजालमा मत मागिरहेका छन् । ‘गण्डकी प्रदेशको महामन्त्री लड्ने योजना थियो, समूहले केन्द्रीय सदस्य लड्नुपर्ने भनेर रोकेपछि पोखराबाटै घोषणा भएको हो’, कंडेलले भने, ‘जिल्लाको सिनियर नेता भएकोले केन्द्रमा जाने चाहना राखेको हुँ ।’ पूर्वसभापति प्रकाश शर्मा पौडेलले पनि केन्द्रीय सदस्यमा दाबी गरेका छन् । उनी यसअघिको महाधिवेशनमा केन्द्रीय सदस्यमै पराजित भएका थिए ।
नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छिन् । उनी पौडेल समूहको आधिकारिक उम्मेदवार हुन् । उनका पति जगदिशचन्द्र उपाध्याय दुई पटकसम्म जिल्ला सभापतिमा हारेका, उनले पनि पार्टीकै तर्फबाट यसअघि बागलुङ नगरको उपप्रमुखमा हार व्यहोरे पनि निरन्तर राजनीतिमा सक्रिय छिन् । कुशल संगठकको रुपमा उनलाई पार्टीका नेताले हेर्ने गर्छन् । गण्डकी प्रदेशको भूगोलतर्फ खुला महिलामा उनले उम्मेदवारी दिने योजना छ । केही अगुवा नेताहरु प्रदेश तहमा व्यवस्थापन भएकोले शर्मालाई समूहले अगाडि सारेको बताइएको छ ।
युवा नेता डिल्लीराम सुवेदी र अर्जुन शेरचनले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । अर्का नेता टेकराज पौडेलले पनि केन्द्रीय सदस्यका लागि आकांक्षी छन् । अधिकांस युवाहरु पौडेल समूहकै भएको र एउटै जिल्लाबाट धेरै आकांक्षी भएकोले व्यवस्थापनमा भने कठिन देखिने एक कार्यकर्ताले बताए । बागलुङकै दक्ष पौडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बलेवा घर भएपनि उनी महाधिवेशनका लागि प्रतिनिधिमा भने काठमाडौंबाट छनौटमा परेका थिए ।
आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल भने महाधिवेसन प्रतिनिधिमै पराजित भएपछि उनको चर्चा छैन । उनी देउवा निकट मानिन्छन् । बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका ५० जनामा पौडेल समूहका ३६ जना छन् । बाँकी संस्थापन र सिटौला समूहका छन् । केहीले विमलेन्द्र निधीलाई पनि सहयोग गर्ने संभावना छ । महामन्त्रीका लागि गगन थापालाई भने ५० जनामा एकदुई जनाले मात्रै मत नदिने अवस्था आउने जिल्ला समितिका एक सदस्यले बताए ।





