पोखरा/ वडादेखि नै अधिवेशनमार्फत नेतृत्व छानिरहेको नेकपा माओवादी केन्द्रले पहिला ज्यान अर्थात संगठन कमिटी सदस्य र त्यसपछि टाउको अर्थात् अध्यक्षसहित पदाधिकारी छान्ने विधि अपनाएको छ । माओवादीले प्रयोगमा ल्याएको यो विधि अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक भएको नेताहरुले बताएका छन् । यद्यपी, वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादी विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन ।
माओवादी केन्द्रको पोखरा महानगर कमिटीको एक साताअघि भएको अधिवेशनले महानगर संगठन कमिटी गठन गरेको छ । सर्वसम्मत महानगर कमिटी बनाए पनि कमिटीका अध्यक्षलगायत पदाधिकारी चयन गर्न सकेको छैन ।
पोखरामा मात्र होइन, कास्कीकै अन्नपूर्ण, माछापुच्छ«े र गोरखाको पालुङटार नगर कमिटीको पनि पदाधिकारी चुन्न बाँकी नै रहेको माओवादी गण्डकीका इन्चार्ज हितराज पाण्डेले बताए । ‘सर्वसम्मत नेतृत्व चयन गर्न अलिकति समय लागेको हो,’ पाण्डेले भने, ‘सहमति भएन भने निर्वाचनको विधिमार्फत् नेतृत्व टुंगो लगाउँछौं ।’
माओवादीले अधिवेशनमार्फत् नेतृत्व छान्न पहिला संगठन कमिटी निर्माण गर्ने विधानमै व्यवस्था गरेको केन्द्रीय सदस्य एवं गण्डकी सचिव देवेन्द्र पराजुलीले बताए । ‘हाम्रो पार्टीको अधिवेशनमा भाग लिने प्रतिनिधिले पहिला संगठन कमिटी सदस्य चुन्छ,’ पराजुलीले भने, ‘संगठन कमिटीले पदाधिकारी चुन्छ ।’ कमिटीको पदाधिकारीमा सहमति नभए संगठन कमिटीका सदस्यहरुले मतदान गरेर पदाधिकारी चुन्ने उनले बताए ।
माओवादीले पहिलो नेतृत्व चयन गर्न विधानमै यस्तो व्यवस्था गरेको पराजुलीको भनाइ छ । माओवादीले वडा तहदेखि नै अधिवेशनमार्फत् नेतृत्व छान्दा अधिवेशन प्रतिनिधिले सम्बन्धित कमिटीको सदस्यमात्र छान्न पाउनेछन् । यसरी छानिएका कमिटीका सदस्यले अध्यक्षसहित पदाधिकारी छान्नुपर्ने पराजुलीको भनाइ छ । यो व्यवस्था अन्य दलको भन्दा फरक रहेको उनले बताए ।
गण्डकीमा ८५ वटा स्थानीय तह छन् । माओवादी केन्द्रले मजदुरका लागि स्थानीय तह बराबर एउटा गैरभूगोल तह मानेर ८६ वटा स्थानीय तह बनाएको छ । जसमध्ये मनाङ, मुस्ताङ र नवलपुरका केही स्थानीय तहका अधिवेशन गर्न बाँकी छन् । बाँकी सबै स्थानीय तहमा वडादेखि नै अधिवेशन सकिएको गण्डकी सचिव पराजुलीले बताए ।
स्थानीय तहपश्चात माओवादी केन्द्रले गण्डकी प्रदेश अधिवेशनको तयारी तीव्र पारेको छ । यही मंसिर २५ र २६ गते पोखरामा आयोजना गरिएको प्रदेश अधिवेशन सम्पन्न गर्न २० वटा उपसमिति बनाएका छन् । प्रदेश अधिवेशनमा स्थानीय तहबाट ६ सय, मनोनित ६०, आायेजक ९६, जेष्ठ कम्युनिस्ट मञ्च, गण्डकीबाट ४३ र प्रदेश सल्लाहकार ४७ जना गरी ८४६ जना प्रतिनिधी रहने छन् । उनीहरुले प्रदेश कमिटी सदस्य चयन गर्नेछ भने यसरी चयन भएका प्रदेश सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।
अधिवेशनमार्फत् गठन हुने प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित र मुस्लिम तथा सीमान्तकृतहरुको सहभागिता रहने माओवादीले जनाएको छ । माओवादी गण्डकीमा २२९ सदस्यीय रहनेछन् । जसमा ९ जना पदाधिकारी रहने व्यवस्था माओवादीले गरेको छ ।
प्रदेश अधिवेशनमा सहमति नभए निर्वाचन मार्फत नेतृत्व चयन गर्ने इन्चार्ज पाण्डेले बताए । ‘हामीलाई चुनावमा जान कुनै समस्या छैन, सकेसम्म सहमति गरौं भन्ने चाहना हो,’ उनले भने, ‘साथीहरुबीच सहमति भएन भने निर्वाचनमार्फत् नेतृत्व टुंगिन्छ ।’
वडा र पालिका तहको अधिवेशन सकेर प्रदेश अधिवेशनको तयारी तीव्र पारेको माओवादीले जिल्ला संगठनलाई भने ध्यान दिएको छैन । जिल्लामा समन्वय समिति मात्र रहने भएकाले कार्यकारी कमिटी वडादेखि पालिका र प्रदेशको अधिवेशन आयोजना गरेको पाण्डेले बताए ।
‘जिल्लामा तहको कमिटीमा पालिकामा निर्वाचित साथीहरु पदेन रहने गरी समन्वय समिति बनाउने हो,’ पाण्डेले भने, ‘जिल्ला समन्वय समितिको संयोजक प्रदेश कमिटीले तोक्ने व्यवस्था छ ।’ प्रदेश अध्यक्ष हरि अधिकारीले सहमतिमै नेतृत्व चयन गरिने र सो संगठनले विचार निर्माणमा सघाउने बताए ।





