बागलुङ/ बागलुङको गलकोट नगपालिकाकी उपमेयर तथा नेपाली कांग्रेसकी युवा नेतृ रेनुका काउचा मगरले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडांैमा आजबाट सुरु १४ औं महाधिवेशनमा उम्मेदवारी पेश गरिरहँदा उनले पार्टीमा युवाहरुको संलग्नता र आकर्षण बढाउनु आफ्नो उदेश्य भएको बताइन् ।
उपमेयरको रुपमा सफल रेनुकाले पार्टी राजनीतिमा महिलाहरुको तर्फबाट हस्तक्षेपकारी तथा सशक्त भूमिका निर्वाह गर्न उम्मेदवारी घोषणा गरेको बताइन् । पारिवारिक विरासतबाटै कांग्रेस बनेकी रेनुकाले २०५५ सालमा सरस्वती क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट कोषाध्यक्षमा विजय प्राप्त गरेकी थिइन् । प्यानलका अधिकांशले चुनावमा हार्दा पाएको सफलतालाई नेपाल विद्यार्थी संघ एवं विद्यार्थीको हितमा खर्चेको उनले बताइन् । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष तथा नेपाल महिला संघमा समेत रहेकी रेनुकाले समावेशीतालाई वास्तविक अर्थमा प्रयोग गर्न पनि कांग्रेस केन्द्रीय सदस्यमा दावेदारी पेश गरेकी हुन् ।
‘भौगोलिक रुपले बागलुङ अझै पनि विकट नै छ, कम्युनिष्टहरुको उर्वरभूमिमा बसेर पार्टी संगठनमा काम गरेको छु,जनताका अपेक्षाहरुलाई नजिकबाट बुझेको छु’,उनले भनिन्,‘ मेरो अनुभवलाई पार्टी केन्द्रीय समितिमा गएर संगठन विस्तारमा लगाउने सोचले नै उम्मेदवारी प्रस्तुत गरेकी हुँ ।’ पार्टीमा युवा र महिला सहभागिता बढ्नुपर्छ भन्ने मान्यताले पनि आफू केन्द्रीय सदस्यमा आकांक्षी बनेको उनको भनाई छ ।
२०६२÷०६३को आन्दोलनमा सक्रिय भूमिका निभाएकी, क्याम्पसमा नेपाल विद्यार्थी संघको नेतृत्व गरेकी तथा जनप्रतिनिधिको रुपमा सफलता प्राप्त गरेकी रेनुकाले भनिन्,‘सज्जन कार्यकर्ताहरु बिना पार्टी राम्रो बन्दैन । पार्टी बलियो बनाउने हो भने शिक्षित र दृढ़ इच्छाशक्ति भएका इमान्दार युवाहरू राजनीतिमा आउनैपर्छ, म यही भावनाका साथ केन्द्रीय सदस्यको उम्मेदवार बनेको हुँ ।’





