पोखरा/ गण्डकीका निवर्तमान मुख्यममन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचार विभागको प्रमुख चयन भएका छन् । एमालेको काठमाडौंमा जारी बैठकले गुरुङलाई प्रवक्ता चयन गरेको हो ।
एमाले सचिव, संगठन विभाग प्रमुख भएर काम गरिसकेका गुरुङ प्रचार विभागमा आएसँगै उनी अध्यक्ष ओलीको खास व्यक्तिमा दरिएका छन् । यसअघिका प्रचार विभाग प्रमुख योगेशको ठाउँ लिँदै गर्दा गुरुङमाथि अब अध्यक्ष ओलीका अभिव्यक्तिहरुको रक्षा तथा पार्टीको सार्वजनिक छवि सुधार्ने जिम्मेवारी थपिएको छ । संघीयताका कट्टर हिमायती गुरुङ कतिपय सवालमा ओलीको पनि आलोचक थिए ।
एमाले स्थायी कमिटीमा गण्डकीका ७ जना समेटिएका छन् ।
४५ जनाको स्थायी कमिटीमा पदाधिकारीमा रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्ममा अर्यालसहित नेताहरु खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, सिता पौडेल र थममाया थापा मनोनित भएका हुन् ।
९९ सदस्यीय पोलिटब्यूरोमा कास्कीका संघीय सांसद जगत विक, लिलबहादुर थापा मगर, सीता गिरी ओली, खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, टुकराज सिग्देल, थममाया थापा, मन केसी लगायतका चुनिएका छन् ।
गण्डकी अध्यक्षमा म्याग्दीका नवराज
एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो ।
शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा जिविस म्याग्दी सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए ।
कमिटीको उपाध्यक्षमा स्याङ्जाका मोहन रेग्मी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । विधायन समितिको सभापतिको रुपमा पनि उनले काम गरिसकेका छन् । सचिवमा लमजुङका धनञ्जय दवाडी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । सहसचिवमा भने मञ्जु अधिकारी र रश्मी आचार्यलाई चयन गरिएको छ । एमाले नेतृ मञ्जु अधिकारी पर्वतको फलेवास नगरपालिकाकी उपमेयर हुन् भने रस्मी अखिलको केन्द्रीय उपाध्यक्षबाट बिदा लिएर भूगोलको राजनीति गर्न आएका हुन् ।
एमाले केद्रीय कमिटीमा गण्डकीका ७ जना
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्दा गण्डकीबाट ७ जना अनुहार अटाएका छन् ।
एमालेमा कास्कीबाट पोखरा महागनरपालिकाकी उपमेयर मञ्जु गुरुङ, कास्कीकै बालकृष्ण काउछा मगर, पर्वतबाट संघीय सांसद रहेका पदम गिरी र कल्पना चापागाई, बागलुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने डाक्टर सूर्य पाठक र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कृष्ण केसी तथा मुस्ताङका चन्द्रमोहन गौचनलाई मनोनित गरेका हुन् । केन्द्रीय सदस्यका आकांक्षीहरु कास्कीका पुण्य पौडेल केन्द्रीय सदस्यमा अटाएनन् ।





