बागलुङ/ प्रवासमा रहेका युवाहरुले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुले गलकोट नगरपालिका ७, आँगाखेतकी बसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट नगरपालिका ७, मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनीहरुले ३ लाख ४५ हजार रुपैयाँ केसी परिवारलाई हस्तान्तरण गरेका थिए ।
वडा अध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हिराबहादुर थापाले केसी परिवारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरे । जापानमा रहेका मल्मबासीसँगै गलकोटे नागरिकले आफुसक्दो आर्थिक सहयोग गरेका थिऐ । मृतक केसीको कलेजो, मृगौला र टाउकोमा जटिल समस्या थियो । केसीको उपचारमा सहयोग गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर संकलन भएको रकम उनको मृत्युपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।
सहयोग संकलनकै क्रममा उपचारमा रहेकी केसीको मृत्यु भएकाले जीवनरक्षाका लागि गरेको प्रयास असफल भएको प्रकाशले बताए । विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो ।
उपचारकै क्रममा केसीलाई समाजको तर्फबाट २५ हजार सहित संस्थाका पदाधिकारीहरुले ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औं दिनको पुण्यतिथीमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापाले बताए ।





