पोखरा/ राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा गगन थापा नेपाल विद्यार्थी संघका महामन्त्री थिए । महामन्त्रीकै रुपमा उनले शाही ‘कु’को विरोधमात्रै गरेनन्,गणतन्त्रको वकालत गरिदिए ।मातृपार्टी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका नेताहरुले गणतन्त्रको ‘ग’ नउप्काउँदा गणतन्त्रलाई एजेण्डा बनाएकोमा उनको पार्टीभित्रै चर्को विरोध भयो । गिरिजा स्वयंले नरहरि आचार्य र गगनहरु दरबारीया भएको आरोप लगाए । मातृपार्टीहरु सडकमा थिएनन्, यता गगनहरु गणतन्त्रको नारा लगाउँदै सडकमा ओर्ले । ‘अब राजतन्त्र र गणतन्त्र सँगै रहन सक्दैन’ भन्ने उद्घोष गरे । परिणाम स्वभाविक थियो–उनले राजद्रोहको मुद्दा खेपे । गगनको राजनीतिक उचाई बढ्दै गयो ।
गुरु घिमिरे सभापति र गगन महामन्त्री भएको नेपाल विद्यार्थी संघको नेतृत्वलाई विघटन गरियो । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले केशव सिंहलाई सभापति बनाए र पोखरामा अधिवेशन गर्ने जिम्मा दिए । गगन हिरासतमै थिए,यता पोखरामा गगनलाई सभापति बनाउने माहौल सुरु भइसकेको थियो । गिरिजाप्रसाद कोइराला नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन गर्न पोखरा आए । चिप्लेढुंगामा भएको उद्घाटन सत्रमा गणतन्त्रबारे उनले केही बोलेनन् । संयोग कस्तो भने,सभापति कोइराला उद्घाटन सकेर काठमाडौं जान पोखरा एयरपोर्ट पुग्दा गगन हिरासतबाट छुटेर पोखरा आउँदै थिए । दुबैको पोखरा विमानस्थलमा भेट भयो तर गिरिजाबाबुको सदासयता गगनले पाएनन् । उनी सोझै अधिवेशनस्थल पोखरा सभागृह गए । बाहिर दमदार भाषण गरे । संस्थापनको विरोधी गगनविरुद्ध आक्रमणकै प्रयास भयो ।
घटनाक्रम सम्झँदै युवानेता योगराज लामिछाने भन्छन्,‘त्यसपछि गगन दाईलाई हामीले सुरक्षित ठाउँमा लग्यौं, महाधिवेशन त्यही निहुँमा स्थगित भयो र महेन्द्र शर्मालाई सभापति घोषणा गरियो ।’
गगन सेलाएनन् । निरन्तर शाही शासनविरुद्ध मुखरित भइरहे । मातृ पार्टी नेपाली कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र झिकैकै थिएन । यता, नरहरि आचार्य र गगनहरु गणतन्त्रको नारा उचालिरहेका थिए । शाही शासन झन निरकुंश बन्दै जाँदा गणतन्त्रको पक्षमा जनमत बलियो बन्दै थियो । अन्ततः २०६२ साल भदौ १४ मा कांग्रेस सभापति कोइरालाले भने,‘अब कांग्रेस पनि काँचुली फेर्न बाध्य भयो, राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरे । राजाले आफ्नो प्रतिबद्धता फेरेपछि हामीलाई पनि हाम्रो प्रतिबद्धता फेर्ने अधिकार छ ।’
पार्टींको ११ औं महाधिवेशन उद्घाटन सत्रमा कोइरालाले खुब ताली पाए । गगनहरुको नारा पार्टीले अनुमोदित ग¥यो । २०६२ भदौ १५ मा कांग्रेस महाधिवेशनले विधानबाट ‘संवैधानिक राजतन्त्र’ विधिवत हटाउने निर्णय ग¥यो ।
पार्टीले आफ्नो एजेण्डा स्वीकार्दा पनि गगनले नेपाल विद्यार्थी संघको सभापति बन्ने अवसर भने पाएनन् । बरु,उनले चितवन अधिवेशनमा प्रदीप पौडेललाई सघाउने निर्णय गरे । गणतन्त्रपछि उनी पार्टीको मुलधारको राजनीतिमा होमिए । काठमाडौं क्षेत्र नम्बर ४ को सभापति बने । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बनेका उनी तत्काली समयमा सबैभन्दा बढी भाषण गर्न बोलाइने नेतामा दरिए । त्यो क्रेज दोस्रो संविधान सभा तथा २०७४ को चुनावसम्म पनि घट्न दिएनन् । उनी पोखरा आउजाउ गरिरहन्छन् । देशभरजस्तै पोखरामा उनका शुभेच्छुक धेरै छन् । त्यसो त, नेपाल विद्यार्थी संघकै अगुवाइमा उनीविरुद्ध पोखरामा कालोभण्डा देखाउने कामसमेत भएको छ । नेवि संघका गलत प्रवृत्तिको विरोध गर्दा उनलाई २ वर्षअघि पोखरामा कालोभण्डा देखाइएको थियो ।
अहिले उनै गगन सर्वाधिक मतसहित नेपाली कांग्रेसको शक्तिशाली महामन्त्री बनेका छन् । खसेको ४ हजार ६८२ मतमध्ये थापाले ३ हजार २३ मत ल्याए । उनलाई विश्वप्रकाशले १ हजार ९८४ मतले पच्छ्याए र दोस्रो महामन्त्री बने । दुबै नेता १४ औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवाइतर समूहका हुन् ।
नेपाली कांग्रेसमा महामन्त्री हुनुको अर्थ !
२०४६ सालको राजनीतिक परिवर्तन हुँदा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसका महामन्त्री थिए भने सन्तनेता कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति । परशुनारायण चौधरी पनि महामन्त्री थिए तर पार्टीको सबै शक्ति महामन्त्री गिरिजाप्रसाद कोइरालाकै वरपर थियो । महामन्त्रीकै रुपमा उनले जुन शक्ति आर्जन गरे,त्यही शक्तिले ४ पटकसम्म देशको प्रधानमन्त्री बने । अहिले उपसभापति बनेका पूर्णबहादुर खड्का पनि महामन्त्रीबाटै शक्तिमा उदाएका हुन् । पोखराका युवा नेता योगराज भन्छन्,‘कांग्रेसमा महामन्त्रीको अधिकार र भूमिका दुबै बढी छ,महामन्त्री हुनु भनेको दिनदिनै परीक्षा दिएर आफूलाई अब्बल सावित गर्ने अवसर प्राप्त गर्नु हो । गगन दाईलाई त्यो अवसर मिलेको छ ।’





