बागलुङ/ कुँडुलेस्थित शालीग्राम संग्राहलयमा आयोजित राष्ट्रिय भजन महोत्सवबाट ६ लाख ८६ हजार बचत भएको छ । महोत्सवमा आएको दानबाट संकलित १३ लाख ४४ हजारबाट ६ लाख ५७ हजार खर्च भएर उक्त बचत भएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक राजु खड्काले उक्त जानकारी दिएका हुन् । उक्त अवसरमा विद्युत व्यवस्थापन, सहभागिलाई बाटो खर्च, पूजा भोजन प्रसाद र छपाइसमेतको खर्च भएको थियो । भजन महोत्सवमा ४७ वटा टिम सहभागी थिए ।
धार्मिक क्षेत्रको प्रचारका लागि भजन महोत्सव आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा शालिग्राम संग्राहलयका अध्यक्ष ऋषि प्रपन्नाचार्य, आयोजक समितिका संगम क्षेत्री लगायतले महोत्सवको अन्य पक्षबारे जानकारी गराएका थिए ।





