बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आप्रवासन प्रभाव : युवा शून्य गाउँ !

आप्रवासन प्रभाव : युवा शून्य गाउँ !

‘आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो ।’


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७८, आइतबार

बागलुङ/वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारीक विचलनले गाउँहरुमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले चुल्हो बलेको छ । यहीबीच शनिबार आज २१ औं अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइएको छ ।
एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन ग¥यो । बागलुङ नगरपालिका ३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं. १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो । स्थानीय सरकार गठनपछि घरछेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आफंैले जिताएका नगरप्रमुख र वडाध्यक्षहरु । स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो, ‘कार्यक्रममा पुगौं ।’
भयो पनि त्यस्तै, भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे । तर, त्यहाँ युवा देखिएनन् । खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवाहरु पनि विदेश पलायन भइसकेका छन्, बाँकी युवा सहर ।
विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवाहरुलाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिकामात्रै थिए । कि त ४० वर्ष उमेर कटेका वयस्क, वृद्धहरु थिए कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागिरेबाहेक युवा कार्यक्रममा देखिएनन् ।
देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगार मुलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैन । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किँदैन । त्यसैले गाउँ रित्तिएका छन् । वृद्ध र बालबालिकाले मात्रै गाउँहरु धानेका छन् ।
गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला बैठक हुन वा विकासे काम, आजभोलि युवाहरुको सहभागिता निकै कम छ । विदेशिने प्रचलन निकै बढेकाले गाउँमा युवाहरु देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् । ‘गाउँ टुथलेस र युथलेस भएका छन्,’ रेग्मीले भने, ‘उत्पादनशील जनशक्तिको अभावमा हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम बिकिरहेको छ ।’
आप्रवासनले विप्रेषण भित्राएको भएपनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नाश भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइँ छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाहरुले अनाहकमा ज्यान गुमाइरहेका छन् । ‘तथ्यांक हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको संख्या हेर्दा उदेकलाग्दो छ,’ रेग्मी भन्छन्, ‘स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।’
बोर्डको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड १९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाहरुको त अझै पुष्ट तथ्यांक छैन । ५ जना युवाहरु अंगभंग भएर फर्किएका छन् । उनीहरुको काम गरेर खानसक्ने अवस्था छैन ।
‘आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो,’ सामाजिक संस्था बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा भन्छन्, ‘एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु ।’
आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरकोवालाको भनाइ छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैह्र सरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर, आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->