पोखरा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल तथा सम्मानित नेता झलनाथ खनाल आज पोखरा आउने भएका छन् । नेकपा एस गण्डकीले आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन उनीहरु पोखरा आउने भएका हुन् ।
नेकपा एस गठनपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको यो दोस्रो पोखरा भ्रमण हो भने खनाल स्वास्थ्योपचारपछि पहिलो पटक पोखरा आउन लागेका हुन् । उनीहरुसँगै उपाध्यक्ष प्रमेश हमाल र केशवलाल श्रेष्ठ एवं महासचिव वेदुराम भुषाल पनि पोखरा आउने नेकपा एसका गण्डकी अध्यक्ष रामजीप्रसाद शर्माले जानकारी दिए ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पकड क्षेत्र मानिएको कास्कीमा नेकपा एसले संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ । पोखरामा मात्रै करिब ३२ सय संगठित कार्यकर्ता जुटाएको एसमा पर्यटनसँग जोडिएका पूर्वएमालेहरु बढी संगठित बनेका छन् । साविक एमालेमै रहँदा पनि पोखरामा उति महत्व नपाउने नेता नेपाल र खनाल पछिल्लो चरणमा भएको संगठन विस्तारले उत्साहित छन् ।





