बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटक पर्खिंदै पूर्णगाउँ

पर्यटक पर्खिंदै पूर्णगाउँ

‘यहाँ अस्पताल, विश्वविद्यालय वा पर्यटन प्रवद्र्धनका धेरै काम गर्न सकिन्छ, तर स्थानीयदेखि केन्द्रीय सरकारको ध्यान जानुपर्छ । करोडौं लगानी गर्न सकिने र सम्भावना पनि भएकोले संघीय सरकारकै ध्यान जाने काम गर्न चाहेका छौं ।’


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७८, बुधबार
?

बागलुङ\वरिपरि जंगल छ । ठूलो खर्क र चरन क्षेत्र भएकोले गोठालाहरु गाईभैंसी र भेडाबाख्रा चराउन जान्छन् । एक ठाउँमा बसेर छलफल गर्दा उक्त क्षेत्रको पर्यटकीय महत्वबारे पनि उनीहरुको बहस हुन्छ ।
जैमिनी नगरपालिका ८, केवैंगाउँका डिलबहादुर श्रीषले यो क्षेत्रको प्रचार गर्न सकेमा कुनै पनि विकास योजना गाउँमा भित्राउन सकिन्छ भन्ने मान्यता राखेर धेरै प्रयाससमेत गरिरहेका छन् ।
‘यहाँ अस्पताल, विश्वविद्यालय वा पर्यटन प्रवद्र्धनका धेरै काम गर्न सकिन्छ, तर स्थानीयदेखि केन्द्रीय सरकारको ध्यान जानुपर्छ,’ श्रीषले भने, ‘करोडौं लगानी गर्न सकिने र सम्भावना पनि भएकोले संघीय सरकारकै ध्यान जाने काम गर्न चाहेका छौं ।’ यसअघि कृषि विश्वविद्यालय बनाउने चर्चा पनि चलेको थियो । अहिले चर्चा सेलाएपछि स्थानीय फेरी केही बिकास भित्राउनु पर्नेमा लागेका छन् ।
झण्डै १ हजार २ सय रोपनी जमिनको चउर, पुराना पोखरी, मठमन्दिर र पुरातात्विक महत्वका केही भग्नावशेष यहाँ छन् । भुरेटाकुरे राजारजौटाको पालामा यहाँ दरबार र केही बस्तीसमेत भएको अनुमान छ । ‘मैले थाहा पाउँदासम्म पनि यहाँ केही घर थिए, अझै कतिपय घरको जग भेटिन्छ,’ श्रीषले भने, ‘भुरेटाकुरे राजाको दरबार भएकोले पुरातात्विक उत्खनन् गर्न सकिन्छ ।’ यी सबै कामका लागि बजेट अभाव भएको उनले बताए ।
सानो लगानीमा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग, जंगलको व्यवस्थापन र चउरलाई आर्कषक गार्डेन बनाउने उनीहरुको योजना छ । ‘उहाँहरुले धेरैपटक त्यो क्षेत्रको बिकासका लागि कुरा गर्नुभएको छ, हामीले के गर्न सकिएला भनेर खोजी गरिरहेका छौं,’ नगरप्रमुख ईन्द्रराज पौडेलले भने, ‘पर्यटन प्रर्वद्धनमा होमस्टेहरु सक्रिय भएमा लगानी गर्न सकिन्छ ।’ स्थानीय व्यवस्थापनमा होमस्टे वा कुनै समिति बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।
केही वर्षअघि शिक्षाविद् महाश्रम शर्माले यो क्षेत्रको भ्रमण गरेर कृषि विश्वविद्यालय स्थापना गर्न सकिने संभावनाबारे सुझाएका थिए । त्यसपछि स्थानीयले ठूलो आस गरेर बसेका छन् । ‘हामीले धेरै आस गरेका हौं, तर केही पनि भएन,’ स्थानीय पदमबहादुर पुनले भने, ‘ठूलो लगानी आएमा रोजगारीका अवसर पनि आउलान्, युवा विदेश जान नपर्ला भनेका छौं ।’
हालसम्म यहाँ पुग्ने सडक नै अप्ठ्यारो भएकोले ती योजना नआएको उनले बताए । जनप्रतिधिधि आएपछि वडा नंं १० को ब्याडथलाबाट केवै सम्मको झण्डै ७ किमी सडक र केवैदेखि पूर्णगाउँ सम्मको ४ किमी सडकको ट्रयाक नगरपालिकाले खोलेको छ ।
कतिपयले यो चौरलाई हवाई मैदान बनाउने योजना पनि अगाडि सारेका छन् । तर, वस्तीभन्दा पर भएकोले हवाई मैदान असम्भव हुने र बनिहाले पनि चलाउन कठिन हुने श्रीष बताउँछन् । त्यसैले उनीहरुले पर्यटन प्रवद्र्धनका क्रियाकलाप पहिलो चरणमा गराउन खोजेको बताए ।
कालीगण्डकी करिडोर बनिसकेकोले बेलबगरदेखि पूर्णगाउँसम्म स्तरीय सडक बनाउन सक्दा बुटवलदेखिका पर्यटक भित्राउन सकिने उनले बताए । स्थानीयले केवै गाउँमा होमस्टे सञ्चालन गरेका छन् । अब व्यवस्थित बनाएर पाहुना नियमित आउने व्यवस्था गरेमा छिट्टै यो क्षेत्रमा पर्यटक बढ्ने उनले अनुमान गरे ।
वडा नंं ८ का अध्यक्ष विजय शर्माले पनि पर्यटन प्रवद्र्धनका क्रियाकलाप गर्नकै लागि सल्लाह दिएको बताए । ‘ठूलो पूर्वाधार ल्याउन संघीय सरकारको ध्यान पुग्नुपर्छ,’ उनले भने, ‘ठूलो लगानी कुरिरहनुभन्दा सानो पूँजी परिचालन गरेर केही थालिहाल्नुपर्छ ।’ पर्यटन प्रवद्र्धनका क्रियाकलाप भएमा वडाबाट पनि सहयोग गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->