बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यान्त्रिक हलो मर्मत गर्दै किसान

यान्त्रिक हलो मर्मत गर्दै किसान

३० जना युवाका लागि आयोजित तालिममा तित्याङकी विष्णु थापामगर एक्ली महिला भएर पनि तालिम लिएरै छाडिन् ।


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७८, बिहिबार
?

बागलुङ/बागलुङ नगरपालिका ९, तित्याङकी विष्णु थापामगरले तीन वर्षदेखि आधुनिक कृषि प्रविधि भित्राएर यान्त्रिक हलो लगेकी थिइन् । दिदीको छोरा र आफूले पालैपालो खेत जोत्थे । केही समय हलो बिग्रियो । मिस्त्री खोजेको बागलुङ बजारमै पाइएन ।
भेटेका एकदुई जनाले पनि धेरै रकम भन्ने गरेपछि मर्मत गर्न जान्न पाए हुन्थ्यो भन्ने सोचेकी थिइन् । उनको सोचाइ अहिले पूरा भएको छ । इसिमोड र नेपाल कम्युनिटर नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक सहयोग तथा क्वालीटी रिन्युएबल इनर्जी प्रालिको आयोजनामा सात दिन लामो तालिम पाएपछि उनी मख्ख छिन् ।
कृषि यान्त्रिकरण तथा नविकरणीय उर्जा सामाग्री मर्मत सम्भारसम्बन्धी सात दिने तालिम बागलुङमा सञ्चालित थियो । ‘अब त तालिम पाएँ, धेरै काम गर्न सक्छु, केही बिग्रेपनि आफंै बनाउन सकिने भयो,’ उनले भनिन्, ‘आफ्नो हातमा सीप भयो भने कसैको आस गर्नु पर्दैन ।’ ३० जना युवाका लागि आयोजित तालिममा उनी एक्ली महिला भएर पनि तालिम लिएरै छाडिन् ।
जैमिनी नगरपालिका ५, बिनामारेका दीपक क्षेत्रीलाई त यो तालिम वरदान जस्तै भयो । सदरमुकामदेखि धेरै टाढा लगेको हलो बिग्रियो भने मर्मतका लागि ल्याउने लाने खर्चले नयाँ किन्न पुग्थ्यो । अब भने उनले केही टुल किनेर घरै लैजाने योजना बनाएका छन् । ‘तालिमले मर्मत गर्न मात्र होइन, टुलहरुको मूल्यमा कति ठगिएका रहेछौं भन्ने पनि थाहा भयो’ उनले भने, ‘अब दुईचार जना किसान मिलेर सबै सामाग्री होलसेलमा किनेर राख्छौं ।’
यान्त्रिकरण भनेपनि कृषि ज्ञान केन्द्र वा स्थानीय तहले दिएको अनुदानले मात्रै किसानलाई फाइदा पुगेको थियो । सबै किन्नुपरेमा किसान धेरै ठगिने गरेको उनले बताए । तालिमले किसान ठगिन पनि रोकिने उनको दाबी छ ।
प्रशिक्षणमा जैमिनी नगरपालिका १० का निर्मल रानाले सहजीकरण गरेका थिए । उनले गत वर्ष व्यवसायिक तथा सिप बिकास तालिम केन्द्र पर्वतबाट सञ्चालित तीन महिने तालिम लिएका थिए । धौलागिरि मोर्डन इन्स्टिच्युटमा सिकेको सीपले यो वर्ष प्रशिक्षक बनाएको भन्दै हातमा सिप भएको मानिस कतै पनि पछि नपर्ने बताए ।
तलिमले किसानलाई ठूलो राहत मिलेको क्वालिटी रिन्युएबल इनर्जी प्रालिका सञ्चालक सूर्य गौतमले बताए । तालिममा सहभागीलाई कृषि ज्ञान केन्द्रले पनि केही टुल्स किनेर सहयोग गरेको उनले बताए । केन्द्रका प्रमुख भानुभक्त भट्टराईले किसानलाई दक्ष र व्यवसायिक बनाउन तालिम फलदायी भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->