आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गलकोट नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व चयनमा सकस

गलकोट नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व चयनमा सकस


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

बागलुङ/नेकपा माओवादी केन्द्रले बागलुङको गलकोट नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । केन्द्रले गत मंसिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।
अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णित बनेको हो । महिना दिन बित्दासमेत नेतृत्व चयन हुन नसक्दा नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले आकांक्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न नसकेको बताए । अधिवेशनले ६५ सदस्यीय नगर समिति भने सर्वसम्मत चयन गरिसकेको छ । सोही समितिले पदाधिकारी चुन्ने विधानत व्यवस्था छ । समितिले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सात पदाधिकारी चुन्नेछ ।
पार्टीको नगर अध्यक्षमा हालका अध्यक्ष ललित श्रीस, तिलक उप्रेती, गंगा भुजेल, चन्द्रदत्त रेग्मी, राज थापा र चन्द्रबहादुर थापा ‘शिखर’ आकांक्षी छन् । सबै पार्टीको जिल्ला समन्वय समितिका सदस्य हुन् । उप्रेती यसअघि पनि नगर अध्यक्ष भइसकेका नेता हुन् ।
जिल्लाका अन्य नौ स्थानीय तहमा भने यसअघि नै अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । टोल समितिका भेला, वडा, पालिकाहुँदै प्रदेश तहका अधिवेशन सकेर माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा होमिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->