
पोखरा\पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगामा करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा नेपाली कांग्रेस कास्कीको २ तले पार्टी कार्यालय छ । २ वटा हलसहित भवनमा ७ वटा कोठा छन् । पार्टी कार्यालय छिर्ने बाटो साँघुरो छ तर पोखराको मुख्य बजार क्षेत्रमा रहेको कार्यालय सबैको पायक क्षेत्रमा छ । जिल्ला मालपोत कार्यालय कास्कीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷०७७ को न्यूनतम मूल्याङ्कन अनुसार सो क्षेत्रमा प्रति वर्गकिलोमिटर जग्गाको भाउ ७० हजार रुपैयाँ तोकिएको छ । अहिलेको बजार मूल्यमा त्यो जग्गाको भाउ नै करोडौं छ । अझ, पार्टी कार्यालयको पूर्वतिरको विशालबजारसँग जोडिएको जग्गामा पार्टी कार्यालयले १६ वटा सटर बनाएर भाडा लिँदै आएको छ । सो जग्गा खरिद तथा भवन निर्माणमा १७ वर्षसम्म कास्की कांग्रेसको सभापति बनेका शुक्रराज शर्माको ठूलो योगदान छ । भवन निर्माणको लागि तत्कालीन कोषाध्यक्षहरु स्वर्गीय हेमबहादुर प्रधानदेखि ऋषि सापकोटासम्मले उत्तिकै योगदान गरेका छन् । सानो मञ्च र खुला चौर पनि रहेको कार्यालय कांग्रेसीहरुको लागि ‘गर्व’को विषय बन्दै आएको छ ।नेपाली कांग्रेस कास्कीका सबै गतिविधिहरु यही भवनबाट सञ्चालित हुन्छन् । तर, १४ औं महाधिवेशनलगत्तै किशोरदत्त बराल नेतृत्वमा आएको कार्यसमितिको लागि यो कार्यालय ‘टाउको दुखाई’ बन्ने लक्षण देखिएको छ । नेपाली कांग्रेस स्रोतका अनुसार कास्की कांग्रेसको सो भवनमा गण्डकी प्रदेश समितिले आँखा लगाएपछि समस्या आएको हो ।
संयोग कस्तो भने, कास्की कांग्रेसको भवन निर्माणसँग जोडिएका शुक्रराज शर्मा यतिबेला कांग्रेस गण्डकीको सभापति चुनिएका छन् । सभापति चुनिएलगत्तै उनले गण्डकी प्रदेश कार्यालय पनि कास्की कार्यालयभित्रै बनाउन ‘लबिङ’ थालेका छन् । कास्की कांग्रेसको कार्यसमितिमा अहिले शुक्रराज शर्मापक्षीय सदस्यहरुको बहुमत छ । स्रोतका अनुसार सहमतिमा प्रदेशलाई अहिलेकै कार्यालयमा कोठा वा निर्माणको अनुमति नदिए कार्यसमितिको बहुमतबाटै निर्णय गराउने ‘धम्की’ उनले अनौपचारिक रुपले सभापति बरालसमक्ष पठाइसकेका छन् । ‘शुक्रराजजीले प्रदेश कार्यालय राख्नको लागि तारन्तार दवाव दिनुभएको कुरा आएको छ’,कास्की कांग्रेसका एक पूर्वपदाधिकारीले भने,‘उहाँले यसको लागि प्रदेशका मन्त्रीदेखि यहाँका सबैजसो नेताहरुलाई भन्न लगाउनु भएको पक्का हो ।’
तर, कास्की कांग्रेसका सभापति बराल भने तत्काल कार्यालय वा भवन निर्माणमा सहमति नजनाउने पक्षमा देखिएका छन् । प्रदेशको लागि जमिन उपलब्ध गराए अन्य भातृ संस्था वा समितिहरुले पनि कार्यालय माग्दा हुन्नँ भन्न नसकिने तर्क उनको छ ।
‘सभापतिज्यूले उपसभापति तथा सचिवहरुलाई तपार्इंहरु चौरमा बसेर काम गर्न तयार हो भने निर्णय गरेर दिऊँ,हैन भने यो निर्णय सम्भव छैन भन्नुभयो रे’,ती पूर्वपदाधिकारीले भने,‘केन्द्रको दवावबारे पनि उहाँले भन्नुभएछ–केन्द्रीय समितिले नै निर्देशन दियो भने छुट्टै कुरा, नत्र सधैँ म वा शुक्रराज दाई नै सभापति भइरहने हैन,कास्कीको जग्गाको संरक्षण गर्नु मेरो दायित्व हो ।’ सभापति बरालसँग यो विषयमा जिज्ञासा राख्दा उनले यो पार्टीको आन्तरिक विषय भएकाले केही नबोल्ने बताए । महाधिवेशनका कारण आफू पार्टी कार्यालय जान नपाएको जिकिर गर्दै उनले भने,‘पार्टीका भातृ र क्षेत्रीय समितिहरुले कार्यालय खोजिरहेको भने सत्य हो ।’
कास्की कांग्रेसका सचिव भानु ढकालले पनि क्षेत्रीय र भातृ संगठनहरुले कार्यालयको लागि कोठा मागेको स्वीकारे । उनका अनुसार नगर सभापति सुरेन्द्रमान विजुक्छे, कास्की प्रदेश नम्बर २ का क्षेत्रीय सभापति दीपेन्द्र मर्सानीले लिखित रुपले नै कोठा माग गरेका छन् । भातृ संगठनहरुले पनि अनौपचारिक रुपमा कार्यालयको लागि कोठा माग गरेको उनले बताए ।
एउटै जंगलमा २ सिंह !
शुक्रराज शर्मा कास्की कांग्रेसका ‘पावर सेण्टर’ हुन् । १७ वर्ष सभापति भएका उनी कास्कीमा आफ्नै गुट चलाउँछन् । आफू अनुकूलकालाई च्याप्ने र मन नपर्नेको खोइरो खन्ने बानीका कारण उनी आलोचित छन् । पटक–पटक सांसदको टिकट पाएर पनि नजितेका शुक्रराजले १४ औं महाविधेशनमा रामचन्द्र पौडेल–शेखर कोइराला समूहबाट प्रदेश सभापतिको टिकट पाए । कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा,युवा नेता देवराज चालिसे मुख्य प्रतिष्र्धी थिए । तर, अन्तिम समयमा रामचन्द्र पौडेलले सबै प्रत्यासीलाई राखेर शुक्रराजलाई सभापतिका साझा उम्मेदवार घोषणा गरिदिए । साझा सभापतिको उम्मेदवार तय गर्दा रामचन्द्र पौडेलले भनेका थिए,‘मुटुमाथि ढुंगा राखेर यो निर्णय गरिएको छ ।’ शुक्रराजले बाजी मारे । चुनाव जिते । चुनाव जितेसँगै उनी आफ्नो लागि कार्यालयको खोजीमा छन् र आफैले बनाएको कास्की कांग्रेसको जग्गामै आँखा लगाएका छन् । आफूले चाहेको कुरा जसरी पनि गरिछाड्ने स्वभाव भएका शुक्रराजको पहिलो ‘तारो’ कास्की कांग्रेसका सभापति किशोरदत्त बराल परेका छन् । किशोरदत्त प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका हुन् । देउवा प्यानलबाट विजयी भए पनि केन्द्रीय चुनावको क्रममा उनले आफ्नो अडान प्रस्तुत गरे । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको घोषणा गरेका युवा नेता विश्वप्रकाश शर्माको लागि उनले खुलेरै मत मागे । विश्वप्रकाशको पक्षमा मत माग्नु शक्तिशाली सभापतिको विरुद्ध जानु र जोखिम मोल्नु हो भन्ने शिक्षक पृष्ठभूमिबाट आएका किशोरदत्तले नबुझ्ने कुरै भएन । तर, उनले विश्वप्रकाशलाई समर्थन गरेर आफू आफ्नै विवेकले चल्ने व्यक्ति भएको प्रमाणित गरिदिए । जिल्ला तहका नेताहरु अवसरको लागि यो वा त्यो समूहका शीर्ष नेताहरुको दौराको फुर्को समात्न मरिहत्ते गर्ने कांग्रसी वृत्तमा उनले आफूलाई ‘अडान र विवेक’ भएको नेताको रुपमा प्रमाणित गरेका छन् । तर, केन्द्रमा वाहवाही पाउँदा किशोर जिल्लामा भने अर्का सिंहसँग भिड्ने अवस्थामा पुगेका छन् ।
‘जग्गा प्रकरण पेचिलो बन्यो भने यहाँ शुक्रराज र किशोरदत्तबीच लडाइँ सुरु हुनेछ र कास्की कांग्रेस कहिल्यै मिल्दैन भन्ने सन्देश प्रवाहित हुनेछ’,कांग्रेसका एक नेताले भने,‘ किशोरले भनेको कुरा बेठीक हैन,प्रदेशले कास्कीकै जग्गामा किन आँखा लगाउनुप¥यो ?अरु जिल्लामै कार्यालय राखेर विकेन्द्रीकरणको सन्देश प्रवाह गरे पनि हुन्छ नि ।’





