बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘बहुवर्षीयले गर्दा नयाँ योजना ल्याउन सकिएन’

‘बहुवर्षीयले गर्दा नयाँ योजना ल्याउन सकिएन’


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चालनमा रहेका बहुवर्षीय योजनाका कारण प्रदेशमा नयाँ योजनाहरू थप गर्न नसकेको बताएका छन्।नेपाली कांग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको छैठौं स्मृति सभाको सन्दर्भ पारेर ‘डिल्लीराम लामिछाने स्मृति भवन’ निर्माणको शिलान्यास गर्दै यस्तो बताएका हुन्।
एमालेको नेतृत्वमा रहेको पूर्व सरकारले ठूलाठूला योजनाहरूलाई बहुवर्षीय योजनाका रूपमा अगाडि बढाएको र कतिपयलाई सोही प्रक्रियामा लगेका कारण प्रदेशले जनताको मागअनुसार नयाँनयाँ योजना थप गर्न नसकिएको उनले स्पष्ट पारे।
छ महिना अगाडि बनेको गठबन्धन सरकारले पुराना योजना काटेको तथा नयाँ योजनाहरू नल्याएको भन्दै आलोचना भएको थियो। शिलान्यास कार्यक्रमका वक्ताहरूले पनि मुख्यमन्त्री पोखरेललाई नागरिकहरू समस्यामा रहेकाले विभिन्न योजनाहरूको आवश्यकता रहेको बताएपछि उनले बजेटबारे बोल्दै त्यसो हुनुको कारण स्पष्ट पारेका हुन्।
‘सीमित बजेट भएका कारण जनताको सबै कुरा सुनुवाइ गर्न नसकिएको हो। करिब–करिब पुरानै कार्यक्रमहरू अगाडि बढिरहेका छन्,’ मुख्यमन्त्री नेपालीले भने, ‘नयाँ कुराहरू ल्याउने जमर्को गरे पनि बजेटका कारण ल्याउन सकिएन।’ उनले जुन दिन गठबन्धन सरकार सत्तामा पुग्यो त्यही दिनबाट जनताको साथमा रहेको समेत जिकिर गरे ।
नयाँ योजना ल्याएर जनताले चाहेको जस्तो खुसी दिन नसके पनि कोरोनाले थला पारेको अवस्थामा गण्डकी प्रदेश सरकारले महामारीमा परेर मृत्यु भएकाहरूको परिवारलाई ५० हजार दिने तथा कोरोनाकै कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई १८ वर्ष नपुग्दासम्म मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गर्नुले राम्रो काम भएको उनको मुख्यमन्त्री पोख्रेलको भनाइछ।
केही योजनालाई तत्कालका लागि रोकेर भए पनि कोरोना विरुद्ध लड्नुपर्ने बाध्यता रहनु तथा बर्खा याममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ठुलो जनधनको क्षति हुँदा राहत र उद्धारमा समेत बजेट प्रयोग गर्नुपरेको उनले बताए।
दिवा सेवा केन्द्रमा बस्दै आएका ज्येष्ठ नागरिकलाई सुविधा थप गर्नु तथा सडकमा बेवारिसे अवस्थामा हिँड्ने गरेकाहरूलाई व्यवस्थापन गरेर प्रदेशलाई सडक मानवमुक्त प्रदेशका बनाउने अभियान जारी रहनु प्रदेशको राम्रो काम भएको उनले बताए।
‘ठूलो नहोला तर गौरव गर्ने कुराहरू के छ भने सडकमा देखिने बेवारिसे मान्छेहरू देखिने अवस्था रहेको थियो। पर्यटकहरु आउँदा पनि नराम्रो देखियो। त्यसो हुन नदिनको लागि सडक मानवमुक्त प्रदेश घोषणा गरियो,’ मुख्यमन्त्री पोख्रेलले भने, ‘अब आउने बजेटमा सबै पूरा त नहोला तर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जान्छौँ। विद्युत् खानेपानी लगायतका नगरी नहुने काम छन् भने सिधै प्रदेशमा आउनुहोला ती काम हामी गरिहाल्छौं ।’
स्वर्गीय नेता लामिछानेबारे बोल्दै मुख्यमन्त्री पोख्रेलले सारा जीवन नै समाज परिवर्तनमा लगाएका डिल्ली लामिछानेको स्मृति सभामा सहभागी हुन पाउनु निकै खुसीको कुरा भएको बताए। कार्यक्रममा सहभागी भएका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ तथा बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले पनि स्वर्गीय लामिछानेको बाटोलाई अवलम्बन गर्दा सकारात्मक समाज निर्माणमा बल पुग्ने उल्लेख गरे।
स्मृति भवन कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साईकलचोक नजिकै निर्माण गर्न लागिएको हो। भवन निर्माणको लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बाँकी रकम विभिन्न व्यक्तिले गर्ने सहयोगबाट संकलन हुने कुश्मा नगरपालिकाकी उपप्रमुखसमेत रहेकी स्वर्गीय लामिछानेकी पत्नी सीता काफ्ले लामिछानेले बताइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->