शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कालो मास्क लगाएका पत्रकारलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश निषेध !

कालो मास्क लगाएका पत्रकारलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश निषेध !


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

पोखरा\कालो मास्क लगाएकै आधारमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एकजना पत्रकारलाई भित्र पस्न रोकिएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा जाँदा ती पत्रकारलाई भित्र छिर्न रोक लगाइएको हो ।
सुरक्षाकर्मीले कालो मास्क लगाएर भित्र जान अनुमति नभएको र अर्को रङको मास्क लगाएर मात्र भित्र पस्न आग्रह गरेका थिए । । ती पत्रकारसँगै आएका कालो टोपीसहित कालै पोशाकमा अर्का युवकले ठट्टा गर्दै सोधे, ‘सर मैले कालै पञ्जा लगाएको छु, यो पनि फकाऊँ कि ? कहाँ लेखिएको रहेछ, कालो मास्क लगाउन नपाइने ?’
गेटमा बसेका ती सुरक्षाकर्मीले जवाफ फर्काए, ‘कालो मास्कले विरोध गरेको भन्छन् । त्यसैले कालो मास्क लगाएर यहाँ आउन पाइँदैन ।’ पछि ती पत्रकारले आकासे रङको अर्को मास्क लगाएपछिमात्रै भित्र पस्ने अनुमति पाएका थिए ।
कुनै पनि रङ प्रतिबन्ध छैनः प्रदेश सरकार
गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक विकासमन्त्री कुमार खड्काले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुनै पनि प्रकारको रङ निषेध नगरिएको बताएका छन् ।
‘कतिपय सेक्युरिटीका आफ्नै नियम हुन्छन् । तर, यहाँ कुनै रङकै आधारमा प्रतिबन्ध लगाइएको छैन,’ प्रवक्ता खड्काले भने, ‘कलरले दिने संकेतका आधारमा प्रतिबन्ध लगाउने, नलगाउने भन्ने कुनै अर्थ छैन ।’
प्रवक्ता खड्काले कालो मास्क लगाएकै आधारमा सेवाग्राही फर्किनु परेकोबारे आफूले मुख्यसचिवसँग कुरा राख्ने बताए । उनले भने, ‘यस कुरालाई म तत्काल फरवार्ड गर्छु । यो कुरा म मुख्यसचिव ज्युलाई भन्छु । कम्युनिस्टलाई रातो र कांग्रेसलाई हरियो रङ भन्ने हुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->