पोखरा/नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा नयाँ दृश्य देखियो । यसअघि जस्तो मञ्चमा आसनग्रहण गराउनुपर्ने र भाषण गर्न पाउनुपर्ने माग राख्ने नेताहरु कार्यकर्तासँगै मञ्च अगाडी बस्नुपर्ने भयो । भाषण गर्न पाएका सिमित नेतालाई पनि समयसिमाको बन्धनले बाँधियो ।
कास्की कांग्रेसको नवनिर्वाचित कार्यसमितिले आयोजना गरेको पहिलो कार्यक्रमको मञ्चमा सभापति किशोरदत्त बराल र प्रमुख वक्ता महामन्त्री विश्वप्रकाश शर्मा मात्र देखिए । कार्यक्रमको शुरुवातमै जिल्ला कार्यसमितिका सचिव भानु ढकालले पार्टीको कार्यक्रमका बारेमा आचारसंहिता सुनाए ।
कार्यक्रमको सभापतित्व जसले गर्ने हो उ र प्रमुख अतिथिमात्र मञ्चमा बस्ने बाँकी सबै तल्लो रोमा बस्नुपर्ने ढकालले सुनाए । उनले प्रमुख अतिथिबाहेक बाँकी वक्ताले ५ मिनेट भन्दा लामो भाषण गर्न नपाउने र भाषणको चांैथो मिनेटमा पहेंलो कार्ड देखाइनेसमेत जनाए ।
ढकालले जारी गरेको आचारसंहितामा वक्ताको बोलीमा पनि लगाम लगाइयो । नेपाली कांग्रेसका नेता कार्यकर्ताले सार्वजनिक कार्यक्रममा बोल्दा पार्टीहित विपरित बोल्न नपाउने । यसरी संहिता जारी गरेर कार्यक्रम शुरु भयो, त्यसरी नै समापन ।
कास्की कांग्रेसले ४६ औं राष्टिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुक्रबार प्रवचन तथा सम्मान कार्यक्रम राखेको थियो । प्रवचनमा प्रमुख वक्ता महामन्त्री शर्माले कास्की कांग्रेसको कार्यक्रम आयोजना गर्ने तरिका बहसमा ल्याउने बताए ।
‘नेपाली कांग्रेसका सबै जिल्ला र सबै तहका समितिले सार्वजनिक कार्यक्रम आयोजना गर्दा कास्की कांग्रेसले गरेको रचनात्मक प्रयोगको अनुशरण गर्नुपर्छ,’ उनले भने, ‘यसरी कार्यक्रम गर्नु भनेर जिल्ला जिल्लामा सर्कुलर गर्न केन्द्रमा छलफल गर्छु ।’
यसरी कार्यक्रम आयोजना गर्दा कांग्रेस सहमहामन्त्री जीवन परियार, केन्द्रिय सदस्य गुरु बराल, प्रदेश उपसभापति कल्पना तिवारी, प्रदेश उपसभापति एवं गण्डकी सरकारका मन्त्री मेखलाल श्रेष्ठ, प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, कानुनमन्त्री विन्दुकुमार थापा, पूर्व जिल्ला सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा लगायत सबै नेता कार्यकर्ता मञ्चमा बस्न पाएनन् । अरु कार्यकर्तासँगै तल्लो रोमा बस्न पुगे ।
कार्यक्रममा भाषण गर्नेले पनि ५ मिनेट भन्दा लामो भाषण गर्न पाएनन् । सचिव ढकालका अनुसार ४ मिनेट पुगेपछि प्रमुख अतिथीबाहेक सबै वक्तालाई पहेंलो कार्ड देखाइयो, पाँचौ मिनेटमा टुङ्ग्याउन बाध्य भए । भाषण गर्दा पनि प्रदेश सरकारका तर्पmबाट एकजना मन्त्रीले मात्र पाउने व्यवस्था मिलाए ।
‘प्रदेश सरकारको तर्फबाट आजको कार्यक्रममा कानुनमन्त्री विन्दुकुमार थापा मात्र बोल्नुभयो, आगामी कार्यक्रममा अरु मन्त्रीले पालो पाउँछन्,’ ढकालले भने, सधैं उही व्यक्तीले मात्र भाषण गर्न पाउने र धेरै जनाले लम्बेतान भाषण गर्ने अवस्था हटाएका छौं ।’
यसरी कार्यक्रम आयोजना गर्ने भनेर कांग्रेस कास्कीको पुष १० गतेको बैठकले निर्णय गरेको थियो । कार्यकर्ताले परिवर्तन खोजेकाले त्यही अनुसार पार्टीका कार्यक्रम छरितो बनाएको जिल्ला सभापति किशोरदत्त बरालले बताए ।
‘नेताहरुले आसनग्रहण र भाषण गरेर मात्र नेता होइदैन भनेर बुझ्नुपर्छ, यही अनुसार भातृसंस्था र शुभेच्छुक संस्थाले पनि कार्यक्रम गर्नुपर्छ,’ उनले भने, ‘म पनि आसन ग्रहण नगर्न र भाषण नगर्न तयार छु ।’ कास्की कांग्रेसको नवनिर्वाचित कार्यसमितिले कार्यक्रम गर्ने छरितो तरिका देखेर प्रभावित भएका महामन्त्री शर्माले आफु पनि एउटा पनि गल्ती गर्न नपाउने अवस्थामा रहेको बताए । पार्टी कार्यालय पछाडीको खुला ठाउँमा आयोजित कार्यक्रममा शर्माले माटो छोएर कसम खाएर भने– ‘महामन्त्री भनेको जिम्मेवारी हो, पोखराको माटो छोएर प्रतिवद्धता जनाउँछु कि तपाइहरुले दिएको जिम्मेवारी इमान्दार तरिकाले पुरा गर्छु ।’
शर्मालाई महामन्त्री जिताउन कास्की कांग्रेसका सभापति बराल खुलेर लागेका थिए । सभापति शेरबहादुर देउवा पक्षका बराल गुटगत रुपमा लाग्न नहुने भन्दै शर्मालाई महामन्त्री जिताउन खुला अपिल गरेका थिए । शर्माले पार्टी महामन्त्रीका हैसियतमा जे सत्य हो त्यही बोल्ने प्रण गरे ।
‘म के बोल्दा बढीताली बच्छ, त्यो बोल्दिन,’ उनले भने, ‘जे सत्य हो, त्यही बोल्छु । सत्य बोल्न जति ठुलो जोखिम मोल्न पनि तयार छु ।’ महामन्त्री शर्माले विपी कोइराला भारतबाट मेलमिलापको नीति लिएर फर्कदाको अवस्था र आजको अवस्थामा उक्त नीतिको सान्दर्भिकताका बारेमा व्याख्या गरेका थिए ।
सोही अवसरमा ७५ बर्ष नाघेका कास्की कांग्रेसका अग्रज नेता कार्यकर्तालाई सम्मान समेत गरिएको थियो । सम्मानका लागि पनि जिल्ला कार्यसमितिले मापदण्ड बनाएको सचिव ढकालले बनाए । उनका अनुसार सर्वस्वहरणमा परेका, जेल, नेल र यातना भोगेका, देशमा बस्न सक्ने अवस्था नभएर प्रवासमा बसेर पार्टीका लागि काम गरेका ४६ नेताहरुलाई सम्मान गरिएको थियो ।





