काठमाडौं/ नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ । अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन् ।
सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए । स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ ।
आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ । केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटी नै पदाधिकारी चयन गर्ने भएको छ ।
दिउँसो १ बजे बन्दसत्र सुरु हुने र २ बजेदेखि निर्वाचन प्रकृया थालिने संशोधित कार्यतालिका पनि पछाडि धकेलिएको छ । आठौँ राष्ट्रिय महाधिवेशनको आठौं दिन आज नेतृत्व सहमतिबाटै टुंग्याउने माओवादीको तयारी छ। केन्द्रीय समिती र पदाधिकारी टुंग्याउनेबारे छलफल भइरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको सहमतिमै केन्द्रीय समिति र पदाधिकारी घोषणा गर्ने पहल गरिरहेका छन् । माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिकबाट केन्द्रीय कमिटी निर्माण गर्ने बताएको छ ।
हिजोदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकेर सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको थियो ।





