पोखरा/ माओवादी केन्द्रको केन्द्रीय सदस्यमा गोरखा हावी हुँदा कास्कीका कास्कीका राजकाजी गुरुङ‘करन’ र खिमलाल देवकोटा केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पर्वतमा जन्मेका तथा कास्कीलाई कार्यक्षेत्र बनाएका गुरुङ जनजातितर्फबाट केन्द्रीय सदस्यमा अटाएका हुन् ।
कास्की क्षेत्र नम्बर २‘ख’बाट गण्डकी प्रदेश सभामा उम्मेदवारसमेत रहेका उनी झिनो मतले पराजित भएका थिए । हाल उनी माओवादी केन्द्र कास्कीका इन्चार्ज हुन् । उता, यहाँको लुम्लेका खिमलाल बौद्धिक नेताको रुपमा चिनिन्छन् । कास्कीबाट दुर्गा विक दलित र सोमति गुरुङ जनजाति महिलाबाट केन्द्रीय सदस्यमा अटाएका छन् ।
माओवादीको उर्वरभूमिको रुपमा चिनिने गोरखाबाट भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि हितराज पाण्डेसम्म केन्द्रीय सदस्यमा परेका छन् । हरिबहादुर चुमान,अमर गुरुङ,अमृता थापा, कल्पना धमला,सुशीला सिंखडा,अपाङ्बाट चुडामणि खड्का धर्मदत्त देवकोटा, लेखनाथ न्यौपाने, कृष्ण धिताल,परशुराम रम्तेल पनि केन्द्रीय सदस्यमा परे । महाधिवेशनमा गण्डकीको गोरखाबाट सबैभन्दा बढी प्रतिनिधिले सहभागिता जनाएका थिए ।
तनहुँबाट ओमकुमारी पौडेल, श्रीराम ढकाल, पुराना नेता सुरेश कुमार आले मगर, बागलुङका देवेन्द्र पौडेल, दीनानाथ शर्मा, बागलुङकै कृष्ण केसी, मनाङका देव गुरुङ, खस–आर्यतर्फको केन्द्रीय सदस्यमा पुरुषतर्फ हरिराज अधिकारी र महिलातर्फ बलावती शर्मा र आशा कोइराला रहेका छन् । बलावती बागलुङ र आशा तनहुँकी हुन् ।
यसोदा पराजुली गुरुङ,गुप्तबहादुर ठकुरी खुलातर्फ केन्द्रीय सदस्य बनेका छन् । तनहूँकी ओमकुमारी पौडेल पनि केन्द्रीय सदस्यमा अटाएकी छन् । कास्कीका दीपक कोइराला, सुमन देवकोटा,रामजी बरालहरुले पनि केन्द्रीय कमिटी सदस्यमा आकांक्षा देखाएका थिए । चन्द्रबहादुर बुढालगायतका दर्जनौं नेता केन्द्रीय सदस्यका आकांक्षी दिए । तर, उनीहरु २३७ जनाको लिस्टमा चढेनन् ।
प्रचण्डको घोषणामा नपरेकाहरुमध्ये केहीको नाम थप हुनसक्ने र बाँकीलाई प्रदेश कमिटीमा समेट्ने सम्भावना रहेको माओवादीका एक नेताले बताए । गण्डकीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र देवेन्द्र पाण्डे पदाधिकारीका सम्भावित दाबेदार हुन् । दीनानाथ शर्मा र हितराज पाण्डेले पनि प्रचण्डबाट निकै ठूलो आशा गरेका छन् । उनीहरु पदाधिकारीमा पर्ने सम्भावना अधिक रहेको पनि ती नेताले दाबी गरे ।





