स्याङ्जा/ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले कमिसनको खेलमा केही कर्मचारी र नेता मिल्ने गरेको आरोप लगाएका छन् । नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति स्याङ्जाको आठौं जिल्ला अधिवेशनमा उनले नेता र ठुल्ठूला कर्मचारीका मिलोमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरेका हुन् ।
उपसभापति निर्वाचित भएपछि पहिलो पटक गृह जिल्लामा आयोजित औपचारिक कार्यक्रममा आएका गुरुङले कर्मचारी स्थायी सरकार भएकाले नागरिकका सुख, दुखमा सहयोगी बनेर काम गर्न आग्रह गरेका छन् । वाइडबडी, प्रिन्टिङ प्रेस खरिद, ओम्नी, ललिता निवास, आयल निगम जग्गा प्रकरण लगायतका विविध खाले भ्रष्टाचार काण्डको खोजी हुनुपर्ने बताउँदै उनले ठोकुवा गरे, ‘करोडौं भ्रष्टाचारका खेल भएको छ ।’
एउटा इन्जिनियरले खराब आचरण गर्दा सडक तथा पुलमात्र बिग्रने गरेको समेत उपसभापति गुरुङको जिकिर छ । उनले एउटा नेताका खराब आचरणले सिंगो मुलुक बर्बाद हुनेसमेत सुनाए ।
गाउँले दुख भुलेर नेताहरु काठमाडौंका सुखसयलमा रमाउन थालेकाले मुलुकको विकास हुन नसकेको गुरुङको दाबी थियो । उनले अब, नेता र कर्मचारी सुध्रेर विधिको शासनमा चलेमा मुलुकले गति लिने विश्वास राखे ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजु थापा, नेपाल निजामति कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष गोपाल पोखरेल, नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, चापाकोट नगरप्रमुख शिबकुमार गिरी, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, बाग्मती प्रदेश संयोजक एकनारायण काफले, गण्डकी प्रदेश संयोजक शिव शर्मा, केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल, शिक्षक संघका उपाध्यक्ष भरतप्रसाद लम्साल लगायतले निजामति कर्मचारी ऐनको आवश्यकताबारे जोड दिएका थिए ।





