बागलुङ/नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्दबहादुर नेपालीले कार्यकर्तामा नयाँ उत्साह ल्याउनेगरी नवौं जिल्ला अधिबेशनको तयारी भइरहेको बताएका छन् । अधिवेशनले जिल्लामा बामपन्थी दलहरुलाई एकै ठाउँमा उभिने सन्देश प्रवाह गर्ने भन्दै नेपालीले त्यसका सबैसँग एकताको वातावरण बनाउने नेतृत्व अधिवेशनले चयन गर्ने बताए ।
रेडियो संवाद ‘बेलाको बहस’मा कुराकानी गर्दै नेपालीले बागलुङको विशिष्ट परिवेशलाई सम्बोधन गर्नेगरी एमाले अधिवेशनले नेतृत्व प्रदान गर्ने दाबी गरे । ‘अन्यत्रको जस्तो परिस्थिति बागलुङमा छैन, यो जिल्ला कम्युनिस्टहरुको उर्वरभूमि हो,’ नेपालीले भने ‘हामी नवौं अधिवेशनपछि कम्युनिस्टहरुको पक्षमा जनमत ल्याउनका लागि पहल थाल्छौं ।’
अधिबेशनका लागि सबै तयारी पूरा भएको भन्दै नेपालीले सकेसम्म सर्वसम्मत र नभए चुनावी प्रक्रियाबाट नेतृत्व छनोट हुने बताए । विगतको अधिवेशनहरुमा जस्तो प्यानल बनाएर उमेद्वारहरु चुनावमा जान भने पाउने छैनन् । ‘हाउसले के भन्छ त्यहीअनुसार हुन्छ, हामीले सबै तयारी गरिरहेका छौं,’ उनले भने, ‘निर्वाचन समितिका साथीहरुले तालिम लिइसक्नुभयो, अध्यक्ष मण्डल गठन हुन्छ, आवश्यक परे दुवै प्रक्रियामा जान सकिन्छ ।’
जिल्ला कमिटीको पदाधिकारी र सदस्यहरुमा दाबी गरेका नेताहरुको कहीं न कहीं पार्टीले व्यवस्थापन गर्ने नेपालीले बताए । ‘एउटै पदमा धेरैको आकांक्षा छ हुने एक जना मात्रै हो,’ नेपाली भन्छन्, ‘नेताहरु मात्रै होईन हाम्रो पार्टीका सबै संगठित सदस्यहरुको कहिँ न कहिँ जिम्मेबारी पाउने वातावरण बन्छ ।’





