बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘गल्ती भए सजाय भोग्छु’

‘गल्ती भए सजाय भोग्छु’

‘मेरो जति नजिकको सम्बन्ध शेरबहादुर देउवासँग हो, त्यति केपी ओलीसँग होइन’


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७८, शनिबार

‘सरकारले निकोले टेन्डरमा म सक्षम हुने, मसँग सम्झौता हुने, भाडा लिने, मसँग काम गर्ने र अर्को मन्त्री आएर भत्काउँछु भन्ने ?’

पोखरा/ सार्वजनिक जग्गा हडपेको आरोप खेपिरहेका पोखरेली व्यवसायी आनन्दराज बतासले आफ्नै बलबुताले व्यावसायिक सफलता पाएको र अनुचित कार्य नगरेको जिकिर गरेका छन् । उनले गलत गरेको प्रमाणित गरेर देखाउन राज्यलाई चुनौती पनि दिएका छन् । उनले आफूले मात्रै सरकारी जग्गा भाडामा नलिएको जिकिर पनि गरेका छन् ।

‘बि म्यानेजमेन्ट कम्पनीले जग्गा किन्छ, नभए भाडामा लिन्छ र अर्कालाई फेरी भाडामा दिन्छ,’ बतासले भने, ‘यो एक किसिमको रियलस्टेट कम्पनी हो ।’ यसरी सरकारी वा व्यक्तिको जग्गा कौडीको भाउमा लिएर महँगोमा बिक्री गर्ने काम आफुले मात्र नगरेको बतासको दाबी छ । तर, संचार माध्यमले आफूलाई मात्र तारो बनाएको बतासले गुनासो गरे ।

नारायणहिटी राजदरबारको जग्गामा रेस्टुरेन्ट बनाउन लागेको विषय संवेदनशील भएको उनको भनाइ छ । तर, हायात होटल पनि तारागाउँ रिसोर्टको जग्गा भएको र त्यतातर्फ कसैले ध्यान नदिएको उनले गुनासो गरे ।
‘नेपालमा मैले जस्तो जग्गा भाडामा लिने हजारौं छन्, मेरो मात्र तपाईंहरुले इस्यु बनाइदिनुभएको छ, अरुको त केही कुरा आउँदैन,’ उनले भने, ‘मलाई विवादित तपाईं मिडियाले बनाइदिनुभएको हो, ३० औं वर्ष लगाएर बनाएर प्रतिष्ठा
कसैले विवादमा पार्न चाहन्छ र ?’

सार्वजनिक र सरकारी सम्पत्तिमा गरेको व्यवसाय कानुनसम्मत रहेको बतासको दाबी छ । सरकारले टेन्डर निकालेपछि अरु कम्पनी जस्तै आफू पनि प्रतिस्पर्धामा गएर छानिएको उनले बताए । नारायणहिटी लगायत ऐतिहासिक स्थलमा बतासले बनाएको संरचना पर्यटनमन्त्री प्रेम आलेको सक्रियतामा भत्काउन लागेको विषयमा उनले भने, ‘सरकारले निकोले टेन्डरमा म सक्षम हुने, मसँग सम्झौता हुने, भाडा लिने, मसँग काम गर्ने र अर्को मन्त्री आएर भत्काउँछु भन्ने ?’
उनले आमसञ्चार माध्यम र नागरिकले ‘स्टन्ट न्युज’ मन पराउने उनको दाबी छ । कानुनी प्रक्रियाका बारेमा हेर्न आग्रह गर्दै उनले गल्ती भए सजाय भोग्न तयार रहेको बताए । उनले सरकारी र सार्वजनिक सम्पत्तिमा बनाएका संरचना सरकारले आवश्यक ठानेमा अहिल्यै फिर्ता गर्न तयार रहेको समेत दाबी गरे ।

सरकारलाई फिर्ता गर्दा कानुन र सम्झौता पत्रमा उल्लेख गरिए अनुसार हुनुपर्ने उनको अडान छ । त्यसका लागि आफ्नो लगानीको हिसाबकिताब चाहिने बतासले बताए । उनले भने, ‘सरकारले आफ्नो जग्गा हामीलाई चाहियो, हामीले दिएर गलत ग¥यौं भन्ने लाग्छ भने कानुन सम्मत लगानीभएको पैसा फिर्ता दिए हुन्छ, म फिर्ता गर्छु, चाहिएन ।’

पोखराको सेती नदीबाट निस्कने ढुंगा, गिटी र बालुवा प्रशोधन गरेर निकाल्ने योजना आफ्नो नरहेको बतासले दाबी गरे । चिनियाँ कम्पनीले पोखरा महानगरमा उक्त प्रस्ताव ल्याएको भन्दै उनले कोरोना महामारी आएपछि चिनियाँ समूह पछाडि हटेको बताए । त्यही प्रस्तावमा आफूले काम गर्न खोजेको उनको भनाइ छ ।

त्यसमा पनि आफूलाई मात्र प्रहार भएको भन्दै बतासले असन्तुष्टि जनाए । अन्यत्र एउटै व्यक्तीले अबौंका ठेक्का १०÷१५ वटा लिएर बसेको उनले दाबी गरे । तर, त्यस्ता ठेकदारका बारेमा उनले खुलाउन चाहेनन् । आफूमाथि भइरहेको प्रहार सुनियोजित र प्रोपगान्डा भएको बतासको दाबी छ । ‘यो राजनीतिक पूर्वाग्रह राखेर गरिएको सुनियोजित प्रोपगान्डा हो,’ उनले भने, ‘त्यो कुरा प्रमाणित भइसकेको छ, यो बतासलाई हानेको होइन ।’

प्रहार अर्कैतिर

त्यसो भए कसलाई प्रहार गरेको हो त ? प्रधानमन्त्री देउवालाई ? यस संवाददाताले बतासलाई सोध्दा उनले भने, ‘त्यो मैले भन्न मिल्दैन, तपाईले बुझ्ने विषय हो ।’
बतासले सार्वजनिक र सरकारी सम्पत्ति लिँदा आफ्नै विभिन्न कम्पनीलाई टेन्डर हालेको समेत स्वीकार गरे । नारायणहिटी दरबारमा रेस्टुरेन्ट चलाउन सरकारले नै टेन्डर आह्वान गर्दा सुरुमा एउटा पनि टेन्डर नपरेको उनले दाबी गरे ।
सरकारले फेरि सोही स्थानमा रेस्टुरेन्ट खोल्न दोस्रो पटक टेन्डर खुलाएपछि आफूले पनि प्रस्ताव पेश गरेको उनले बताए । त्यतिबेला २ वटा कम्पनीले मात्र टेन्डर हालेपछि दरबार संग्राहालयका कर्मचारीले २ वटा मात्र टेन्डर प¥यो, मिलेमतो देखियो, अरुलाई पनि भन्नपु¥यो भनेको बतासले बताए । ‘मलाई अरु कसलाई टेन्डर हाल्न लगाउने,’ उनले भने, ‘मेरा साथीभाइले चलाएका मेरो पनि शेयर भएको कम्पनीले टेन्डर हालेको सत्य हो ।’
सरकारले नारायणहिटी दरबारभित्र बनाउँदै गरेको रेस्टुरेन्टको संरचना भत्काउन लागेको आफुलाई जानकारी रहेको उनले बताए । बतास समूहले प्रयोग गरेको देशभरकै सरकारी र सार्वजनिक जमिन र संरचना फिर्ता गर्न सरकारलाई नागरिक दबाब बढ्दो छ ।

सरकारले जबर्जस्ती संरचना भत्काए कानुनी लडाई लड्ने बतासले तयारी गरेका छन् । ‘मैले गैरकानुनी ढंगले काम गरेको होइन, सरकारलाई फिर्ता लिन मन भए अहिल्यै संझौता अनुसार छाड्छु भनेकै छु,’ उनले भने,’ होइन भने, ‘कानुनी प्रक्रियामा जान्छु, अन्याय सहनु पनि पाप हो नि ।’

यस्तो छ बतासको यात्रा

अहिले अर्बौं रुपैयाँका मालिक बनाइदिएको छ । बतास परिवार पुख्र्यौली सम्पत्तिले धनी भएका होइनन् । बतासलाई नजिकबाट चिनेका एक व्यवसायीका अनुसार उनका बुबा रामप्रसादले तनहुँको दुलेगौंडामा अर्कैको पसलमा काम गर्थे । दुलेगौंडामा त्यतिबेला विख्यात कपडा व्यवसायी बाबुलाल मल्लले रामप्रसादलाई आफ्नो पसलमा काम गर्न राखेका थिए ।

दुलेगौंडामा कपडाका साथै अन्य दैनिक खाद्यान्न समेत बाबुलालले विक्री वितरण गर्थे । बाबुलाललाई त्यतिबेला दुलेगौंडामा सबैले ‘बाबुलाल साहु’ भन्थे । त्यहीं काम गर्दागर्दे बाबुलालका बहिनीलाई रामप्रसादले विवाह गरे । त्यसपछि उनीहरु बाबुलालका व्यवसायिक साझेदार बनेका थिए ।

बतास समूहका अध्यक्ष आनन्दराज पनि यो कुरालाई नकार्दैनन् । बुबा रामप्रसादलाई दुलेगौंडाका साहु बाबुलालले थोरै सेयर दिएर काम लगाएको उनको दाबी छ । त्यसपछि बाबुलालका परिवार पोखरा आएर व्यवसाय गर्न थाले । अहिले पनि उनीहरुले पोखरामा ‘मल्ल इम्पोरियम’ भनेर कपडा पसल चलाएका छन् ।

आनन्दराज भने आफैंले दुख र मेहनत गरेर अहिलेको अवस्थामा आइपुगेको दाबी गर्छन् । २०३२ सालतिर पोखरास्थित गण्डकी बोर्डिङ स्कुल पढ्न पोखरा आएका आनन्दराजले २०४० सालमा एसएलसी दिए । त्यसपछि उनले व्यवसाय थालेको बताए ।

त्यतिबेला टेलिफोन सेवा अहिलेजस्तो सर्वसुलभ थिएन । मोबाइलको कल्पना त पर ! पोखराको पृथ्वीचोकमा आनन्दराजले एसएलसी लगत्तै करिब ५० हजार लगानीमा टेलिफोन सेवाको व्यवसाय थाले । पोखरादेखि काठमाडौं, विभिन्न सहर र विदेशमा फोन गर्न मान्छे लाइन लागेर बस्थे । उनका अनुसार त्यतिबेला पोखराभरि उनको जम्मा–जम्मी एक सय वटा ‘पब्लिक कम्युनिकेसन अफिस’ थिए ।

टेलिफोन सेवासँगै बतासले फोटोकपी मेसिन राखे । फोटोकपी मेसिनको मुल्य त्यतिबेला ४५ हजार थियो । मेसिन किन्न बतासले नेपाल बैंकबाट ३५ हजार ऋण लिनुपरेको बताए । टेलिफोन सेवाको व्यापारमा नाफा देखियो । अन्यत्र पनि बतासले टेलिफोन सेवा विस्तार गरे । ‘म एकदम लो प्रोफाइलको मान्छे हुँ,’ बतासले भने, ‘पुख्र्यौली सम्पत्तिले हामी धनि भएका होइनौं, जे छ, आफ्नै मेहनतले छ ।’

टेलिफोन सेवाको व्यवसायले हौसिएका बतासले चिप्लेढुङ्गामा फेन्सी पसल खोले । त्यतिबेला उनी आइकम भर्ना भइसकेका थिए । टेलिफोन सेवा जस्तो फेन्सी पसल चलेन । घाटा लाग्ने देखिए पछि उनले पसल बेचिदिए । फेन्सी पसल बन्द गरेर बतासले पोखरामै कपडा पसल खोले । तनहुँमा रहेका बुबालाई पोखरा बोलाए र कपडा पसलको जिम्मा लगाइदिए ।
२०४६ सालको राजनीतिक परिवर्तन पश्चात बतासले होटल चलाउन थाले । पृथ्वीचोकमा टेलिफोन सेवा राखेकै ठाउँको जग्गा खरिद गरेर घर बनाए र होटल आनन्द चलाउन थाले । २०४७ सालपछि दलका नेताहरुको पोखरा आउजाउ बढ्न थालेको थियो । प्राय सबैजसो नेता उनकै होटलका बास बस्थे ।

‘मेरो होटलमा नेताहरु मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी ओली सबै नेता बसेका छन्,’ उनले भने ।
त्यतिबेला होटल आनन्द १२ लाख रुपैयामा बनेको बतासले बताए । त्यतिबेला होटल बनाउन पैसा नपुगेर नेपाल बैंकबाट ७ लाख रपैया ऋण लिएका थिए । जुन अहिले हिसाब गर्ने हो भने ७ करोड बढी हुन आउने उनको अनुमान छ । होटलको रिसेप्सनमा बतास आफैं बस्थे । ग्राहकलाई आफैं कोठा देखाउन पुग्थे । उनले भने, ‘मैले होटलका गेष्टलाई कोठा देखाउनेदेखि आँगन सफा गर्ने काम आफैं गर्थे ।’

होटल चलाउँदा चलाउँदै बतासले पोखरामा मारुती गाडीको डिलर खुल्न लागेको थाहा पाए । उनले गाडीको डिलर राख्न पाए । त्यतिबेला मारुती गाडी नेपालमा अत्याधिक चल्यो । जसले बतासलाई अटोमोबाइलमा आफ्नो भविश्य देखे ।
मारुतीपछि पोखरामा उनले महेन्द्र गाडीको डिलर लिए । महेन्द्र गाडी पनि उनको आर्थिक हैसियत अझै मा िपु¥याइदियो । त्यसपछि फेरी टिभिएस कम्पनीका मोटरसाइकल र स्कुटरको डिलर लिए । पोखरामा कपडा, होटल र अटोमोबाइलमा करिब १२ वर्ष बिताएपछि बतास काठमाडौं हानिए । ‘पोखरा अलि सानो जस्तो लाग्यो, म त गरिखाने मान्छे,’ उनले भने, ‘व्यवसाय विस्तार गर्न आजभन्दा १४ बर्षअघि काठमाडौं आँए ।’
काठमाडौं पुगेर बतास हायर पर्चेच फाइनान्सिङ कम्पनी चलाए । कम्पनी राख्न लिएको कोठामा अगाडी कार्यालय राखे, पछाडि आफू सुत्न प्रयोग गरेको उनले बताए । उक्त कम्पनीले सवारी साधन खरिद गर्न चाहनेलाई ऋणको व्यवस्था मिलाउने काम गथ्र्यो ।

पोखरामा अटोमोबाइलमा काम गरेको अनुभवका आधारमा उनलाई मारुतीले काठमाडौंमा शोरुम राख्न दियो । बैंकबाट ऋण लिँदै लगानी बढाउँदै लगे । त्यसपछि काठमाडौंमै आइसर ट्रक र बसको नेपाल डिलर लिए । गाडीको व्यापार फस्टाउँदै थियो, फेरी बतासले फियाट कारको शोल्ड डिस्ट्रिब्युटर लिए ।

अटोमोबाइलबाट व्यवसायबाट मनग्गे नाफा कमाएका बतासले अन्यत्र पनि फणा फिजाउन थाले । अहिले पनि अटो मोबाइल व्यवसाय गरिरहेका बतासले विभिन्न १६ वटा कम्पनी खोलेर विविध क्षेत्रमा लगानी गरेका छन् । ‘४० सालदेखि यहाँसम्म आउन मलाई ३२ वर्ष लाग्यो, कसैको कुनै चिठ्ठा परेछैन,’ उनले भने, ‘कसैको दया छैन, माया छैन ।’

सामान्य परिवारका बतास यहाँसम्म आइपुग्न आफ्ना तीन भाइको एकता, मेहनत र इमान्दारिताले काम गरेको उनको दाबी छ । उनका माइलाभाई शान्ताराज बतास उनीसँगै काठमाडौंमा बसेर व्यवसाय हेर्छन् भने कान्छा भाइ विपेन्द्रराज बतास पोखरामा बस्छन् । उनका परिवारका सबै सदस्य अहिले व्यवसायमै आवद्ध रहेको बतासले बताए ।

अटो मोबाइलको व्यवसायमा रहँदा बतास अहिले जस्तो विवादित थिएनन् । काठमाडौंमा बसेर जब उनले राजनीतिक शक्तिसँग नजिकिए, त्यही शक्तिको दुरुपोग गर्दा विवादित हुन पुगेको उनलाई नजिकबाट चिनेका व्यवसायीहरुको भनाइ छ ।

बतासले खोलेका कम्पनीका उदेश्य पनि त्यस्तै विवादित खालकै छन् । जस्तो, ‘बि म्यानेजमेन्ट’ नामक कम्पनीको उद्देश्य जग्गा सस्तो भाडामा लिने र अर्कालाई महँगो भाडामा लगाउने छ ।
बतास समूहले व्यवसायिक फड्कोसँगै राजनीतिक सम्बन्ध पनि उच्च स्तरमा पु¥याएको छ । यसका पछाडि पोखराका दिवंगत नेता रवीन्द्र अधिकारीको साथ र सहयोग रहेको कतिपयको आशंका छ । उनले रवीन्द्र आफ्नो ‘क्लासमेट’ रहेको बताए ।

‘रविन्द्र अधिकारी मेरो क्लासमेट हो, विद्यार्थी राजनीति गर्दा देखि नै रविन्द्रसँग मेरो दोस्ती थियो,’ उनले भने, ‘रविन्द्र जस्तै धेरै एमाले, कांग्रेस र माओवादीसँग मेरो दोस्ती छ ।’
पोखरामा होटल आनन्द सञ्चालन गर्दादेखि नै बतासको शीर्ष नेतासँग चिनाजानी र सम्पर्क हुन थालेको थियो । आफूलाई साधारण उद्यमी बताउने बतासले एमालेका तत्कालिन नेता मदन भण्डारीको दासढुंगामा दुर्घटनामा परेको दिन बिहान आफ्नो होटलमा ब्रेकफास्ट खाएर गएको बताए ।

यस्तै, नेपाली कांग्रेसका हालका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा बतासले चलाएको होटल आनन्दमा सम्पर्क कार्यालय राखेका थिए । ‘मेरो होटलमा देउवाले २०५२ सालमा सम्पर्क कार्यालय चलाउँथे,’ उनले भने, ‘त्यो बेलादेखि चिनजान हो हाम्रो ।’

उद्योगी, व्यवसायीसँग नेताहरुको सम्पर्क हुनु गलत कुरा नभएको उनको भनाई छ । सबै मन्त्री, प्रधानमन्त्री र नेताहरुसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको उनले बताए । तर आफू भन्दा अरु व्यवसायीको नेताहरुसँग धेरै राम्रो सम्बन्ध रहेको उनको भनाई छ ।

आफू इमान्दार, सही कुरा बोल्ने भएकाले नै नेताहरुले पनि आफूलाई विश्वास गरेको बतासले दाबी गरे । ‘म राम्रो बोल्छु, सहि कुरा बोल्छु, देखेको कुरा बोल्छु,’ उनले भने, ‘म गलत थिए भने त नेताहरुले मलाई भेट नै दिनुहुन्थेन नि, नेताको पनि बुद्धि छ होला नि ।’

एमाले अध्यक्ष केपी ओलीसँग भने आफ्नो सामान्य चिनजान मात्र रहेको बतासले बताए । आफ्नो ससुराली झापाको भद्रपुर रहेको भन्दै उनले भने, ‘ओलीले मलाई राम्रोसँग चिन्नुहुन्छ, यो राम्रो मान्छे हो, कर्मशील मान्छे भनेर चिन्नुहुन्छ, उहाँले मलाई सम्मान गर्नुहुन्छ, म उहाँलाई अझ बढी सम्मान गर्छु ।’

नेताहरुसँगको सम्बन्धमा बतासले सबैभन्दा राम्रो सम्बन्ध प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँग रहेको खुलाए । उनले भने, ‘मेरो जति नजिकको सम्बन्ध शेरबहादुर देउवासँग हो, त्यति केपी ओलीसँग होइन ।’
बतास फाउन्डेसन वेबसाइडमा सल्लाहकारका रुपमा प्रधानमन्त्री पत्नी आर्जु राणा देउवाको नाम र तस्वीर हटाउन भुलेको भन्दै उनले आफ्नो बचाउ गरे । करिब १० वर्षअघि नै सल्लाहकारका रुपमा राणालाई आफूले प्रस्ताव गरेको र अनौपचारिक सल्लाहकार रहेको उनले बताए । ‘एउटा राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति एनजिओको सल्लाहकार हुन नहुने के छ र ?’ उनले भने, ‘प्रधानमन्त्री पत्नी त उहाँ ३ महिनाअघि मात्र हुनुभएको हो नि !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->