पोखरा/ एमाले कास्कीको जिल्ला अधिवेशन आज निर्वाचनको कार्यक्रममा प्रवेश गर्ने भएको छ । शुक्रबारबाट सुरु भएको १० औं अधिवेशन अन्तर्गत शुक्रबार उद्घाटनसहित प्रस्तुत प्रतिवेदनमाथिको छलफल शनिबार पनि नसकिएपछि निर्वाचनको कार्यक्रम पछाडि धकेलिएको हो ।
‘आज दिनभर अध्यक्षको राजनीतिक, सचिवको संगठनात्मक तथा आर्थिक विभाग प्रमुख आरपी शर्माको आर्थिक प्रतिवेदनमाथि छलफल भयो’, एमाले गण्डकीका उपसचिव रस्मी आचार्यले भने, ‘छलफल टुंगिएको छैन, प्रतिनिधिहरुको लागि आवासको व्यवस्था छैन, त्यसैले अधिवेशन लम्बिएको हो ।’
यता एमाले निर्वाचन समिति संयोजक सुरेन्द्र थापा मगरका अनुसार शनिबार साँझसम्म निर्वाचन समितिलाई मतदाताको अन्तिम नामावली औपचारिक रुपले दिइएको छैन । यद्यपि, ९१७ जना प्रतिनिधिको सूची भने निर्वाचन समितिमा आइसकेको छ ।‘हामी भोलि (आइतबार) ८ बजे मतदाता नामावली र निर्वाचन तालिका प्रकाशन गर्ने तयारीमा छौं’, उनले भने, ‘चुनाव नै हुने भए सोमबार होला ।’
यता, अधिवेशन लम्बिएसँगै विभिन्न पदका आकांक्षीहरुले प्रत्यक्ष भेटेर र सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणासँगै मत मागिरहेका छन् । अध्यक्षका मुख्य दावेदार हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ तथा सचिव दामोदर वैरागी दुबैले प्रचार तीव्र बनाएका छन् । उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले पनि हात जोडेरदेखि आफूले यसअघि निभाएको जिम्मेवारीसहित प्रचारात्मक पोस्टर टाँसेका छन् । एमालेमा ‘गुट’अन्त्य भएको भनिए पनि मनबहादुर र दामोदरको प्यानलबाट उम्मेदवार बन्ने तयारीमा रहेकाहरुले छुट्टाछुट्टै रुपले प्रचार गरेका छन् ।
सदस्यहरुले भने खासै प्रचार गरेका छैनन् । निर्वाचन समितिका संयोजक थापाका अनुसार विधान अनुसार यो अधिवेशनमा उम्मेदवार बन्नासाथ यसअघि उपल्लो वा माथिल्लो तहमा भएको पद स्वतः खारेज हुने प्रावधान रहेको छ । त्यसलै पनि जिल्ला कमिटी सदस्य वा अन्य पदका बाँकी आंकाक्षीहरु नखुलेको एमालेका एक नेताले बताए । ‘सहमतिको प्रयास भइरहेको छ,अहिले मनबहादुर र दामोदर कमरेडबीच नै प्रतिस्पर्धाको अवस्था देखिएको छ, बाहिर नभने पनि गुट नै निर्माण भएको छ’,एमालेका एक वडा कमिटी अध्यक्षले भने,‘कास्कीमा पनि चुनावै हुने अवस्था देखिएको छ ।’ उनका अनुसार बागलुङलगायत देशका विभिन्न जिल्लामा नेतृत्व छनोटको लागि चुनावै भएपछि कास्कीमा पनि त्यसको प्रभाव परेको हो ।





