स्याङ्जा/एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे‘पारस’ विजयी भएका छन् । प्रतिस्पर्धी संघीय सांसद नारायणप्रसाद मरासिनीलाई १८३ मतले हराउँदै उनी अध्यक्ष बनेका हुन् । मंगलबार सम्पन्न मतगणनाको परिणाम अनुसार गैरेले ४४० र मरासिनीले २५७ मत प्राप्त गरे ।
गैरेको राजनीतिक पृष्ठभूमि माओवादी हो । माओवादी केन्द्रभित्र रामबहादुर थापा ‘बादल’ पक्षीय रहेका गैरे फागुन २३ गते सर्वोच्चको फैसलापछि पनि बादलजस्तै एमालेमै बसिरहे । एमालेको १० औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गैरे नै माओवादी पृष्ठभूमिबाट आएका पहिलो जिल्ला अध्यक्ष हुन् । उमेरको हिसाबले पनि उनी सम्भवतः एमालेका सबैभन्दा कान्छा जिल्ला अध्यक्ष बनेका छन् । अधिवेशनबाट उपाध्यक्षमा कृष्ण खाणँ (निर्विरोध),सचिमा राजेन्द्र डुम्रे (३९४), उपसचिवमा विश्व पौडेल (३९५) र तारा शर्मा (३७३) मतका साथ निर्वाचित भए । निर्वाचित पदाधिकारीमा उपसचिव पौडेल मरासिनी प्यानलबाट र भने बाँकी सबै गैरे प्यानलका हुन् ।
२ प्यानल नै बनाएर निर्वाचनमा होमिएको एमालेको अधिबेशनमा गैरेलाई उपाध्यक्ष रामबहादुर थापा‘बादल’ तथा केन्द्रीय सचिव पद्माकुमारी अर्यालको समर्थन थियो । पार्टी उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव अर्यालले गैरेलाई सघाउँदा हिजोदेखि नै केपी ओली पक्षधर रहेका मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको मात्रै साथ रह्यो ।
माओबादीबाट मोहन वैद्य हुँदै फेरि रामबहादुर थापासँगै एमाले पुगेका गैरे पछिल्लो समय एमाले सचिव अर्यालको विश्वासपात्र बन्न पुगेका छन् । त्यही कारणले गर्दा उनी पुराना एमालेलाई पन्छ्याएर पार्टी संयोजक हुन पाए ।
गैरेमाथि माओवादी केन्द्रको संयोजक हुँदा नै पार्टी कमजोर बनाएको आरोप लाग्थ्यो । त्यसो त, पुराना एमालेहरुले सचिव पद्मालाई गैरे नेतृत्वमा आए एमाले पनि कमजोर जिकिर गर्दै आएका थिए । तर,पद्माले त्यो कुरा सुनिनन् । पद्ममाको कुरा नसुन्दा सचिव तथा आफ्ना विश्वासपात्र सुृधीरकुमार पौडेलको अध्यक्ष बन्ने महत्वाकांक्षा पूरा हुन पाएन । स्याङ्जामा पद्मा हावी हुँदा स्याङ्जा एमाले बचाउने व्यक्तिको रुपमा चिनिएका परासिनी भारी मतले पराजित भए ।
एमालेका एक नेताका अनुसार स्थानीय तह तथा प्रदेशको चुनाममा आफैले सहयोग गरेका बिरुवा अध्यक्ष चुनप्रसाद शर्मा, पुतलीबजार नगरपालिका मेयर सिमा क्षेत्री र प्रदेश सांसद मोहन रेग्मी ‘बलेको आगो ताप्न’ हिँडेपछि मरासिनी पराजित भएका हुन् । उनले गैरेको जितसँगै एमालेमा गुठवाद र धनवादको राजनीति हावी भएको टिप्पणी पनि गरे । ११ वटा पालिकाबाट आठौ अधिवेशनको लागि ७१० जना प्रतिनिधि छानिएकोमा ६९९ जनाले मतदान गरेका थिए ।





