बागलुङ/बागलुङ नगरपालिकाले विद्यालय कर्मचारीलाई तलब खुवाउने र वीरेन्द्र ऐश्वर्य पार्क निर्माणमा बजेट चाहिने भन्दै ठूलो रकम रकमान्तरण गरेको छ । रकमान्तरण गरिएको रकममध्ये कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषको बजेटसमेत छ । नगरपालिकाको दशौं नगरसभाले उक्त रकमान्तरणको प्रस्ताव पास गरेको हो ।
उक्त रकमान्तरण गरेको पैसाले सडक नियमित सञ्चालन गर्न भन्दै डोजर अपरेटरको पारिश्रमिक, नगरविकास कोषको साँवा ब्याज भुक्तानी र पार्क निर्माणमा लगाउने भएको हो । दशौं नगरसभाबाट नगरपालिकाले १ करोड ९८ लाख रुपैयाँ रकमान्तरण गरेको हो ।
केही विरोध र असहमतिका बीच नगरप्रमुख जनकराज पौडेलले कारण समेत बताएपछि रकमान्तरण भएको लेखा समितिका संयोजक कमल खड्काले बताए । ‘कतिपय विषयमा रकमान्तरण नगरौं भनेकै हो, तर असहमतिबीच पनि ध्वनी मतले पारित भएको छ,’ खड्काले भने, ‘कोरोना संक्रमण बढेकोले यतिबेला रकम जोगाएर राख्नुपर्ने भनेका थियौं ।’ नगरपालिकाले गाडी खरिदका लागि बजेट विनियोजन गरेकोले नगर्न पनि सुझाव दिएको उनले बताए ।
निर्माणाधीन वीरेन्द्र ऐश्वर्य पार्क व्यवस्थापनका लागि ठेक्का सम्झौता भइसकेकोले रकम थप्न नहुने पनि सभाका सदस्यले सुझाव दिएका थिए । नगरपालिकाले भने ४० लाख पार्क व्यवस्थापन भनेर रकमान्तरण गरेको हो ।
लेखा समिति र नगरसभाका सदस्यले ठेकेदारलाई रकम दिन खोजेको आरोपसमेत लगाए । नगरप्रमुख पौडेलले भने महंगी बढेको, तीन वर्षदेखि जिल्ला दररेट समायोजन नभएकोले उक्त बजेट खर्चनु पर्ने दाबी गरे । उक्त रकम ठेकेदारलाई थप गर्ने हो वा नगरपालिकाले खर्चने हो उल्लेख छैन ।
कोरोना नियन्त्रणमा ८६ लाख बजेट रहेकोमा ६० लाख रकम अन्यत्र पठाउने निर्णय नगरसभाले गरेको हो । विपत् व्यवस्थापन शीर्षकमा रहेको ७४ लाख रुपैयाँबाट ३० लाख रकम घटाइएको हो ।
बागलुङ बसपार्क अझै सञ्चालनमा नआएपछि राजश्व संकलन नहुँदाको घाटा पूर्ति गर्न पनि अत्यावश्यक सेवाबाटै रकम घटाइएको लेखा समितिका संयोजक कमल खड्काले बताए ।
‘बसपार्क संचालन गरेको भए त्यहींबाट राजश्व उठ्थ्यो त्यो रकम नगरविकास कोषमा व्याज तिर्न सकिन्थ्यो, तर बसपार्क बनाएर चलाउने प्रयास भएन,’ खड्काले भने, ‘अझैपनि कहिले बनेर सञ्चालनमा आउने हो थाहा छैन ।’ पौडेलले भने पहँुचमार्ग बनाउन ठेक्का गइसकेको भन्दै छिटै सञ्चालन हुने बताए ।
नगरपालिकाले निर्माण गर्ने भनेको औद्योगिक ग्राम, वन्यजन्तु पार्क र कृषि क्याम्पस जस्ता विषय भने दशौं नगरसभा सकिँदा पनि सञ्चालनमा आउन सकेनन् । ती विषयमा बजेट समेत विनियोजन भएनन् । नगर प्रमुखले पहिलो वर्ष नै घोषणा गरेको बहुउद्देश्यीय सभाहल निर्माणको विषय पनि अहिले हराएको छ ।
केही समय बजेट परेको, बनाउने लगायतका विषयमा राजनीतिक नेतृत्वमा दोहोरी समेत थियो । नियमित परिषदको अन्तिम भेला भएपनि आफ्ना लक्ष्य र उद्देश्य प्राप्तिमा भएका काम र गर्न नसकेका क्रियाकलापबारे भने समीक्षा केही पनि नभएको नगरसभाका सदस्यहरुले टिप्पणी गरे । ‘हामीलाई बोलाइयो, उनीहरुको स्वार्थका कुरामा ताली पिट्न लगाए, सभा सकिएर फर्कियौं,’ एक वडा सदस्यले भने, ‘हामी आउनु र नआउनुको कुरै नहुने रहेछ ।’





