बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालय नाटक महोत्सव छनोट सकियो

विद्यालय नाटक महोत्सव छनोट सकियो


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७८, मंगलबार

पोखरा/पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणको लागि १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो । छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
‘नाटक छनोटका लागि पौष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । यस अगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतीका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको हो,’ उनले भने ।
नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन छन् । उनीहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गरेका हुन् ।
अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक छन् ।
छनोट भएका नाटक मञ्चन हुने मिति भने पछाडि सरेको छ । यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने भनिएकोमा कोरोना संक्रमण पुनः बढेकोले सारिएको हो । परिस्थिती सहज हुने वित्तिकै नयाँ मिति तय हुने आयोजक पोखरा थिएटरले जनाएको छ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->