पोखरा/तनहुँको व्यास नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशबीच द्विपक्षीय समझदारी भएको छ । छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत तथा व्यवसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारीमा आवद्ध गराउनलाई नगरपालिका र सिटिइभिटीबीच सोमबार द्विपक्षीय समझदारी भएको हो ।
व्यास नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र सिटिइभिटीको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्यले हस्ताक्षर गरेका छन् ।समझदारीको अवधि २०८० साल असार मसान्त सम्म कायम रहनेछ । दुवै पक्षको आपसी सहमतिमा आवश्यक परिमार्जन सहित पुनः नवीकरण गर्न सकिनेछ बताइएको छ ।
मागमा आधारित छोटो अवधिको सीपमूलक तालिम प्रदान गरी सीपयुक्त जनशक्ति उत्पादन गर्न द्विपक्षीय समझदारी गरिएको सिटिइभिटी गण्डकीका निर्देशक आर्चायले बताए । श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता, युवाहरूको चाहना र क्षमता अनुसारका प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गरिने उनको भनाइछ ।
व्यास नगरपालिकाले विभिन्न समयमा युवालाई सीपमूलक तालिम प्रदान गर्दै आएको भएतापनि यसको प्रभावकारी न्युन हुँदा अपेक्षित नतिजा प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । व्यास नगरपालिकाले पहिलो चरणमा कुक, पञ्चेबाजा, मोवाइल मर्मत, सिलाइ कटाइ लगायतका तालिम सञ्चालन गर्न कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेको छ ।





