बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फूलको थुंगो पनि पाएनन् शहीदले !

फूलको थुंगो पनि पाएनन् शहीदले !

‘शहीदको योगदान नै नसम्झने नेताहरु कसरी नैतिवान बन्लान् र ?’


  • विनोद ढुंगाना
  • माघ १७ २०७८, सोमबार

तनहुँ/ पृथ्वी राजमार्गको छेउैमा शहीद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा शहीद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको शालिक ठड्याइएको छ । ढुंगामा कुँदिएको शालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ । ढुंगा विछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन् ।

आइतबार देशभर शहीद दिवस मनाइएको छ । देश परिवर्तनका निम्ति क्रान्तिमा होमिएर प्राणको आहुति दिएका शहीदहरुको शालिकमा माल्यार्पण गर्दै योगदानको चर्चा गरेर विभिन्न स्थानमा दिवस मनाइयो । तर, राजमार्गको छेउैमा रहेको कोत्रेको शहीद पार्कमा भने केही कार्यक्रम भएन् ।

स्थानीय सरकार, स्थानीयवासी, राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरु कसैको नजर परेन् । र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा लागेर कोत्रे बजारमा २०१८ सालमा शहादत प्राप्त गरेका ती शहीदहरुको शालिकले शहीद दिवसको दिनमा पनि एउटा फूलको थुंगो पाएन् । शालिकमा माल्यार्पण भएन् । शहीद दिवसको दिनलाई मात्रै भएपनि पार्क परिसर सरसफाई गरेर चिटिक्क बनाउन सकेनन् –कोत्रेवासीले ।

शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा पनि पृथ्वी राजमार्गको छेउमा जनयुद्धका शहीदहरुको सम्झनामा स्मृति पार्क बनाइएको छ । पार्कमा जनयुद्धका शहीदको बलिदानीलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । त्यहीको मुर्तिको छत्रछायाँमा बसेर आइतबार एक घण्टा शहीदको स्मरण गर्नलाई पनि शहीद स्मृति पार्क निर्माण समितिले कन्जुस्याँइ ग¥यो ।

२०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको शालिकले पनि शहीद दिवसको दिन फूलको थुंगो पाएन् । शुक्लागण्डकी नगरपालिका–८ पाटनमा उनको स्मृतिमा पार्क त बनाइएको छ तर पार्कमा राखिएको शालिकले फुलको थुंगो समेत नपाएको बेला उनको योगदानको चर्चा हुने भएन नै ।

यि त केवल प्रतिनिधि शहीदका शालिक हुन् । वर्षभरी वेवास्ता गरेपनि कम्तिमा एकदिन शहीद दिवसमा समेत शहीदका शालिकले फूलको थुंगो पाउन मुस्किल देखिएको छ । देशभर शहीद दिवस मनाइरहँदा शहीदका शालिकले एउटा फूलको थुंगो समेत नपाउनुले शहीदको योगदानको अपमान भएको महशुस गर्छन्,शहीद परिवार ।

शहिद कृष्णप्रसाद पौडेलका पुत्र हिमाल पौडेल शहीदलाई एक दिन मात्र नभइ हरेक दिन सम्झनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘शहिदलाई सम्झेर मात्र हुदैन् । शहिदले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ । के सपना देखेर प्राणको आहुति दिएका थिए ?के प्राप्ती भइरहेको छ ? राजनीतिक दलहरुले मूल्यांकन गर्न सक्नुपर्छ ।’ शहिदको सपनाका कुरा मात्र गरेर हुदैन व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ ।
देशमा तीन तहका सरकार छन् । विभिन्न शासन व्यवस्था परिर्वतनका भएर संघीयता कार्यन्वयनमा आएको छ । त्यसका लागि हजारौँ शहीद बनेको भुलेका छन् तीनै तहका सरकारले ।
शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले कोरोना संक्रमणका कारण कार्यक्रम गरेर शहीद दिवस मनाउन नपाएको बताए । उनले भने,‘हामीले शहीदको योगदान बिर्सन्न हुदैन् । एक दिन मात्रै हैन् हरेक दिन स्मरण गनुपर्छ । तर यसपाली कोरोना कहरले गर्दा कार्यक्रम गरेर मनाउन पाएनौँ’, उनले भने ।

व्यास नगरपालिका–८ पुलिमराङ अर्थात् शहीद गाउँमा भने शहीदको योगदानको चर्चा गर्दैै दिवस मनाइएको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको क्रान्तिमा होमिएर पुलिमराङका ६ जनाले शहादत प्राप्त गरेका थिए । आइतबार व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने लगायतका जनप्रतिनिधी पुलिमराङस्थित शहीद स्मारक पार्कमा पुगेर शहीदको शालीकमा माल्यर्पण गरे ।

शहीदका गाउँलेलाई सम्बोधनद गर्दै मेयर न्यौपानेले गुरुयोजना अनुुसार शहीद स्मृति पार्क निर्माणलाई सहयोग गर्ने बताए । पुलिमराङ चिनाउन व्यासले बर्षेनी अल्ट्रा म्याराथन गर्दै आइरहेको थियो । यसपाली कोरोना कहरले हुन नपाएको म्याराथन अवस्था सामान्य भएमा फागुन ७ गते प्रजातन्त्र दिवसमा गर्ने उनको प्रतिबद्धता छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->