शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कास्कीमा किसान आफैले तोके खुल्ला दूधको मूल्य

कास्कीमा किसान आफैले तोके खुल्ला दूधको मूल्य

कास्कीका दूध उत्पादक किसानहरुले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्यबृद्धि गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७८, बुधबार

पोखरा/ सरकारले बढाएको दुधको मुल्य अवैज्ञानिक र किसानको हित विपरीत भएको जिकिरसहित उनीहरुले मूल्यबृद्धिको घोषणा गरेका हुन् । किसानहरुको घोषणा अनुसार कास्कीमा फागुन १ गतेदेखि गरी जारी गरिएको मुल्य अनुसार भैंसीको दूध प्रतिलिटर १३० रुपैयाँ, गाईको दूध प्रतिलिटर एक सय, दही १४०, पनिर प्रतिकेजी ८सय, घ्यू प्रतिलिटर १ हजार २ सय र नौनी प्रतिकेजी १ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको साविक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो । यसअघि सरकारले एक लिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा कायम गरेको थियो । सरकारको घोषणा अनुसार हाल एक लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ । समर्थन मूल्य यति भएपनि दुग्ध विकास संस्थानले खुला दूधको मूल्य भने ७६ रुपैयाँ तोकेको थियो ।।अर्थात् किसानबाट किनेको दूध डेरीहरुले उपभोक्तालाई ७६ रुपैयाँमा बेच्थे । उपभोक्ताले भने त्योभन्दा बढी मूल्यमा दूध किन्नुपर्ने बाध्यता छ । किसानबाट ५२ रुपैयाँ ५२ पैसामा किनेर ७६ रुपैयाँमा बेच्दा पनि डेरीलाई ३० रुपैयाँ ४८ पैसा फाइदा हुन्थ्यो । सरकारले हाल बढाएको मूल्य अनुसार दूधमा बाक्लो पदार्थ ८ र फ्याट ४ प्रतिशत हुनैपर्छ । यसअघि सो मात्रा क्रमशः ३ र ८ प्रतिशत थियो ।
यसअघि नै किसानहरुले दूधमा १० रुपैयाँ मूल्यबृद्धि गर्न सरकारलाई सुझाव दिएका थिए ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाजले दूघको मूल्य १० रुपैयाँ बढाउन सुझाव दिइएको थियो । समाजले आफ्नो सुझाव कार्यान्वयन नभएकोमा गुनासोमात्रै गरेको छैन, सरकारले किसानमारा निर्णय गरेको आरोप पनि लगाएको छ ।
यही परिदृुष्यमा राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल कास्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै दूध तथा दुग्धजन्य पदार्थमा १० रुपैयाँका दरले वृद्धि भएको घोषणा गरेको हो । समाजका अध्यक्ष दीपक तिमिल्सिनाले सरकारले एकातिर दूधको र अर्कोतिर चोकर तथा परालमा मूल्यवृद्धि गराएर किसानलाई मारमा पारेको बताए । राज्यलाई यसअघि नै १० रुपैयाँका दरले भाउ बढाउन सिफारिस भएपनि घटाएर ६.५२ रुपैँयाका दरले तोकेको उनले सुनाए । ‘राज्यले माग सुनुवाइ गरेजस्तो त ग¥यो तर हामी किसानलाई भने फेरि मर्कामा पारेरै छाड्यो’, उनले भने,‘पहिला ७० हजार रुपैँयासम्म पर्ने १ ट्रक परालको मूल्य अहिले ७५ हजारभन्दा बढी पुगिसक्यो । ४० हजारको चोकर ४५ हजार पुगिसक्यो । आखिर ती बस्तु किन्दा हामी त मारमा नै प¥याँै नि ।’
कास्कीमा दूध उत्पादनको अवस्था सन्तोषजनक रहेपनि उचित मूल्य नपाउँदा यो पेशामा लाग्ने किसानहरु निरुत्साहित भएको जिकिर पनि गरे ।

अर्का किसान सरोजरमण अधिकारीले नक्कली किसानका कारण सक्कली किसान मारमा परेको गुनासो सुनाए । कृषकलाई ३ प्रतिशत ब्याजदरमा अनुदान दिइने भनिए पनि त्यो ऋण वास्तविक किसानले पाउन नसकेको उनले जिकिर गरे । ‘कृषिको अनुदानमा कर्मचारीतन्त्रको हावी भएको छ । उनीहरुले आफ्ना मान्छेलाई नै फार्म खोल्न लगाएर अनुदान दिँदै आइरहेका छन्’, उनले भने,‘ कृषकको सम्मान गर्ने र स्वरोजगार बनाउने हो भने राज्यले अनुदान होइन बरु ३ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गरिदिए हुन्छ । बास्तविक किसानले त राहत पाउँछन ।’ उनले कृषि निर्देशनालयले साँचो तथ्याङ्क नभइ झुटो तथ्याङ्क देखाउने गरेको बताए ।

कास्कीमा खुल्ला दुध दैनिक रुपमा २३ हजार लिटर उत्पादन र बिक्री हुने गरेको छ । यस्तै सहकारी अन्तर्गत १४ लिटर र १० हजार लिटर आयात हुने गरेको छ । कास्की दूधमा आत्मनिर्भर भने छैन । यहाँ दैनिक कास्कीमा ४९ लिटरभन्दा बढी दूधको माग छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->