शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीका १२ कार्यालयसहित कर्मचारी पुरस्कृत

गण्डकीका १२ कार्यालयसहित कर्मचारी पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७८, शुक्रबार

पोखरा/ गण्डकी सरकार स्थापनाको चौथो वार्षिकोत्सवमा प्रदेश मातहतका १२ वटा कार्यालयसहित कर्मचारी पुरस्कृत भएका छन् । प्रदेशस्तर र जिल्लास्तरमा छनौट गरेर उत्कृष्ठ कार्यालय र कर्मचारी पुरस्कृत गरिएको प्रदेश सरकारले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा नमूना कार्यालय छनौट मूल्याङ्कनमा सबैभन्दा बढी अंक पाएर डिभिजन वन कार्यालय तनहूँ सर्वोत्कृष्ठ नमूना कार्यालय छनोट भएको छ । पुरस्कृत हुने अन्य कार्यालयहरुमा प्रदेशस्तरका पूर्वाधार विकास निर्देशनालय रहेको छ । जिल्लास्तरका कार्यालयहरुमा नवलपुर र स्याङ्जास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पताल, गोरखाको पूर्वाधार विकास कार्यालय, लमजुङ र पर्वतको डिभिजन वन कार्यालय, मनाङको खानेपानी, जलस्रोत तथा सिँचाई विकास सवडिभिजन कार्यालय, बागलुङस्थित धौलागिरी आयुर्वेद औषधालय रहेको छ । यस्तै, म्याग्दीको स्वास्थ्य कार्यालय र मुस्ताङको पूर्वाधार विकास कार्यालयले पनि नमुना कार्यालयको पुरस्कार पाएको छ ।

गण्डकी प्रदेशमा कार्यरत निजामति सेवा पुरस्कारसम्बन्धी कार्यविधि अनुसार १० जनाले विशेष प्रोत्साहन पुरस्कार पाएका छन् । पुरस्कार पाउनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक दिवेश लोहनी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका हरिदत्त पौडेल, संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख विकास गौचन, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, अर्थ मन्त्रालयका अधिकृतस्तर आठौं तहका कर्मचारी गीता घिमिरे रहेका छन् । यस्तै, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका अधिकृतस्तर सातौं तहका कर्मचारी प्रभु सिग्देल, स्वास्थ्य कार्यालय मनाङका खोप अधिकृत बद्रिराज आचार्य, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनाल, भौतिक पूर्वाधार मन्त्रालयका कम्प्युटर अधिकृत केदार सापकोटा र सशस्त्र प्रहरी गण गुल्म नम्बर १ पोखराका प्रहरी सहायक निरीक्षक रविन पोखरेल रहेका छन् ।

यस्तै सर्वोत्कृष्ठ प्रदेश निजामति सेवा कर्मचारी पुरस्कार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले पाएका छन् । उत्कृष्ठ प्रदेश निजामति कर्मचारी पुरस्कार मुख्यमन्त्री कार्यालयका उपसचिव रामेश्वर अर्याल र उर्जा मन्त्रालयका सिडिआई प्रेमप्रसाद डोटेलले पाएका छन् । प्रदेश सरकारले प्रदेश निजामति सेवा पुरस्कारबाट १७ जना, प्रोत्साहन पुरस्कार १६ जनालाई पुरस्कृत गरेको छ ।

धौलागिरी आयुर्वेद औषधालय उत्कृष्ट

उत्कृष्ट कार्यालय घोषणा भएसँगै धौलागिरी औषधालयका प्रमुख सरोजकुमार यादवले पुरस्कारले उत्साहित भएको प्रतिक्रिया दिए ।
‘बागलुङमा हामी उत्कृष्ट भएका छौं, मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार कार्यालय पुरस्कृत हुनेछ’, औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले भने ‘यसअघि पनि औषधालय गण्डकी प्रदेशमै उत्कृष्ट काम गर्ने कार्यालय बनेको थियो ।’
प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगति लगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्न गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । औषधालयले कोरोना महामारीका बेला आर्युवेदक उपचार तथा योग र साधनामा उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका बिभिन्न संघ संस्थासँग सहकार्य गरेर योग शिविरहरु सञ्चालन गरेको थियो । कोभिडका बिरामीका लागि आईसोलेसन कक्ष र घर घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।

औषधालय प्रमुख रायलाई निजामति पुरस्कार

गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोज कुमार राय छनोट भएका छन् । स्थापना दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १३ जना कर्मचारी छनोट हुँदा राय पनि पुरस्कारका लागि छनोट भएका हुन् ।
प्रदेश सरकारले सर्वोत्कृष्ट प्रदेश निजामती सेवा कर्मचारी पुरस्कार एक जनालाई, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार दुई जनालाई र प्रदेश निजामती सेवा पुरस्कार १३ जनालाई प्रदान गर्ने गरेको छ । बागलुङबाट पुरस्कारका लागि छनोट हुन राय एक्ला कर्मचारी हुन् ।

कर्मको कदर

गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेसँगै जनस्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले थप जिम्मेवारी थपिएको बताएका छन् ।
‘हामीलाई थप जिम्मेवारी थपिएको छ’,उनले भने, अझै उत्कृष्ट काम गर्नेछौं,जल्लाका सबै निकायहरुको सहयोगमा यो सम्भव भएको हो ।’ प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको बताए ।

उनले जिल्लाभरका स्वास्थ्यकर्मीको योगदान र सक्रियताको सधँै सम्झना हुने बताए । कार्यालयले जिल्लामा कोरोना महामारीका बेला उत्कृष्ट कार्य गर्दै आएको थियो । खासगरी खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेको जनाएको सो कार्यालयले स्थानीय तह र स्वास्थ्य संस्थामा समन्वय गर्नाका साथै खोपको भ्याक्सिन, औषधि, औजार र उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन, पृष्ठपोषणलगायत कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->