शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

रवीन्द्रमाथि लगाइएको भ्रष्टाचार प्रमाणित होस् कारवाहीभोग्न तयार छु : सांसद विद्या

रवीन्द्रमाथि लगाइएको भ्रष्टाचार प्रमाणित होस् कारवाहीभोग्न तयार छु : सांसद विद्या

चर्चित ‘वाइडबडी’प्रकरणसँग जोडेर उनीमाथि मौखिक रुपमा भएका टिप्पणीप्रति विद्याले चित्त दुखाएकी हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ सांसद विद्या भट्टराईले पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।
रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवसको अवसरमा पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया विषयक’ अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले आरोप झुटो र तथ्यहीन भएको बताइन् । स्वर्गीय रवीन्द्रकी धर्मपत्नीसमेत रहेकी उनले तथ्यहीन आरोप लगाउँदै कुशल राजनीति गर्ने नेतामाथि कालो दाग लगाउने काम भएकोमा आपत्ति पनि जनाइन ।

‘रवीन्द्र अधिकारी भ्रष्टाचारमा मुछिएको कुरामा परिवार पनि आउन सक्छ भन्ने जुन कुरा आएको छ र रवीन्द्र कस्ता व्यक्ति भन्ने सबैलाई थाहा छ’, उनले भनिन्‘ आरोप लगाउनेले प्रमाणित गरोस् । गल्ती गरे कारवाही भोग्न तयार छौँ । आरोप खण्डित भैसकेको छ । अब उत्तर दिनुभन्दा पनि आरोप निराधार हो भन्ने देखाउनुपर्ने भएको छ ।’ उनले यस्ता अनर्गल आरोपहरुबारे आफ्नो नभएर सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सुनाइन् । पहिला–पहिला समाजमा लगाइने आरोपको प्रचलन अहिले राजनीतिमा सरेको बताउँदै यसले राजनीतिलाई हेर्ने दृष्टिकोण गलत बन्दै गएको पनि उनको टिप्पणी थियो । उनले रवीन्द्रलाई विरोध र नकारात्मकभन्दा पनि सकारात्मक परिवर्तन सम्भव छ ठान्ने व्यक्तिको रुपमा स्मरण गरिन् ।

तीन वर्षअघि २०७५ साल पुसमा नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा ‘वाइडबडी’ जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेर भ्रष्टाचारमा संलग्न देखिएका पदाधिकारीलाई कार्वाहीको सिफारिस गरेको गरेको थियो ।

उपसमितिले अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्वपर्यटनमन्त्री जीतेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो । अधिकारी पर्यटनमन्त्री भएपछि दुई किस्ताको रकम भुक्तानी पठाइएको थियो । अधिकारीले महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । भुक्तानीबारे छानविन गर्न खरिद प्रक्रियामा संलग्नहरूकै समिति
बनाएको पनि उपसमितिले औंल्याएको छ । आरोप लागेको ३ महिना पश्चात फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । कास्कीका लोकप्रिय नेता अधिकारीको निधनपछि पनि बेलाबेला उनीमाथि त्यही प्रतिवेदनको हवाला दिँदै मौखिक रुपमा विभिन्न टिकाटिप्पणी गर्ने गरिन्छ ।

स्व. अधिकारीको स्मृतिमा प्रतिष्ठानले पोखरामा ३ दिन विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले रवीन्द्र लोकप्रिय र विकासप्रेमी नेता रहेको बताएका थिए । उनीहरुले कास्कीले अब रवीन्द्रजस्तो नेता नपाउने बताएका थिए । साथै प्रतिष्ठानले बैशाखमा रवीन्द्र स्मृति पत्रकारीता पुरस्कारकोसमेत स्थापना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->