बागलुङ/ जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरप्रमुख इन्द्रराज पौडेलले प्रशासनिक भवनको एक समारोहबीच शिलान्याश गरेका हुन् ।
आफ्नो कार्यकालमा भवनको शिलान्यास भएको र अबका जनप्रतिनिधिले भवनलाई पुर्णता दिने नगरप्रमुख पौडेलले आशा व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख पौडेल, उपप्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नगरपालिकाका कर्मचारीसहित वडाध्यक्ष उपस्थिति थिए । प्रशासनिक भवन निर्माण भएपछि नगरको कार्यसम्पादनमा सहज हुने पौठेलले बताए ।
रविना, प्राकृतिक जुगल जेभीले ८ करोड, १७ लाख ६५ हजार ८२ रुपैयाँमा भवन निर्माणको काम थालेको हो । २०८१ साल असार मसान्तसम्म भवन निर्माण गर्नेगरी माघ २१ गते ठेक्का सम्झौता गरिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए ।
करिब ३ बर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले ४ तलाको ४२ कोठे भवन निर्माण गर्नेछ । जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारको ठेउलेखोला र टिमुर खोलाको दोभानमा आफ्नै प्रशासनिक भवन बनाउन लागेको हो ।





