बागलुङ/गत बर्षात्मा पहिरो खसेर अबरुद्ध भएको मालढुंगा–कुश्मीसेरा सडकको गलुवामा अहिले अस्थायी सडक बनाइएको छ ।
यो पहिरोले कुश्मीसेरा सडकको २ वटा घुम्तीसहित कालीगण्डकी करिडोरसमेत बगाएको थियो । पहिरोले तीन महिनासम्म सडक अबरुद्ध भयो । दक्षिण बागलुङबासीले बर्षात्भर सास्ती खेपे । अहिले पनि सडक गतिलो छैन । अस्थायी ट्रयाकबाट यातायात संचालन भैरहेको छ ।
हिउँद सकिएर बर्षात् लाग्ने समय भैसक्यो । यो सडक बन्ने सुरसार छैन । कसले बनाउने भन्नेसमेत यकिन हुन नसकेको स्थानीयले गुनासो गरे । ‘यो पहिरो नियन्त्रण गर्न नसके बर्षात्मा हामीले खाद्यान्नको पनि अभाव झेल्नुपर्ने संभावना छ’ जैमिनी नगरपालिका–१ का अध्यक्ष भुपेन्द्र थापाले भने, ‘सडक बनाउने बिषयमा कसैको चासो छैन, सरोकारवालाले वास्ता नगर्दा बर्षात्मा दुःख पाइने अबस्था भैसक्यो ।’
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले सडक विभागसम्म जानकारी पु¥याएको बताए । हाम्रो पहुँचभन्दा बाहिरको कुरा भयो, धेरै ठाउँमा भनेका छौं, लिखितै पनि जानकारी पुगेको छ, तर कसले बनाउने भन्ने सुरसार छैन’ पौडेलले भने, ‘दक्षिण बागलुङको लाइफलाइन एउटै पहरोले अबरुद्ध हुने भयो ।’ यो सडक अबरुद्ध भएमा अत्यावस्यक सेवाका लागि सडक यातायाट टुट्ने उनले बताए ।
गत बर्षनै पूर्वाधार विकास कार्यालयले यो सडक बनाउन २ करोड ५० लाख खर्च लाग्ने प्रारम्भिक स्टीमेट गरेको थियो । तर त्यसका लागि अहिलेसम्म बजेटको सुनिश्चितता भएको छैन । ‘मैले धेरै पटक मन्त्रीज्यूदेखि सांसद र विभागीय रुपमा पनि कुरा गरिरहेको छु, तर केही सुनिश्चित भएको छैन’ कार्यालयका प्रमुख गणेश सुवेदीले भने, ‘तत्काल बजेट लगेर काम नगरे बर्षात्मा ठूलो दुर्घटना हुन सक्ने खतरा छ ।’ सडक ओभानो छउन्जेल कसैको ध्यान नगएको उनले टिप्पणी गरे । गत दशैमा एकतर्फी सवारी संचालनका लागि बागलुङ नगरपालिकाले २० लाख लगानी गरेर अस्थायी ट्रयाक बनाएको थियो ।
त्यसका लागि गण्डकी प्रदेश सरकारले पहिरो नियन्त्रणका लागि जम्मा २ लाख रकम विनियोजन गरेकोले त्यो बजेटको कुनै अर्थ नभएको कार्यालयले बताएपछि रकमान्तणको समयमा बजेट दिने आश्वसन पाएको सुवेदीले बताए । अहिले पनि यो सडकमा सवारी साधन जोखिम मोलेर गुडेका छन् ।
झण्डै ५ सय मीटर चौडा र १ किमी लामो पहिरो खस्दा यहाँका ३ वटा घुम्ती बगेको छ । कालीगण्डकी करिडोर पनि पहिरोले क्षतविक्षत छ । ‘रकम खर्चेर मात्र पनि हुँदैन, यो सडकमा दिगो व्यवस्थापनका लागि भूर्गभबिदले अध्ययन गरेर पुन निर्माण गर्नुपर्छ’ सुवेदीले भने, ‘त्यसका लागि राम्रो अध्ययन गरेर काम थाल्नुपर्छ ।’ तर अहिलेसम्म यो सडक बारे कोहीपनि चिन्तित नभएको उनले बताए ।
राष्ट्रिय स्तरबाहेक अन्य सडक प्रदेश सरकारले हेर्ने भन्ने नीति छ । जिल्ला तहका कुन सडक प्रदेशमा पर्छन् भन्ने यकिन नभएकोले यो पहिरोमा कुनैपनि निकाय गम्भिर नबनेको बागलुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए । ‘हामीले तत्काल उद्दारका लागि २० लाख खर्चियौं, तर जिम्मा लिएका सरकारले केही गरेका छैनन्’ उनले भने, ‘तत्काल काम गर्न सबैको ध्यानाकर्षण हुनुपर्छ ।’
गत बैशाखमा यो सडकखण्ड कालोपत्रे भएको थियो । पहिरो नियन्त्रण गर्न नसक्दा सडक छियाछिया भएको छ । एक निर्वाचन एक सडक आयोजनामा पनि यो सडक सूचिकृत छ । कुश्मीसेरादेखि बरेङसम्मकै सडक आयोजनामा परेपनि बजेट विनियोजनका हिसाबले बेवास्ता भएको सुवेदीको गुनासो छ ।





