तनहुँ/ समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिएपनि घरदेखी घाटसम्मको लैंगिक विभेद हट्न सकिरहेको छैन् । घरदेखि घाटसम्मको लैंगिक विभेदलाई हटाउने अभियानमा छन् तनहुँका महिलाहरु । विगत छ बर्षदेखी सामाजिक कुरितीको जालो तोड्दै छन् उनीहरु ।
प्राय मृतकको शव पुरुषले नै बोक्ने सामाजिक परम्परा छ । अपवाद बाहेक शव बोक्नेदेखि दाहसंस्कारको कर्ममा महिलालाई सहभागी गराउन नचाहाने सामजिक परिवेशमा कुरितीको जालोलाई तोड्दैछन् जिल्लाको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सञ्चालक महिलाहरु ।
महिलाले मात्रै आश्रम सञ्चालन गरेका त छ नै । आश्रममा आश्रय लिएका ज्येष्ठ नागरिकको मृत्यु भएपछि शव बोक्नेदेखि सेतीमादी शवदहस्थलसम्म पु¥याएर दागबत्ती दिने काममा आश्रमका सञ्चालक महिलाहरु नै सहभागी हुन्छन् ।
आश्रमका सञ्चालक महिलाहरुले सामाजिक परम्परालाई चुनौती दिँदै लैंगिक विभेदको अन्त्य गर्न जुटिरहेका छन् । १ पुस २०७० सालदेखी आश्रम सञ्चालनमा ल्याईएको हो । आश्रम सञ्चालनमा आएपछि आश्रित आमा बुवाको निधन हुदाँ काँध हालेर शव बोक्नेदेखी दागबत्ती दिने काम सञ्चालक महिलाहरु नै गर्दै आएको आश्रम सञ्चालक समिति सचिव निर्मला मल्ल बताउँछिन् । पितृसतात्मक सोचको अन्त्य गर्न शव वोक्ने र दागबत्ती दिने अभियानमा जुटिरहेको उनको भनाई छ ।
‘वृद्धा आश्रम भरसक नखुलोस् भन्ने हाम्रो धारणा थियो । अशिक्षा, गरिवी र चेतनाका कारणले आमा वुबालाई हेला गर्ने प्रवृत्ति समाजमा बढ्यो । त्यसो हुदाँ हामी महिला दिदी वहिनीहरु चुलो चौकामा मात्र सिमित नभएर सामाजिक काम गरौँ भनेर आश्रम सञ्चालनको अभियानमा जुट्यौँ । हामीले पालनपोषण गरेपछि उहाँहरुको मृत्युमा अन्तिम दाहसंस्कार पनि गर्नुपर्छ भनेर लाग्यौँ’, मल्ल अगाडी थप्दै भन्छिन्, ‘ किनकी कुनै पनि नीति नियम कानुनमा लेखेको छैन पुरुषले यो काम गर्न हुन्छ महिलाले गर्न हुदैन् भनेर । छोरा छोरीलाई जन्माउँदा गर्भमा उत्तिकै समय राखिएको हुन्छ । प्रशव पिडा पनि उस्तै हो । तसर्थ पितृसतात्मक सोचको अन्त्य गराउदैँ छोरा छोरी बराबरी रहेको सन्देश फैलाउने अभियानमा हामीले शव बोकेर घाट पु¥याइ दागबत्ती दिदैँ आएका छौँ ।’ आफुहरुले गर्दै आएको कामले आत्मसन्तृष्टि दिलाएको उनले बताईन् । आश्रमका सञ्चालक महिलाले शव बोक्न थालेपछि अरु महिलालाई पनि आफन्तको मृत्यु संस्कारमा पुरुष सरह सहभागी बन्नलाई प्रेरणा मिलेको उनको विश्वास छ ।
आश्रम खुलेको सात बर्षको अवधीमा ६ जना आमा बुवाको अन्तिम दाहसंस्कार आश्रम सञ्चालक महिलाहरुले नै गरेका छन् । पहिलो पटक २०७२ को भुकम्प पछि आश्रममा आश्रय लिएकी आइतीमाया थापाको निधन हुदाँ सञ्चालहरुले नै अन्त्येष्टि गरेका थिए । त्यतिबेला चुनौतिको पहाडलाई फोरेर हिम्मत जुटाएको आश्रमकी संस्थापक अध्यक्ष सवित्रीदेवी श्रेष्ठले बताउँछिन् । ‘आइतीमाया आमाको निधन भएपछि उहाँको आफन्तहरु आएर घाटसम्म लैजान्छौँ भनेर प्रस्ताव राख्नुभयो । हामीले पालनपोषण स्याहारसुसार गरेपछि अन्तिम संस्कार किन नगर्ने ? लागेको खर्चपनि व्यहोर्छौँ र शव पनि दिदीवहिनीले नै बोक्छौँ भन्यौँ’, उनि सम्झन्छिन् ।
त्यो बेला समाजले सकारात्मक रुपम लिएन शव बोक्ने र दागबत्ती दिने महिलाहरुको हिम्मतलाई । ‘नानाथरी भनियो । अहिलेका महिलाहरु बौलाए, भाले बास्नुपर्नेमा पोथी बाँस्यो आदि इत्यादि सुन्नमा नआएका हैनन् । हामीले हेर्न सकिएन समेत भन्न भ्याए’, श्रेष्ठ स्मरण गर्दै सुनाउँछिन्, ‘अझै त हाम्रो समाज कुरितीमा अल्झिएको छ । त्यतिबेला भन्नेले त के भनेन् र । तर हामीले ती कुरालाई वेवास्ता गर्दै हाम्रो काममा अगाडी बढ्यौँ ।’
सावित्रीको भोगाईमा यो अवधीमा समाज केही परिवर्तन भएको छ । आलोचना गर्नेहरु आजकाल साथ दिने भएका छन् । ‘हिजो आँखा छोप्यौँ भन्ने दाजुभाई दिदीवहिनीहरु पनि हाम्रो अभियानमा हामीलाई साथ दिएर हिँड्नुभएको छ’, उनले भनिन् ।
आश्रम सञ्चालनका लागि झन्डै ३५० महिला एक भएका छन् । भाडाको घरबाट आश्रम चलाउन थालेका महिलाले अहिले आफ्नै भवन बनाएका छन् । हाल आश्रममा पाँच जनाले आश्रय लिईरहेका छन् ।





