पोखरा/ जिल्ला प्रहरी कास्कीले १६ वर्षअघि हत्या गरी फरार अभियुक्त ४६ वर्षीय अशोक गुरुङलाई बुधबार सार्वजनिक गरेको छ । गुरुङमाथि १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोप छ ।
गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याइएको हो । जिल्ला अदालत कास्कीबाट बुधबार नै ७ दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् । पोखरा सातमुहाने घर भएका गुरुङ हत्यापश्चात बहराइन पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले घटना हुँदाताकका तत्कालीन प्रत्यक्षदर्शी र मुचुल्काका आधारमा अनुसन्धान अघि बढाई गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । ‘मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा ३ र मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा ९ बमोजिम सजाय मागदावी गरेर अदालतमा पेश गर्छौं,’ उनले भने ।
के थियो घटना ?
२० वर्षीय मृतक राई सुनसरी, धरानबाट पोखरामा मजदुरी गदर्थे । उनले साविक लेखनाथ नगरपालिका १३, सातमुहानेस्थित खुदी खोलामा ग्याबिङ तारमा ढुंगा भर्ने काम गर्दथे । ०६३ बैशाख २९ गते राति करिब ८ः४५ बजेको समयमा गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
टाउकोमा दाउराको प्रहारले चोटका कारण गम्भीर अवस्थामा पुगेको राईको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । तर, उपचारकै क्रममा जेठ २ गते उनको मृत्यु भएको थियो ।
राईको हत्यापश्चात आरोपी गुरुङ फरार भएका थिए । घटनापछि उनी पोखराबाट काठमाडौं पुगेको र त्यहाँ ३ महिना बसेको देखिएको प्रवक्ता तिवारीको भनाइ छ । ‘३ महिना काठमाडौं बस्दा पनि फरकफरक होटलमा बसेको पाइयो । उनी एउटा होटलमा बढीमा ५÷७ दिनमात्रै बस्दथे,’ उनले भने, ‘फोन पनि चिनेजानेकोमात्रै उठाउने गरेका थिए ।’
घटनापश्चात प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाए पनि गुरुङसम्म पुग्न सकेन । त्यसको फाइदा उठाउँदै उनी काठमाडौंबाट पोखरा फर्किएर १० लाख रुपैयाँ लिएर भारत हुँदै कुवेत पुगेको थिए । ‘प्रहरीले सम्पूर्ण डाटाबेस राखेकाmे थिएन । तर, उनी आफैं हत्यापश्चात भाग्दै हिँडेको देखियो । पोखरा आउँदा पनि राति २ बजे आएको देखिन्छ,’ एसपी थापाले भने ।
कुवेतमा गुरुङ करिब २ वर्ष काम गरे । त्यसपछि नेपाल फर्किएका उनी पोखरा कम काठमाडौं बढी बस्ने गर्दथे । पछि उनी २००९ मा बहराइन पुग्नसमेत सफल भए । बहराइन उनका लागि सुरक्षित ठाउँ थियो । २००९ मा बहराइन पुगेयता उनी नेपाल फर्किएका थिएनन्, यता केस फाइलमै अड्किएको थियो ।
तर, २०७८ असारमा एसपी रमेश थापाले कास्की प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेपछि भने रोकिएको फाइल अघि बढ्यो । भदौ ११ गते थापाले रोकिएका फाइलको अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि मात्रै रोकिएको उक्त फाइल ‘रिओपन’ भयो ।
कास्की प्रहरीले तत्कालीन समयको मुचुल्का नियाल्यो, घटनाका प्रत्यक्षदर्शीसँग सोधपुछ ग¥यो । घटनाका प्रत्यक्षदर्शीले अन्दाजी ३२÷३३ को पुरुषले राईलाई कटुसको दाउराले प्रहार गरेको देखेको र छेक्ने र छुटाउने कामसमेत गरेको प्रहरीमा बयान दिए
‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै रोजनलाई तेरो घर कहाँ छ ? के कामा गर्छस् ? को हो भन्दै गालमा एक थप्पड हानेपछि उनी भाग्दै शिशुवातर्फ भागे । त्यसपछि पनि पछिपछि गुरुङले लखेट्दै गएको हो,’ तत्कालीन समयका प्रत्यदर्शीको भनाइ उदृत गर्दै डिएसपी तिवारीले भने, ‘केही पर पुगिसकेपछि केही हल्ला भएको सुनियो । त्यहाँ पुगेर हेर्दा उनले राईको टाउकोमा समेत हातपात, कुटपिट गरेको हो ।’
अनुसन्धानपछि थाहा लाग्यो, ‘घटनाका आरोपी अशोक गुरुङ हुन् । तर, उनी यतिबेला बहराइनमा छन् ।’ घटनाको छिनोफानो र अनुसन्धानको नजिक पुगेपछि कास्की प्रहरीले जिल्ला अदालत कास्कीले ०७८ असोज ७ मा पक्राउ अनुमति लियो ।
त्यसपछि असोज १२ गते नेस्नल सेन्ट्रल ब्युरो(एनसीबी)को माध्यम हुँदै प्रहरीले इन्टरपोलको सहयोग रेड नोटिस जारी गर्न आवश्यक कागजपत्र पठायो । मंसिर २८ गते रेड नोटिस जारी भयो र त्यसैका आधारमा आरोपी गुरुङलाई पुस १ गते नै बहराइन पुलिसले पक्राउ ग¥यो ।
गुरुङ पुस १ गते नै बहराइनमा पक्राउ परे पनि अन्तरदेशीय कूटनीतिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नेपाल ल्याउन लामो समय लागेको एसपी थापाले जानकारी दिए । ‘पीडितको पक्षमा राज्यले जनुसुकैबेला पनि सहयोग गर्छ । अपराध गरिसकेपछि कोही त्यसबाट भाग्न सक्दैन भन्ने देखाएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने ।
मृतकका आफन्त सम्पर्कमै छैनन्
१६ वर्ष अघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर कास्की प्रहरी अभियुक्तसम्म पुग्यो । तर, घटनाका मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन् ।
राई कसरी पोखरा आइपुगे र उनका आफन्तबारे अझै सम्पर्कमा आउन नसेकेको एसपी थापा सुनाउँछन् । ‘आफन्त (मृतकका) कोको हुनुहुन्छ अझै थाहा छैन । अर्को जिल्लाबाट अर्को जिल्लामा काम गर्न आएकाले पनि पहिचान गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।
मृतक राईको ठेगानासमेत तत्कालीन समयको मुचुल्काका आधारमा मात्रै पत्ता लागेको एसपी थापाले जानकारी दिए । ‘घटना एकदमै पुरानो हो । अहिले हामी सम्बन्धित ठाउँका प्रहरी, प्रशासनसँग समन्वय गरेर मृतकका आफन्त पहिचान गर्ने प्रयासमा छौं,’ उनले भने ।
मृतकका आफन्तको सोधखोज र दबाब नपरेकै कारण घटना अनुसन्धान हुन लामो समय लागेको हो त ? प्रश्नमा एसपी थापाले भने, ‘अहिले हामी आफैं राजनका अभिभावक पत्ता लगाउन खोजिरहेका छौं । पीडितलाई न्याय दिन लागि कोही, कुनै प्रकारको दबाब आवश्यक छैन भन्ने देखाएका छौं,’ उनले भने, ‘अनुसन्धान अघि बढाउन दबाब नै पर्नुपर्छ भन्ने होइन ।’





