बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ग्रामीण भेगमा जाने स्वास्थ्यकर्मीलाई प्रोत्साहन : मुख्यमन्त्री पोखरेल

ग्रामीण भेगमा जाने स्वास्थ्यकर्मीलाई प्रोत्साहन : मुख्यमन्त्री पोखरेल


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७८, शुक्रबार

बागलुङ\गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘मुख्य सहरबाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पु¥याउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुलाई ग्रामीण भेगमा पठाउँछौं ।’
सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए । स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेशमा के कस्तो स्वास्थ्य नीति अपनाउनु पर्ने हो र कसरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा दिन सकिन्छ भनेर हामी लागी परेका छौं ।’
हरिचौर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल घोषणा गरिए पनि कार्यन्वयनमा आउन नसकेको गुनासो संवोधन गर्दै उनले पोखरा फर्के लगत्तै यसबारेमा आफूले चासो दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको भनाइ राखिन् ।
गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरैले करिब ४ वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम भन्दै यसको मूल्यांकन नागरिकले गर्ने बताए । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उनले सुनाए । उपमेयर रेनुकुमारी काउचा मगरले सीमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताइन् ।
३ बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । ८ रोपनी जमिनमा ७ करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
मेडिकल अधिकृत डा. सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित २४ सै घन्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताए । जनशक्तिको अभावमा ल्याब २४ सै घन्टा सञ्चालन गर्न नसकिएको भन्दै उनले एक्सरे मेसिन सञ्चालन कार्यालय सहयोगीले गर्नुपर्ने अवस्था रहेको सुनाए । गलकोट सेवा जापानले स्वास्थ्य केन्द्रलाई आधुनिक एक्सरे मेसिन प्रदान गरेको छ ।
कार्यक्रममा धवलागिरी अञ्चल अस्पतालका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता मञ्जेशबम मल्ल, संविधान सभा सदस्य पूर्णबहादुर राना, सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, जनमोर्चाका नेता टंकबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर खत्री, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष कमला ढकाल लगायतले शुभकामना व्यक्त गरे ।
उक्त अवसरमा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायणध्वज मल्ल, प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विकले स्वास्थ्य सेवाको अवस्थाका बारेमा भनाइ राखेका थिए ।
कालीगण्डकी डाइभर्सन हुन दिँदैनौं
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘कालीगण्डकी पथान्तरण’ कुनै पनि हालतमा हुन नदिने अडान दोहो¥याएका थिए । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा धार्मिक कार्यक्रममा उनले कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोध गरेको स्मरण गर्दै सरकार सशक्त रुपले यसको विरोधमा रहेको जिकिर गरे । उनले नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि युनेस्कोसँग पहल भइरहेको बताए ।
‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ’,उनले थपे । कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ ।सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->