बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा जैमिनीमा आयोजित तीन दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सकिएको छ ।
जैमिनी नगरको सहयोग र समन्वयमा भएको तालिमको बिहिबार नगरप्रमुख इन्द्रराज पौडेलले समापन गरे । उनले तालिम समापन गर्दै पत्रकारीता समाजलाई सुसूचित बनाउने माध्याम भएको भन्दै समाजमा भएका राम्रा कामको पनि प्रचार हुनुपर्ने धारणा राखे ।
तालिममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले हरेक क्षेत्रमा काम लाग्ने आधारभुत पत्रकारिता तालिमलाई नगरले निरन्तरता दिनुपर्ने बताए । उनले समाचार लेख्दा श्रोत उल्लेख गरेर समाचार लेख्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिरको अध्यक्षता, सचिव विजय रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा तालिम संयोजक तारानाथ आचार्य, प्रशिक्षक किरण आचार्य, प्रशिक्षार्थी सुवोध क्षेत्री लगायतले बोलेका थिए ।
जैमिनी नगरभित्रका माध्यामिक तह संचालन भएका १८ विद्यालयका दुई÷दुई जनाको दरले ३६ जना विद्यार्थी सहभागी थिए । तालिममा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले सहजीकरण गरेको सचिव रानाले जानकारी दिए ।





