बागलुङ/ नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले बागलुङमा विद्यालयस्तरीय प्रतियोगितात्मक बिज्ञान मेला गर्ने भएको छ ।
सोमबार र मंगलबार नास्टले मेला गर्ने भएको हो । यो मेलाका लागि नास्टका प्रतिनिधिले सदरमुकामस्थित बिद्यामन्दिर माबिमा तयारी गरिरहेका छन् । दुइ दिनअघि नै आएको टोलीले मेलाका लागि बागलुङ, पर्वत र म्याग्दीका १० वटा विद्यालयका छात्रछात्रालाई भेला गर्न लागेको नास्टकी प्रवद्र्धन महाशाखा प्रमुख लुना बज्रले बताइन् ।
बलबालिकामा भएको बिज्ञानको क्षमता प्रद्र्धशन गर्ने, उनीहरुको क्षमता बिकासका लागि सहयोग गर्ने र अन्य क्रियाकलापमसेत जोडेर प्रदर्शनी आयोजना गरिएको हो । बिद्यार्थीहरुले बनाउने बैज्ञानिक आविष्कारदेखि उनीहरुका अन्य क्षमताको प्रस्फुटन गर्ने स्थलको रुपमा कार्यक्रम आयोजना गरिएको बज्रले बताइन् । उनले चारथरी क्रियाकलाप जोडेर एउटै कार्यक्रम गर्न लागेको जानकारी दिइन् ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले पहिलो बालबालिकाको बिज्ञान सामाग्री प्रदर्शनी हुने बताइन् । त्यस्तै समाजका लागि बिज्ञान शीर्षकमा कविता तथा वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, शिक्षकहरुलाई बिज्ञान विषयमा दुई दिने तालिमसमेत हुनेछ । तालिमका लागि बैज्ञानिक माधवप्रसाद अधिकारीले सहजीकरण गर्नेछन् ।
सो तालिम तथा प्रद्र्धशनीमा म्याग्दीको बेनी सामुदायिक मावि र प्रकाश मावि, पर्वतको शिवालय मावि र नारायण मावि पनि सहभागी हुनेछन् । बागलुङका लागि भने विद्यामन्दिर माबि, कालिका कन्या, धवलागिरि बिरेन्द्र, कुँडुले, रुद्रेपिपल र मुलपानी मावि सहभागि हुने बताइएको छ । ‘बिज्ञान पढेर डाक्टर बन्ने वा इन्जिनियर भन्ने हाम्रो समाजमा छ, तर ती बाहेकको क्षेत्रमा गर्न सकिने कामबारे जानकारी छैन’, बज्रले भनिन्, ‘अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्न सकिन्छ भन्नेमा अभिभावकसम्म चेतना लैजान पनि यस्ता गतिविधि गरिएको हो ।’ बालबालिकामा भएका क्षमता प्रद्र्धशनीले उनीहरुको हौसला थपिने र त्यस्ता अनुसन्धान र नयाँ आविष्कार प्रवद्र्धनमा नास्टले सहयोग गर्ने बताइन् ।
कोरोना महामारी र बजेट अभावले १० विद्यालयमा मात्रै सिमित भएको भन्दै नास्टले अन्य बर्ष ३० वटा बिद्यालयसम्म पुगेर काम गरेको अनुभव नास्टका प्रतिनिधिहरुले सुनाएका थिए । शिक्षा मन्त्रालयले बजेट निकासामा ढिलाइ गर्दा सबै विद्यालय समेट्न नसकेको भन्दै
आगामी दिनमा ग्रामीण क्षेत्रमा पुगेर पनि प्रतिभा पहिचान गरिने बज्रले प्रतिवद्धता जनाइन् ।
पत्रकार सम्मेलनमा बिद्यामन्दिर माविका प्रअ शान्तमणि ढकाल, बिद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारी, शिक्षक छविरमण रेग्मी तथा रुद्रेपीपल माविका शिक्षक राजेश श्रेष्ठ लगायतले बालबालिकाको क्षमता विकासमा गरिएका क्रियाकलापले हौसला थपेको बताएका थिए ।





