आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनमा गडबडीको आशंका

गठबन्धनमा गडबडीको आशंका


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा/सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले केही दिनयता भन्दै अएका छन्,‘ निर्वाचनमा अरुको भर नपरौं । आफनै शक्ति र ताकतमा भर परौँ’, उनले भने, ’अरुको भर भनेको भ्रम मात्रै हो ।’
कतिसम्म भने उनले यही चैत ३ गते उनले स ‘कांग्रेसले लखेट्यो भने एमालेसँग चुनावी गठबन्धन नहोला भन्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिए । सत्ता साझेदार कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । मुख्यगरी प्रचण्डपुत्री रेणु दाहाल मेयर रहेको चितवन छाड्न नहुनेमा कांग्रेसीहरु सहमत छन् । कांग्रेस महामन्त्री गगन थापादेखि सभापतिमा पराजित डा.शेखर कोइरालासम्म चुनावी गठबन्धनको विरोधमा छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गराउँदा झण्डै साझेदारी भत्केको प्रचण्डले सायदै भुलेका छन् । एकातिर पार्टीभित्रको तीव्र विरोध र अर्कोतिर गठबन्धन भत्कने चिन्ता ! महाधिवेशनले पारित गरेको दस्ताबेज लत्याउँदै प्रचण्डले एमसीसीमा सहमति जनाएका थिए । सम्भवत ः गठबन्धन दलहरुबीच त्यो बेला चिसिएको सम्बन्ध अझै सुमुधुर बनेको छैन । उनका पछिल्ला अभिव्यक्तिले प्रचण्ड नेपाली कांग्रेससँग चुनावी तालमेल हुनेमा त्यति विश्वस्त छैनन् ।

‘नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्डले जसरी जहाँ बोले पनि उनको अभिव्यक्तिले नयाँ सम्भावनाको संकेत गर्छ’,एक विश्लेषकले भने,‘प्रचण्डले बाध्य भएर अरु दल सहमतिको लागि माओवादीकहाँ आउँछन् भन्नुको मतलव पनि सबैको लागि ढोका खुला छ भनिएको हो।’उनले पछिल्लो समय एमाले अध्यक्ष ओली प्रचण्ड र माओवादीप्रति नरम हुँदै गएको र यो स्थानीय चुनावसम्म अहिलेको समीकरण परिवर्तन हुनसक्ने सम्भावना बढ्दै गएको जिकिर पनि गरे । ‘वामपन्थी मत विभाजित हुँदा कांग्रेसलाई फाइदा हुन्छ भन्ने प्रचण्ड र ओली दुबैले बुझेका छन्, कतिपय ठाउँमा वाम गठबन्धन भएन भने असजिलो पनि छ’,बागलुङ निर्वाचन क्षेत्रको उदाहरण दिँदै उनले भने,‘त्यसैले पनि प्रचण्डको बोली फेरिएको हुनसक्छ ।’

प्रचण्डका पछिल्ला अभिव्यक्तिको संकेत के हो भने, उनी माओवादी कार्यकर्तामा उत्साह थप्दै बलियो देखिन चाहन्छन् र त्यही शक्ति देखाएर एमाले वा कांग्रेससँग चुनावी तालमेलमा जान्छन् । कथंकदाचित नभए, नेकपा एकीकृत समाजवादीसँगको तालमेलबाट चुनावमा जाने तेस्रो विकल्प पनि प्रयोग गर्न सक्छन् । तर, अहिलेसम्मका अभिव्यक्तिले उनी कांग्रेससँग चुनावी तालमेलप्रति त्यति विश्वस्त नभएको संकेत दिन्छ । अर्कोतर्फ, एमालेसँग पनि चुनावी तालमेलबारे छलफल चलिरहेको अनुमान गर्न सकिने ठाउँ प्रचण्डले दिएका छन् । अर्कोतर्फ उनी पुनः एक्लै आफू र माओवादीलाई जनतामाझ परीक्षणमा लैजान चाहन्छन् । एकातिर गठबन्धनको पेलाइ,त्यही कारण गिरेको पार्टी साइज र साख एवं शक्तिशाली पार्टी बनाउने आकांक्षाले पनि उनी बदलिएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

पोखरामा के भने ?

प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा पनि जित निश्चित नभएको स्वीकारे । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी योजना बनाइरहेको पनि उनले बताए ।
बुधबार प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘निर्वाचन कसरी हुन्छ गठबन्धनबाट हुन्छ कि एकलै हुन्छ भन्ने जहाँसम्म कुरा छ हामीले अहिले पार्टीमा जोड गरेर भनेको चाहिँ गठबन्धन होला, त्यहीबाट चुनाव जितौंला भनेर बस्ने होइन् । आफै चुनाव लड्नै हो आफ्नै खुट्टामा उभिने हो, आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो, आफ्नै जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो,जनताका मुद्दाहरु विशेष गरी संघीय लोकतान्त्रिक गणतन्त्र मुख्यतयः माओवादी केन्द्रको ठुलो संघर्षको बलिदानले आएको परिणाम हो । ’

उनले देशभर नै माओवादीको पक्षमा जनमत बन्दै गएको जिकिर गर्दै अगाडि थपे,‘हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’३ चैतमा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर बोलेकोबारे पत्रकारहरुको जिज्ञासामा उनले स्थतानीय तहमा आफै जाने हो तर मूल नेतृत्व तहमा मिलेर नै जाने हो भन्दै राजनीतिमा हरेक कुरा सम्भव रहेको र एमालेसँग समेत तालमेल हुनसक्ने संकेत पनि गरे । आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको प्रष्टीकरण दिए पनि प्रचण्डले एमालेसँगको तालमेलको सम्भावनालाई नकारेनन् । बरु, कांग्रेस एक्लै चुनाव लड्छ भन्ने कांग्रसी नेताहरुप्रति उनी खनिए । ‘एकजना गुरुङ छन् नि (धनराज गुरुङ) हात्तीको कानमा चमेरा कि के भनेका छन्, यस्तै भाषा के, बढो सुन्नै गाह्रो ।

तिनलाई भनेको हो, त्यस्तालाई भनेको हो । त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ तर अहिले हामीले त्यता सोचेका छैनौं । अहिले यो गठबन्धनलाई नै लिएर जाने हो ।’उनले पार्टीको गण्डकीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि उनले सोही धारणा दोहो¥याए । माइतीघरमा पलँेटी कसेर बस्दा पनि प्रचण्ड सकियो भनेर टिप्पणी गरिएको तर त्यही आन्दोलनका कारण केपी ओली सकिएको जिकिर गर्दै उनले भने,‘एकपछि अर्को थपिदै जाँदा विशाल आन्दोलन बन्न पुगेर केपी ओलीको प्रतिगमन परास्त भयो,एउटा ट्रेलर गत पुसपछि देखियो ।’ उनले माओवादी कयौंपटक बिग्रिएको तर क्रान्तिकारी शक्तिमा रुपान्तरण गर्न सम्भव रहेको पनि बताए । ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? दोधारको अवस्था पनि आयो तर पार्टी बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो’, उनले भने, ’फलाम तातेको बेला हान्नुपर्छ, यही हो बेला भनेर हामी पार्टी निमार्णतिर लागेका हौं ।’प्रचण्डले केपी शर्मा ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर एकता गरेको पनि बताए । ’ओलीलाई बदल्न सकिन्छ भनेर एकता गरेका थियौँ’, उनले भने, ’तर त्यो सकिएन । प्रतिगमन विरोधी आन्दोलन हामीले नै नेतृत्व गरेर ल्यायौँ । त्यो अरु कसैले गरेर हुँदैनथ्यो ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->