
बागलुङ\उनी भर्खर दुइ बर्ष पुगेकी थिइन् । त्यतिबेलै बाबुलाई गुमाइन् । उनले आफ्नो बाबु गुमाएको कुरा बल्ल थाहा पाउँदैछिन् ।
ताराखोला गाउँपालिका वडा नं. २ अर्गलकी २० बर्षिय रमा बस्नेतले गाउँपालिकामा राखिएको बाबुको तस्बिर देखेपछि मात्रै नियालेर हेर्ने गर्छिन् । भन्छिन्, ‘अर्कैले चिनाएपछि मात्र बाबु भन्ने चिने ।’ बाबुको अनुहार कस्तो रहेछ भन्ने बल्ल हेर्ने गरेको उनले बताइन् ।
कुनै कार्यक्रम बिशेषमा गाउँपालिकाको सभाहलमा राखिएका सहिदका तस्बिर झिक्दा उनको बाबुको पनि लहरै राखिन्छ । बाबु ढालिन्द्रलाई सेनाले २०६१ सालमा गोली हानेर मारेको थियो । कृषि पेशा गर्दागर्दै उनका बाबु २०६१ सालमा मारिएका थिए । उनी न माओबादी थिए, न सरकारी मानिस । घरमै काम गर्दागर्दै उनी सेनाकौ नियन्त्रणमा परे । ताराखोला गाउँपालिका–२ अर्गलका ढालिन्द्रलाई घरबाट समातेको तीन दिनपछि गलकोट नगरपालिका–१० को रमुवामा लगेर हत्या गरिएका थियो ।
परिवारका सदस्यले आफ्नो मान्छेको लाससमेत पाउन सकेनन् । उनी किन मारिए भन्ने पनि जान्न पाएनन् । पत्नि सन्तकुमारीले आफ्ना पति किन मारिए भन्ने अझै बुझ्न पाएकी छैनन् । ‘घरमा काम गर्दागर्दै लगेका थिए, तीनचार दिनपछि फर्केका सेनाले चरा मारेर आयौं भनेर खबर छोडिदिएका रहेछन् त्यसपछि श्रीमान मारिए भन्ने थाहा पाएका हौं’ उनले भनिन्, ‘गाउँभरीका मानिस लगाएर खोज्यौं, कतै भेटिएन ।’ बन्दुकको आबाज सुनेकाहरुले रमुवाको जंगलमा लगेर मारेपछि हरिचौरकी एक युवतीसँगै एउटै खाल्डोमा पुरेको भन्ने खबर मात्रै पाएको उनले बताइन् ।
ढालिन्द्र जस्तै ताराखोलाका २१ जना सशष्त्र द्वन्द्वमा सेनाको गोलीबाट मारिएका थिए । २ जना अझै बेपत्ता छन् । उनीहरुको तस्बिर संकलन गरेर गाउँपालिकाले सभाहलमा राखेको छ । उनीहरुलाई सम्मान गर्न गाउँपालिकाकै अगुवाइमा सहिद सप्ताह मनाउने गरिन्छ । यहाँ सहिद पार्क बनाउने तयारीसमेत छ । पार्कमा २३ जनाको मुर्ती राख्ने योजना छ । ‘यहाँका अधिकांस मारिएको समय फागुन चैतमा हो, त्यसैले यो समय सहिद सप्ताहको रुपमा मनाउने गरिएको छ’ अध्यक्ष प्रकाश घर्तीले भने, ‘होनाहार युवा, शिक्षक र किसानहरु मारिएकोले उनीहरुको सम्झनामा पार्क निर्माण योजना बनेको हो ।’ द्वन्द्वमा मारिएकाले अझै न्याय नपाएको उनले बताए । गाउँपालिकाले भने बर्षेनी उनीहरुको स्मरण गर्ने चलन बसालेर सम्मान भएको पीडितहरु बताउँछन् ।
सप्ताहमा मृतक परिवारलाई सम्मान गर्दा ढालिन्द्रकी पत्नि सन्तु पीडाले आउन सकिनन् । छोरी रमाले बाबुको सम्मान थापिन् । बाबुको अनुहार खोज्न उनलाई धेरै समय लाग्यो । पालिकामा राखेको तस्बिरबाट मात्रै बाबु चिनेको बताइन् । नचिन्दै मारिएका बाबुको सम्मान थाप्दा उनी न खुसी बन्न सकिन, न धुरुधुरु रोइन् । बाबुको परिचय दिन उनलाई गाह्रो भयो । २०५८ मा अर्गल माबिमा पढाउँदै गर्दा समातिएका शिक्षक अमरबहादुर घर्ती र रिमबहादुर थापा पनि बिना कसुर मारिए । उनीहरुका छोराछोरीले पनि तस्बिरमा मात्रै बाबुको अनुहार चिनेको बताए ।
बस्नेतले बिज्ञान संकायमा कक्षा १२ पास गरेकी छिन् । उच्च शिक्षा पढ्न उनलाई अभिभावकको साथ चाहिएको छ । डाक्टर पढ्ने उनको इच्छा पु¥याउन आमा सन्तुलाई धौधौ परेको छ । ‘पढ्छु भनेकी छे, खर्च कताबाट ल्याउने ?’ उनले भनिन्, ‘अभिभावक नभएपछि सपना देखेपनि पुरा गर्न गाह्रो छ ।’
सन्तुलाई छोरीले के बिषय बढेकी छ भन्ने जानकारी समेत छैन । ‘पढ्ने चाहना छ, घरको अबस्थाले डर लागेको छ’ उनले भनिन् । बाबुको साथ र सहयोगमा ढुक्कले पढ्ने साहस पाउनुपर्ने समयमा श्रद्धाञ्जली दिनुपरेको उनको गुनासो छ । ढाालिन्द्र २०६१ सालमा सेनाको गोलीले मारिदा छोरी रमा साँढे दुइ बर्षकी थिइन् । पीडितको परिवारले राज्यले दिने चार लाख रुपैयाँ राहत मात्रै पाएका थिए ।





