बागलुङ\आफ्नै प्रशासकीय भवन, कर्मचारी आबाससहितका पूर्वाधार बनाएर ताराखोला गाउँपालिका जिल्लामै अब्बल बनेको छ ।
शनिबार ताराखोलाले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन बनाएपछि पूर्वाधारमा अगाडि देखिएको हो । यसअघि प्रशासकीय भवन बसेको घरसहितका अन्य संरचनामा कर्मचारी आबाससमेत बनाउन पुग्ने गरी पूर्वाधार तयार भैसकेको हो ।
५ करोड १० लाखको लागतमा बनेको आधुनिक भवन शनिबार उद्घाटन भएर आइतबारदेखि कार्यालय संचालनमा आएको हो । गण्डकी प्रदेशका कृषि तथा सहकारी व्यवस्था मन्त्री चन्द्रबहादुर बुढाले भवन उद्घाटन गरे । गण्डकी प्रदेशको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन बनेको हो । कार्यालय राख्ने कोठासमेत नपाउने स्थानमा आफ्नै प्रशासकीय भवन र कर्मचारी आबास बनाएर ताराखोलाले पूर्वाधारमा फड्को मारेको बुढाले बताए ।
अध्यक्ष निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि पूर्वाधार बनाइसक्ने घोषणा गरेका थिए । गाउँपालिकाले आफ्नै भवनमा कार्यालय राख्ने मात्र काम नगरी जिल्लाकै ठूलो सभाहलसमेत बनाएको छ । सभाहलमा ५ सय मानिस राखेर कार्यक्रम गर्न मिल्छ । आर्कषक भवनभित्र शौचालय, पानीको व्यवस्था सहितका पूर्वाधार पनि छन् ।
सभाहल भने गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख र गाउँपालिकाको १ करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार रुपैयाँमा निर्माण भएको हो । ५ सय जनालाई राखेर कार्यक्रम गर्न सकिने यत्तिको सभाहल जिल्ला सदरमुकाममा छैन ।
स्थानीयले दिएको ५ रोपनी जमिनमा गाउँपालिकाले प्रतिष्ठा र गौरवको योजनाको रुपमा सभाहल बनाएको हो । सभाहल बनेपछि ताराखोलाका प्रशासनिक क्रियाकलाप, सभासमारोह यहीं गर्न थालिएको छ । सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशष्त्र द्वन्द्वमा मारिएका सहिदको चित्रसमेत कोरिएको छ । यो सभाहलभित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, बिद्युत आपूर्ति कक्ष, स्टोर, चमेना गृह र पार्किङसमेत बनाइएको छ ।
मगर समुदायले गर्ने अधिकांस साँस्कृतिक कार्यक्रम यहीं संचालन गरिने स्थानीय भद्रबहादुर घर्तीले बताए । सभाहल रहेको वडा नं. २ को अर्गलमा बर्षमा दर्जनबढी साँस्कृतिक महत्वका मेला हुने गर्छन् । ताराखोलाले औद्योगिक क्षेत्र निर्माण थालेको छ । ५५ करोड लागत लाग्ने गरी डिपिआर बनेको औद्योगिक क्षेत्र वडा नं. १ को भुस्कातमा निर्माण सुरु भैसकेको छ । यो जिल्लाकै सबैभन्दा ठूलो परियोजना हो ।





