पोखरा/ गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले आफूले पाएको सबै सेवासुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । मन्त्री थापाले मंगलबार पत्रकार सम्मेलन गरी पूर्वघोषणा बमोजिम नै आफ्नो तलबसहितका सेवासुविधा सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट कास्की क्षेत्र नं २ प्रदेशसभा ९ख०बाट गण्डकी प्रदेश सांसदमा विजयी भएका थिए । उनले अघिल्लो वर्ष माघदेखि हाल फागुन महिनासम्मको सेवासुविधाबाट १३ लाख ६६ हजार रुपैयाँ आफ्नो बैंक खातामा जम्मा भएको र सबै सामाजिक कार्यमा खर्च गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री थापाले यसअवधिमा सेवासुविधासहित व्यक्तिगत कुल १४ लाख ८६ हजा रुपैयाँ सामाजिक खर्च गरेको दाबी गरेका छन् । ‘मेरो आफ्नै व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निश्वार्थ जनताको सेवा गर्नु मेरो मूल ध्येय हो,’ उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त हुने निवास सुविधा पनि लिएको छैन ।’
मन्त्री थापाले विभिन्न महिला समूह, आमा समूह, युवा क्लब, उपभोक्ता समिति, वडा, प्रतियोगिता लगायतमा आफूले पाएको सेवासुविधावापतको आर्थिक सहयोग गरेको जानकारी दिएका छन् । कांग्रेसकै अर्का सांसद प्रकाशचन्द्र दवाडीले पनि आफूले पाउने सबै सेवासुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।





