बागलुङ/नेपाल बार एसोसिएसनको केन्द्रीय महाधिवेशनअन्र्तगत शनिबार भएको निर्वाचनमा उच्च अदालत बागलुङमा ९१ मत खसेको छ । बागलुङ, पर्वत र म्याग्दी बारको तर्फबाट उच्च अदालत बागलुङमा मतदान केन्द्र तोकिएको थियो ।
१ सय ७ जना कानून व्यवसायी मतदाता रहेकोमा १६ मत खस्न नसकेको बारका पूर्व अध्यक्ष भूमिश्वर गौतमले जानकारी दिए । साँझ ५ बजे मतदान सकिएपछि मतपत्रलाई प्याक गरेर केन्द्रमा पठाइएको छ । देशभरको मतपत्र जम्मा भएपछि मतगणना र परिणाम आउने बताइएको छ ।
शनिबारको निर्वाचनमा कांग्रेस निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा गठबन्धन गरिएको वृहत लोकतान्त्रिक, प्रगतीशिल तथा पेशागत उमेदवारको समूह र एमाले निकट बरिष्ठ अधिवक्ता बिष्णुमणि अधिकारी नेतृत्वको प्रगतीशिल पेशागत समूह निर्वाचनमा छन् । साथै अध्यक्षमा अन्य ६ जनासमेत गरी ८ उमेदवार थिए । अन्य पदमा भने २–२ जना उमेदवार छन् । सदस्यमा ६ जना चाहिनेमा २२ उमेदवार छन् । यसअघि दुवै समूहबाट देश दौडाह गरेर मत माग्ने क्रमसमेत चलेको थियो । उनीहरु दुवै पक्षले सर्बोच्चमा भ्रष्टाचार मौलाएकोले त्यस बिरुद्ध लड्ने एजेण्डा अगाडि सारेका छन् ।





