आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘हँसियाहथौडामा भोट कसरी माग्ने ?’

‘हँसियाहथौडामा भोट कसरी माग्ने ?’


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

पोखरा/ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी स्थानीय निर्वाचन केन्द्रित पार्टीको अभियानलाई गठबन्धन गर्ने निर्णयले असर पारेको बताएका छन् । कांग्रेस केन्द्रिय समिति बैठकले स्थानीय निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेपछि कोइरालाले पार्टी अभियान र तालमेलको निर्णय आपसमा मेल नखाएको बताए ।

‘एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं, अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं,’ कोइरालाले भने, ‘यो त मिलेन, कसरी ब्यवस्थापन गर्ने ।’
पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताए । तर उनले २०७४ सालमा भरतपुरमा माओवादीसँग गरिए जस्तो तालमेल नगर्न स्थानीय कमिटीहरुलाई आग्रह गरेका छन् । गत स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा माओवादी उम्मेदवारले जित्ने र काँग्रेस उम्मेदवारले हार्ने स्थिति दोहोरिन नदिन उनले आग्रह गरेका हुन् ।

गत स्थानीय निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डका छोरी रेणु दाहाल काँग्रेसको समर्थनमा भरतपुरको मेयर जितेकी थिइन् । भरतपुर महानगरका मेयर माओवादीलाई छाडेर काँग्रेसले पोखरा महानगरको मेयरमा माओवादीको समर्थन लिएको थियो । तर पोखरामा भने माओवादी समर्थन पाएको काँग्रेसका मेयर उममेदवार रामजी कुँवर पराजित भएका थिए ।

काँग्रेस केन्द्रिय सदस्य रहेका कोइरालाले नयाँ मतदातालाई रुख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न लगाउनुपर्ने अवस्था चुनौतीपूर्ण रहेको बताए ।
‘आउँदो निर्वाचनमा ३६ लाख मतदाताले पहिलो पटक मत दिँदैछन्, उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा फेरी रुखमा मत हाल भनेर कसरी भन्ने,’ कोइरालाले भने, ‘ यो गम्भीर विषय हो, यो कुरालाई हामीले मध्यनजर गर्नुपर्छ ।’

चुनावमा गठबन्धन गर्ने कुरा खराब नभए पनि उनले ओचित्य पुष्टी हुनुपर्ने बताए । तालमेलको आवश्यकता अनुसार प्रदेश, जिल्ला, नगर र वडा कार्यसमितिले नै निर्णय लिन समेत उनले कार्यकर्तालाई आग्रह गरे ।
निर्वाचनमा जथाभावी टिकट वितरण गर्ने परिपाटी पनि रोकिनुपर्ने उनले जोड दिएका छन् । सक्षम र योग्य उम्मेदवारले टिकट पाउनुपर्ने भन्दै उनले पार्टीको विधान अनुसार टिकट वितरण हुनुपर्ने धारणा राखे । काँग्रेसको प्रदेश कार्यसमितिले विधान अनुसार समन्वयकारी भुमिका खेल्न उनले आग्रह गरे ।

काँग्रेस केन्द्रिय सदस्य मधु आचार्यले तालमेल गर्दा अरु पार्टी काँग्रेसको एजेण्डामा आउनुपर्ने बताए । यसका लागि तयार हुन उनले अन्य दलहरुलाई आग्रह गरे । काग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आउँदो निर्वाचनमा कार्यकर्तालाई उत्साह दिन सक्ने उम्मेदवारले टिकट पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->